मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

सेन्ट्रल जोन भलिबललाई प्रायोजन

राजधानी समाचारदाता
3 months ago
21/07/2019

 

काठमाडौं। साउन अन्तिम साताबाट आयोजना हुने पाँचांै एसियन सेन्ट्राल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताले दोस्रो प्रायोजन पाएको छ । नेपाल भलिबल संघले शनिबार नेपाल सेटलाइट टेलिकम प्रालिसँग दोस्रो प्रायोजकका रूपमा सम्झौता गरेको हो । यसअघि संघले नेपाल उद्योग वाणिज्य महासंघसँग ४० लाख रुपैयाँ बराबरको सम्झौता गरेको थियो ।

शनिबार भएको सम्झौताअनुसार नेपाल सेटलाइटले च्याम्पियनसिपका लागि २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौतामा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र नेपाल सेटलाइट टेलिकमका प्रालिका अध्यक्ष अस्मिता सुमार्गीले हस्ताक्षर गर्दै आदान प्रदान गरे ।

सम्झौतापछि सेटलाइटका अध्यक्ष अस्मिता सुमार्गीले नेपालको राष्ट्रिय खेल भलिबलसँग लगातार जोडिरहन पाउनु आफ्नो कम्पनीका लागि गौरवको विषय रहेको बताउँदै भलिबल अहिले आफ्नै कम्पनी जस्तो रहेको बताइन् । ‘संघका अध्यक्षमार्फत नै म भलिबलसँग जोडिएकी हुँ । अहिले भलिबल र आफ्नो अफिस एकै जस्तो लागिसकेको छ,’ अस्मिताले भनिन्, ‘अझै पनि भलिबलमै रहनेछु । भलिबललाई माथि पु¥याउन मेरो सहयोग निरन्तर हुनेछ ।’

संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले नेपाल सेटलाइट लगातार भलिबलसँग जोडिनु भलिबलका लागि खुसीको कुरा रहेको बताए ।

३२ साउनदेखि ८ भाद्रसम्म हुने प्रतियोगितामा ७ टोलीको सहभागिता पक्का गरिसकेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए । महासचिव चन्दका अनुसार च्याम्पियनसिपमा आयोजक नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानको सहभागिता पक्का भएको छ । खेल तालिका भने सार्वजनिक भएको छैन । महासचिव जितेन्द्रबहादुर चन्दले भारतसँग बिहीबारदेखि हुन लागेको तीनदिने मैत्रीपूर्ण खेल पनि रद्द भएको जानकारी गराए । उनले टोलीको टिकट पक्का भएको अवस्थामा भारत भलिबल संघले विशेष प्रशिक्षणमा रहेको भन्दै आउन नसकिने जानकारीसहितको पत्र पठाएको बताए । अब नेपाली टोलीले सेन्ट्रल जोनअघि कुनै पनि मैत्रीपूर्ण खेल खेल्ने योजना नरहेको तर अफगानिस्तान प्रतियोगिताभन्दा एक साताअघि नै आउने भएका कारण अफगानिस्तानँग मैत्रीपूर्ण खेल हुन सक्ने बताए ।

यसै प्रतियोगिताका लागि नेपालले असार पहिलो सातादेखि निरन्तर प्रशिक्षण गरिरहेको छ । नेपाली टोलीलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण दिइरहेका छन् । नेपाल भलिबल संघले गठन गरेको ५ सदस्यीय खेलाडी छनोट समितिले गत १४ जेठमा नै २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । हाल प्रशिक्षक एबिङले दोस्रो चरणमा १८ खेलाडी छनोट गरिसकेको छ ।

च्याम्पियनसिप लगनखेलस्थित नेपाली सेनाको शारीरिक तथा खेलकुद केन्द्रमा हुनेछ । उक्त कभर्ड हलमा लाइटको केही समस्या भए पनि एनभीएले साढे ३ लाख खर्च गरेर सबै मर्मत गरेको उनले जानकारी दिए ।

 

 

 

(Visited 16 times, 1 visits today)
Loading comments...