मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

बाढी र पहिरोको विनाश लीला, ९० को मृत्यु, २९ बेपत्ता, ४१ घाइते

सविन शर्मा
3 months ago
21/07/2019

काठमाडौं। मनसुन सुरु भएसँगै मुलुकभर आएको वर्षाका कारण बाढी र पहिरोमा परी पछिल्लो १० दिनमा १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सय रुपैयाँ क्षति भएको गृह मन्त्रालयले जनाएको छ । ३४ जिल्लामा बाढी र पहिरोका कारण १० दिनमा ९० जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रले दिएको तथ्यांकअनुसार २६ असारदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मानवीय क्षति र प्रतिकार्यको विवरण सार्वजनिक गर्दै केन्द्रका उपसचिव वेदप्रसाद खनालले ३४ जिल्लामा बाढी र पहिरोको प्रकोपले क्षति पु¥याएको जानकारी दिए ।
‘१० दिनको अवधिमा ९० जनाको मृत्यु भएको पाइएको छ भने २९ जना बेपत्ता र ४१ जना घाइते भएका छन्,’ उनले भने, ‘बाढीपहिरोको कारण ३४ जिल्लाका १३ हजार १०१ घरधुरी विस्थापित भएका छन् ।’
बाढीपहिरोका कारण ताप्लेजुङमा एक घर विस्थापित भएको छ भने झापामा तीन जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते भएका छन् ।

 

१० दिनमा १ अर्बभन्दा बढी क्षति

३४ जिल्ला बाढीप्रभावित
१३ हजार १०१ घरधुरी विस्थापित
विपद् व्यवस्थापनका लागि ७७ जिल्लामा ८ करोड २५ लाख

 

यसैगरी, इलाममा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । यसैगरी, पाँचथरमा एक जनाको मृत्यु भएको छ । १० दिनको अवधिमा बाढीका कारण मोरङमा पाँचको मृत्यु, तीन बेपत्ता र एक जना घाइते भए भने बाढीका कारण १ हजार ५ सय ३९ घरधुरी विस्थापित भए । यसैगरी, सुनसरीमा दुई जनाको मृत्यु, एक बेपत्ता र एक घाइते भए भने २ सय २१ घरधुरी विस्थापित भए । खोटाङमा यस अवधिमा तीन जनाको मृत्यु भयो भने एक जना घाइते भए । भोजपुरमा बाढीपहिरोमा परी पाँच जनाले ज्यान गुमाए, २ घाइते भए भने सय घरधुरी प्रभावित भएको केन्द्रले जनाएको छ ।
यस्तै, संखुवासभामा एक जनाले ज्यान गुमाए भने धनकुटामा तीन जना घाइते र ३७ घरधुरी विस्थापित भए । ओखलढुंगामा चार जनाको ज्यान गयो । यस्तै, उदयपुरमा एक जनाको मृत्यु, दुई बेपत्ता र तीन जना घाइते भएका छन् भने ३१ घरधुरी विस्थापित भएको गृह मन्त्रालयले जनाएको छ । सप्तरीमा बाढीका कारण अत्यधिक जोखिम भएको र बस्ती नै ढुवानमा परे । सिराहामा १० दिनको अवधिभित्र ६ जनाको ज्यान गयो भने दुई घाइते भए भने ५ हजार घरधुरी विस्थापित भए । धनुषामा पाँच जनाको मृत्यु भयो भने महोत्तरीमा चार जनाको ज्यान गयो । त्यस्तै, दुई जना बेपत्ता भए भने दुई जना घाइते भएका छन् ।

