सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

इबोला महामारीको चपेटामा कंगो, १ हजार ७ सयको मृत्यु

सोमनाथ लामिछाने
4 weeks ago
21/07/2019

रासस /काठमाडौं। अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोेमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रूपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ ।

अति संक्रामक र घातक इबोला भाइरसले अफ्रिकामा सन् १९७६ मा पनि हजारौंको ज्यान लिएको थियो । पटक–पटक अफ्रिकी महादेशलाई सताउँदै आएको इबोला भाइरस पछिल्लो समय कंगोेमा व्यापक रूपमा फैलिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले इबोलाको पछिल्लो संक्रमणलाई तत्काल सम्बोधन गर्नुपर्ने स्वास्थ्य समस्या भन्दै ‘विश्व स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । इबोला संक्रमित व्यक्तिको मृत्यु हुने सम्भावना करिब ५० प्रतिशत रहेको डब्लूएचओको भनाइ छ ।

यो भाइरस ज्यादै संक्रामक हुन्छ र यसलाई नियन्त्रणमा ल्याउन निकै कठिन हुन्छ, खासगरी सहरी इलाकामा ।

यो भाइरस जंगली जनावरबाट मानिसमा सर्छ र इबोला भएका मानिसलाई छोएमा वा सम्पर्कमा आएमा अर्को मानिसमा अझ तीव्र गतिमा सर्छ । संक्रमित व्यक्तिको रगत, शरीरका अन्य तरल पदार्थ, शरीर वा शरीरका अरु अंगबाट निस्कने वस्तु सोझै छोएमा पनि यो रोग सर्छ । इबोला खासगरी चमेरोमा पाइन्छ तर चमेरोलाई इबोलाले केही गर्दैन बरु अरुमा यो जीवाणु सार्छ ।

चिम्पान्जी, गोरिल्ला, बाँदर, मृग र दुम्सी पनि इबोला भाइरसबाट संक्रमित भएका हुन सक्छन् । यी जनावरको सिकार गर्ने र खाने व्यक्ति पनि इबोलाबाट संक्रमित हुन सक्छन् । इबोला संक्रमित व्यक्तिमा दुईदेखि २१ दिनको अवधिमा मात्र लक्षण देखा पर्न थाल्छ ।

यस्ता रोगग्रस्त व्यक्तिलाई उच्च ज्वरो आउने, शरीर थकित हुने, मांसपेसी र जोर्नी दुख्ने, टाउको दुख्ने र घाँटीमा असजिलो हुने गर्दछ । साथै, झाडावान्ता हुने, छालामा घाउ देखिने, मिर्गाैला र कलेजोले काम नगर्ने तथा शरीरको भित्री भागमा रक्तस्राव हुने डब्लूएचओले जनाएको छ ।

उपचार गरी कुनै इबोला पीडित व्यक्ति स्वस्थ भए पनि आजीवन त्यस्ता व्यक्तिमा आर्थराइटिस हुने, आँखाको दृष्टि कमजोर हुने, आँखा सुन्निने तथा सुन्ने क्षमता कमजोर हुने गर्दछ ।

उपचार र खोज

हाल इबोलाको रोकथाम वा उपचारका लागि कुनै आधिकारिक औषधि पत्ता लागेको छैन तर अनुसन्धान प्रयोजनका लागि केही औषधि चलनचल्तीमा ल्याइएको छ । गत अगस्टदेखि दसौंपटक इबोला देखिएसँगै स्वास्थ्य निकायले पहिलोपटक ठूलो मात्रामा आरभीएसभी–जेबोभ नामको खोप प्रचलनमा ल्याएका छन् । मर्क प्रयोगशालाले विकास गरेको यो खोपले लाइसेन्स पाएको छैन तर यो निकै सुरक्षित र प्रभावकारी देखिएको छ । डब्लूएचओले यस खोपको उत्पादन बढाउन र प्रयोगमा ल्याउन आग्रह गरेको छ ।

डब्लूएचओका विज्ञले जोन्सन एन्ड जोन्सनले विकास गरेको एमभीए–बीएन खोप पनि प्रयोगमा ल्याउन सुझाएका छन् । पछिल्ला दिनमा भाइरस फैलन नपाओस् भन्न बिरामी र अरू मानिसलाई अलग अलग ठाउँमा राख्न व्यापक अभियान र सचेतना फैल्याइएको छ ।उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मीलाई इबोलाबाट सुरक्षित राख्न उनीहरूका पुरै शरीर ढाक्ने गरी प्लास्टिकको कपडा, मास्क, चस्मा, ग्लोभ र अरू स्प्रेको प्रबन्ध पनि गरिएको छ ।

विश्वकै सबैभन्दा खतरनाक इबोला संक्रमण सन् २०१३ को डिसेम्बरमा दक्षिणी गिनीमा फैलिएको थियो । त्यसपछि यो भाइरस छिमेकी मुलुक लाइबेरिया र सियरा लियोनमा फैलियो । डब्लूएचओका अनुसार यस भाइरसबाट ११ हजार ३ सयभन्दा बढीको ज्यान गएको थियो भने झन्डै २९ हजारमा इबोला देखिएको थियो ।

वास्तविक संख्या योभन्दा बढी हुने डब्लूएचओको अनुमान छ । पीडितमध्ये ९९ प्रतिशतभन्दा बढी लाइबेरिया, गिनी र सियरा लियोनमा फेला परेका थिए । यद्यपि, इबोला विश्वका अरू मुलुकमा पनि देखिएपछि विश्वव्यापी चासोको विषय बनेको थियो ।

हिंसा र द्वन्द्वको चपेटामा परेको प्रजातान्त्रिक गणतन्त्रक कंगोेको उत्तरी किभु प्रान्तमा पछिल्लोपटक यो भाइरस सन् २०१८ को अगस्टमै देखिएको थियो । यो ठाउँ युगान्डाको सीमामा पर्छ र त्यहीँबाट छिमेकी प्रान्त इटुरीमा पनि फैलिएको थियो । जुन २०१९ मा युगान्डामा दुई जनामा इबोला भेटिएको थियो । कंगोेको गोमा सहरमा एक व्यक्तिमा यो रोग देखिएको थियो ।

हालसम्म पछिल्लो संक्रमणबाट १ हजार ६ सय ९८ भन्दा बढीको ज्यान गइसकेको कंगोेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डब्लूएचओले सो रोग थप फैलन नदिन र बिरामीको उपचारमा सहयोग गर्न अन्तर्राष्ट्रिय आर्थिक तथा प्राविधिक सहयोगका लागि आह्वान गरिसकेको छ । डब्लूएचओका अपरेसन प्रमुख माइक रायनले इबोलासँग जुध्न कम्तीमा २३ करोड अमेरिकी डलर आवश्यक रहेकाले उक्त रकम सहयोग गर्न आह्वान गरेको छ ।

(जनस्वास्थ्यसम्बन्धी यो सामग्री एपी, एएफपीसमेतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको हो)

 

(Visited 37 times, 1 visits today)
Loading comments...