सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

आफ्ना नागरिक रिहा गर्न भारतद्वारा इरानलाई आग्रह

एजेन्सी
4 weeks ago
21/07/2019

 

नयाँदिल्ली। बेलायती ट्यांकरसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँदिल्लीले इरानसँग आग्रह गरेको छ ।

इरानी सामुद्रिक गार्डले बेलायती ध्वजावाहक ट्यांकरलाई हर्मुज क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा इन्धन बोक्ने उक्त जहाजमा कार्यरत १८ भारतीयसहित अन्य कर्मचारीलाई पनि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय अधिकारीले दाबी गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार बन्दार अब्वास बन्दरगाहबाट कब्जामा लिइएको ट्यांकरमा १८ जना भारतीय नागरिकले काम गर्थे र उनीहरूलाई ट्यांकरसँगै नियन्त्रणमा लिइएको थियो ।

इरानी अधिकारीका अनुसार बेलायती ध्वजावाहक ट्यांकरले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुंगालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ को उल्लंघन गरेको आरोपमा ट्यांकरलाई कब्जामा लिएको हो ।

इरानी सुरक्षा गार्डले नियन्त्रणमा लिएका आफ्ना नागरिकको सुरक्षा र शीघ्र रिहाइसँगै भारतलाई हस्तान्तरण गर्न इरानसँग कुराकानी भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानमाथि अमेरिकाले गरेको आर्थिक प्रतिबन्धको घोषणाका कारण अमेरिका र इरानबीच देखिएको तनाव बढिरहेको समय पछिल्ला केही साता इरानले आफूमाथिको प्रतिबन्धको प्रतिवाद गर्ने नाममा इरानी क्षेत्र भए पार हुने जहाजमाथिको निगरानीलाई कडा बनाएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको पहलमा विश्व शक्ति राष्ट्रहरूले गरेको सम्झौता अमेरिकी पक्षमा नरहेको भन्दै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षदेखि यसबाट फर्केको साथै इरानमाथि पहिले सम्झौता गरिएको आर्थिक नाकाबन्दी कायम रहने घोणणा गरेका थिए । ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दबाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा गरेको छ ।

पछिल्लो समय अमेरिका इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको छ ।

ट्यांकरमा एक फिलिपिनी, तीन रूसी र एक लाटभियाली पनि चालक दल सदस्यका रूपमा रहेको र उनीहरूलाई पनि नियन्त्रणमा लिइएको थियो ।इरानी अधिकारीले ट्यांकर र चालक दलका २३ सदस्यलाई बन्दर अब्वासस्थित बन्दरगाहमा नियन्त्रणमा राखिएको जनाएका छन् ।

यसैबीच बेलायतले उसको अर्को जहाजलाई पनि खाडीबाट कब्जामा लिई केही समयपछि छोडिदिएको जनाएको छ ।

इरानले जहाजहरूलाई एकपछि अर्को गर्दै कब्जामा लिएपछि बेलायत, फ्रान्स, जर्मनीलगायतका मुलुकले इरानको उक्त निर्णयले समस्यालाई थप बढाएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

उनीहरूले नियन्त्रणमा लिइएका जहाज र चालक दलका सबै सदस्यलाई बिनासर्त रिहा गर्न सुझाव दिएका छन् ।

 

 

(Visited 53 times, 1 visits today)
Loading comments...