यस्तै, सर्लाहीमा बाढीका कारण एक जनाको मृत्यु र एक जना घाइते भए भने २ हजार ४ सय घरधुरी विस्थापित भए । रौतहटमा बाढीका कारण १० जनाको ज्यान गयो भने १ जना अझै बेपत्ता छन् । ५ जना घाइते भएका छन् भने १ हजार १ सय १० घरधुरी विस्थापित भएको केन्द्रले जनाएको छ ।
बारामा दुई जनाको बाढीका कारण मृत्यु भयो भने १ हजार ६ सय ६५ घरधुरी विस्थापित भए । केन्द्रका अनुसार पर्सामा बाढीका कारण तीन जनाको मृत्यु, एक बेपत्ता र ९ सय ९१ घरधुरी विस्थापित भए ।
यसैगरी, १० दिनको अवधिमा रामेछापमा एक जनाको मृत्यु र एक जना घाइते भए । सिन्धुलीमा पाँच जनाको मृत्यु, तीन बेपत्ता र तीन जना घाइते भएको केन्द्रले जनाएको छ । यस्तै, दोलखामा पहिरोका कारण एक जना घाइते भए भने काभ्रेमा तीन जनाको मृत्यु र दुई जना घाइते भएको केन्द्रले जनाएको छ ।
यस्तै, बाढीपहिरोका कारण ललितपुरमा ६ जनाको मृत्यु भयो भने काठमाडौंमा तीन जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार काठमाडौंमा एक जना बेपत्ता भए भने पाँच जना घाइते भएका छन् । मकवानपुरमा पाँच जनाको मृत्यु र पाँच जना नै घाइते भएका छन् ।

धादिङमा दुई जनाको मृत्यु, एक बेपत्ता र एक जना घाइते भएका छन् भने दुई घर विस्थापित भए । तनहुँमा एक जना बेपत्ता भए भने पाल्पामा एक जनाको मृत्यु भयो । दाङमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु र एक जना बेपत्ता भए । सोही अवधिमा कपिलवस्तुमा एक जनाको मृत्यु भयो भने डोल्पामा चार जनाको मृत्यु र ७ जना बेपत्ता भएका छन् । डोल्पामा पहिरोका कारण ४ घर विस्थापित भए भने कञ्चनपुरमा बाढीमा परी एक जना बेपत्ता भएका छन् ।
पूर्वी तराई तथा मध्य तराईको पुरै क्षेत्रमा वर्षाको प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकालगायतका पहाडी जिल्लामा बाढीपहिरो नै मृत्युको मुख्य कारण भएको पाइएको छ ।
यस अवधिमा उदयपुर–गाईघाट खोटाङ सडक अवरुद्ध भयो । यस्तै, कटारी–ओखलढुंगा राजमार्ग पनि अवरुद्ध भएको केन्द्रले जनाएको छ । यसैगरी, महोत्तरी–जनकपुर–जलेश्वरको भाप्सी खोला डाइभर्सन बगाउँदा अवरुद्ध भयो । यस्तै, क्रान्ति लोकपथ हेटौंडा खण्डमा पहिरोका कारण अवरुद्ध भयो भने बेनी–जोमसोम राजमार्ग पनि अवरुद्ध भयो । लमजुङ बेंसीसहर–चामे सडकखण्ड पनि अवरुद्ध भएको छ । कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड पनि अवरुद्ध भयो भने इन्द्रसरोवर फाखेल–काठमाडौं सडकखण्ड अवरोध भएको छ ।
त्यस्तै, साघारादेखि सिराहा जाने हुलाकी राजमार्ग पनि अवरुद्ध भयो । डुबानप्रभावित जिल्ला सिराहा, महोत्तरी, धनुषा र रौतहटका धेरै भित्री बाटा बन्द भए पनि अहिले बिस्तारै खुलाउने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
विपद् व्यवस्थापनका लागि ८ करोड २५ लाख
सरकारले विपद् व्यवस्थापनका लागि मनसुन सुरु भएसँगै ८ करोड २५ लाख रुपैयाँ निकासा गरेको गृह मन्त्रालयले जनाएको छ । सरकारको प्रधानमन्त्री राहत कोषबाट आवश्यक राहत वितरण गर्ने व्यवस्था मिलाएको केन्द्रका उपसविच खनालले जानकारी दिए ।
‘विगतका वर्षमा झैं विपद् व्यवस्थापनका लागि मनसुन सुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिमा रकम पठाइएको छ,’ उनले भने, ‘मनसुनको समयमा जोखिममा परेको परिवारलाई सुरक्षित स्थानमा राख्न सरकारले विशेष योजना तयार पारी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन समितिलाई जिम्मेवार बनाइएको छ । सरकारले विपद्को समयमा राहत, पुनस्र्थापना, उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट रकम निकासा गरी जिल्ला र स्थानीय तहमा पठाएको हो ।’

(Visited 207 times, 1 visits today)
Loading comments...