मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

पहिराको उच्च जोखिममा रहेका काभ्रेका पाँच परिवारले घर छाडे

राजधानी समाचारदाता
1 week ago
14/07/2019

बनेपा । अविरल वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ र ५ मा पहिरो गएपछि त्यहाँका १५ घरपरिवार उच्च जोखिममा रहेका छन् ।

वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं– ४ मजुवाका १० घरपरिवार र वडा नं– ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका छन् । ‘वडा नं– ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घर निकै जोखिममा परेका छन् ।’ वडाध्यक्ष गौतमले भने, ‘पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागाईं र नवराज चौलागाईंले घर छोडेर अन्तै छाप्रोमा गएर बसिरहेका छन् ।’ अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्नै अवस्थामा रहेको उनले बताए ।

उता वडा नं– ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमाथिबाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेको जनाइएको छ । ‘उहाँहरुको घरमाथिबाट झरेको पहिरोले पुरिएको छ । अन्य सात जनाको पनि घरमाथि र तलबाट पहिरो झरिरहेका कारण उच्च जोखिममा परेको छ ।’ उनले भने ।

गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष तारा चौलागाईं र वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमले जोखिममा परेका र विस्थापित परिवारको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

त्यस्तै वडा नं– ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि सुरक्षित स्थानतर्फ सरिसकेको वडाध्यक्ष गौतमले बताए ।

(Visited 12 times, 1 visits today)
Loading comments...