मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

पहिरोमा परेका २ को शव फेला, ९ जना अझै बेपत्ता

रासस
1 week ago
14/07/2019

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने अझै नौ जना बेपता रहेका छन् ।

खराब मौसमका कारण खोजीकार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । शनिबार दिउँसो साढे दुई बजे ५० मिटरमाथिबाट आएको पहिरोले झण्डै १५ भन्दा बढी घर जोखिममा परेका छन् ।

पहिरोका कारण काशिल लघुजलविद्युत् आयोजनाको पाइपलाइन बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकामबाट झण्डै ४५ कोष टाढाको दूरीको रहेको काशिलस्थित बस्तीमा सदरमुकामबाट गएको सुरक्षा अधिकारी लगायतको टोली आज बिहान मात्र पुगेको थियो ।

टेलिफोन सेवा उपलब्ध नभएको सो ठाउँमा अग्ला डाडाँमा गएर मात्र सम्पर्क गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । अहिलेसम्म ४३ वर्षीय धर्मराज बोहोरा र चन्द्राकुमारी सार्कीको मात्र शव फेला परेको छ । माथि गाउँ र तल मुड्केचुला नदीको कटानका कारण अहिले बस्ती नै जोखिममा परेको अध्यक्ष शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र ईलस्थित प्रहरीचौकीमा सामान्य सम्पर्क भए पनि पहिरो गएको ठाउँबाट सिधा सम्पर्क गर्न समस्य भएको उनले बताए ।

अध्यक्ष शाहीका अनुसार बाढीमा परी बेपत्ता हुनेमा वडा नं– १ का १२ वर्षीया धनरुपा बोहोरा, १२ वर्षीया सरिका बोहोरा र वृहस्पति बोहोरा, १३ वर्षीया सुना सार्की, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी विक र रङ्गी बोहोरा, कालीबहादुर बोहोरा, लभकुमार रोकाय र नाम नखुलेको एकजना बच्चासहित नौ जना हुनसक्ने आँकलन गरिएको छ ।

घट्टामा अन्न पिस्न गएका बालबालिका पहिरोमा परेका थिए । सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र प्रहरी नायब उपरीक्षक अभदेश विष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशत्र प्रहरीको ३५ जनाको टोलीले शनिबार बेलुकी नै घटनास्थल गएको भए पनि आज बिहान मात्र पुगेको उनले बताए ।

दुनैबाट घटनास्थल पुग्न एक दिन लाग्छ । बाढीले १५ वटा पानीघट्टा बगाएको छ । घटनास्थलमा उद्धार र व्यवस्थापनका लागि मौसम सुधार हुने वित्तिकै हेलिकप्टर लिएर थप सहयोग गर्न लागिएको पूर्व शान्तिमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताए । जाजरकोट नलगाड नगरपालिकाबाट नजिकपर्ने सो स्थानमा फोन सेवा उपलब्ध छैन ।

सडक सञ्जालसँग नजोडिएको उक्त ठाउँ निकै जटिल भूगोल र चटानले बनेको छ । चट्टानको बीचमा घोडेटो बाटो निर्माण गरी मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिका जाने गरिन्छ ।

(Visited 29 times, 1 visits today)
Loading comments...