बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

एजेन्सी
2 months ago
11/07/2019

लन्डन । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको सेमिफाइलनमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डले दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्डले भारतसामु जितका लागि २४० रनको लक्ष्य दिएको थियो । जवाफमा भारतको पूरै टिम २२१ रनमा अलआउट भयो ।

भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक ७७ रनको योगदान दिए । धोनीले ५० रन जोडे । तर, जडेजा र धोनीको पार्टनसिप तोडिनेबित्तिकै भारतको जितको आशा मरेको थियो । सातांै विकेटका लागि जडेजा र धोनीले ११६ रनको पार्टनसिप खेले ।

वर्षाले प्रभावित सो सेमिफाइनल खेलमा न्युजिल्यान्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रनको चुनौतीपूर्ण स्कोर बनायो । न्युजिल्यान्डले दिएको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको भारतको सुरुवात राम्रो रहेन । भारतले ४९ आभेर ३ बलमा २२१ रन मात्र जोड्यो ।

भारत लगातार दोस्रो विश्वकपको सेमिफाइलनबाट बाहिरिएको हो । न्युजिल्यान्ड २०१५ को विश्वकपमा सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको थियो ।

टिम इन्डिया लिग चरणमा शीर्ष स्थानमा रहेको थियो । वर्षाका कारण दुई दिनसम्म चलेको सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई हराएसँगै फाइलनलमा अस्ट्रेलिया र इंग्ल्यान्डमध्ये एकसँग सामना गर्नेछ । बिहीबार अस्ट्रेलिया र इंग्ल्यान्डबीच अर्काे सेमिफाइनल प्रतिस्पर्धा हुँदै छ ।

भारतको हारको प्रमुख कारण उसका शीर्ष क्रमका खेलाडी चल्न नसक्नु नै हो । प्रतियोगितामा पाँच सतक जोडेका रोहित शर्मा, कप्तान विराट कोहली र लोकेश राहुल १÷१ रन जोडेर आउट भएका थिए ।

रिषभ पन्त र हार्दिक पांड्याले समान ३२ रन जोडे । दुवै खेलाडी सट प्रहार गर्ने चक्करमा विकेट गुमाउन पुगेका थिए । जडेजाले ५९ बलमा चार चौका र चार छक्काको मद्दतमा ७७ रन जोडेपछि भारतीय समर्थक उत्साहित बनेका थिए । तर, ४८ ओभरमा उनी आउट भएपछि सबै निराश भएका थिए । ट्रेट बोल्टको बलमा सट प्रहार गर्ने चक्करमा उनी आउट भएका थिए ।

७२ बलमा एक चौका र एक छक्काको मद्दतमा ५० रन जोडेका धोनी ४९ ओभरमा रन आउट भए । भारतीय टिम अन्तिम ओभरमा २२१ रनमा समेटिएको थियो । यसअघि न्युजिल्यान्डले मंगलबार वर्षाका कारण खेल रोकिनुअघि ४६ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा २११ रन जोडेको थियो । त्यसपछि बुधबारको खेलमा उसले ५० ओभरमा ८ विकेट गुमाउँदै २३९ रन बनायो । न्युजिल्यान्डका लागि सर्वाधिक रन रोस टेलले जोडे । उनले ७४ रनको योगदान दिएका थिए । कप्तान केन विलियमसनले ६७ रनको पारी खेले । भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए । जसप्रित पंड्या, जडेजा, चहलले १÷१ विकेट लिएका थिए ।

यो हारका साथ विराट कोहलीको कप्तानीमा विश्वकप जित्ने भारतको सपना चकनाचुर भएको छ । भारतका पूर्वखेलाडी बीबीएस लक्ष्मणले न्युजिल्यान्डको जितमा बधाइ दिँदै धोनी र जडेजाको प्रशंसा गरेका छन् । उनी ट्वीटरमार्फत उनीहरूको प्रशंसा गरेका हुन् ।

 

(Visited 72 times, 1 visits today)
Loading comments...