सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

अमेरिकी सेनालाई साउदी राजाको स्वीकृति

एजेन्सी
4 weeks ago
21/07/2019

रियाद। साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृति दिएका छन् ।

साउदी प्रेस एजेन्सीले शुक्रबार दिएको जानकारीअनुसार क्षेत्रीय सुरक्षा र शान्ति स्थापनाका लागि सहकार्य गर्नुपर्ने भएकाले अमेरिकी सेनालाई स्वीकृति दिएको साउदी राजाले बताएका छन् ।  अमेरिकी ५ सय सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा रहने तय गरिएको दुई सुरक्षा स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानका कारण सिर्जित खतराबाट अमेरिकी स्वार्थको रक्षा गर्न अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न लागिएको जनाएको छ । खाडी क्षेत्रमा पानीजहाज हिँड्ने सामुद्रिक मार्गको विषयमा इरानसँग अमेरिकाको तनाव चुलिएको बेला अमेरिकाले सामरिक अर्थ राख्ने गरी अमेरिकी सेना रियाद ल्याउन लागेको हो ।

अमेरिकाले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट आफू छुट्टिएको घोषणा गरेपछि दुई देशबीच तनाव बढ्न थालेको छ ।

इराक युद्धपछि साउदी अरबले सन् २००३ देखि अमेरिकी सेना आफ्नो देशमा राखेको थिएन । त्यसअघि इराकले कुवेतमा आक्रमण गरेपछि सन् १९९१ मा साउदी अरबमा अमेरिकी सेना बस्न थालेका थिए ।

 

 

(Visited 101 times, 1 visits today)
Loading comments...