मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

मल्लिक मिस्टर साउथ एसिया

राजधानी समाचारदाता
3 months ago
21/07/2019

 

काठमाडौं। भारतका रवीन्द्रकुमार मल्लिक १२औं दक्षिण एसियाली बडी बिल्डिङ एन्ड फिटनेस च्याम्पियनसिपमा ओभरअल च्याम्पियन बनेका छन् । शुक्रबार र शनिबार राजधानीमा भएको च्याम्पियनसिपअन्तर्गत पुरुष सिनियर बडी बिल्डिङतर्फ ६ प्रतिस्पर्धीलाई अन्तिम चरणमा पछि पार्दै भारतका मल्लिक ओभरअल च्याम्पियन बन्न सफल भएका हुन् । उनी मिस्टर साउथ एसिया घोषित हुँदै १५ किलोग्रामको ट्रफी हात पारे ।

विभिन्न ९ तौल समूहका स्वर्ण विजेताबीच ओभरअल च्याम्पियनसिपमा लागि प्रतिस्पर्धा हुने भए पनि अन्तिम चरणमा दुई तौल समूहका स्वर्ण विजेता खेलाडी पूर्ण रूपमा फिट नरहेको भन्दै आयोजकले ७ तौल समूहका विजेतालाई मात्र प्रतिस्पर्धा गराएको थियो । ओभरअलमा नेपालबाट एक खेलाडी मात्र रहे पनि उनले जित्न सकेनन् ।

१२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले शनिबार दुई स्वर्ण जितेको छ । च्याम्पियनसिपको पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमिमाथिको स्पर्धामा नरेश मुञ्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।

पुरुष एथलेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते । महिलाको मोडल फिजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य जिते ।

च्याम्पियनसिपको सिनियर पुरुष बडी बिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्र कुमार दोस्रो र नेपालका अशोक महर्जनले तेस्रो स्थान हात पारे । पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतीले कांस्य जिते ।

पुरुषकै ९० केजी तौल समूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कांस्य जिते । यस्तै, ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो भए । जुनियर पुरुषतर्फ माल्दिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कांस्य जिते ।

पुरुष एथलेटिक फिजिकको १६७ सेमिसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कांस्य पदकमा चित्त बुझाए । यस्तै, पुरुषकै स्पोर्ट्स फिजिकमा माल्दिभ्सका अजनिन रसद पहिलो, नेपालका प्रमोद राई दोस्रो र अफगानिस्तानका ममिदुल्लाह खुर्सिदले तेस्रो स्थान हात पारे ।

यस्तै, पुरुषकै स्पोर्ट्स फिजिकको १७० सेमिमा पाकिस्तानका उस्मान उमर, भारतका सिनु चोभा र भुटानका टासी छोस्केले क्रमशः स्वर्ण, रजत र कांस्य पदक हात पारे । ८ राष्ट्रको सहभागिता रहेको यस च्याम्पियनसिपमा अफगानिस्तान सबैभन्दा धेरै अंक जोड्दै टिम च्याम्पियन बन्न सफल भयो । घरेलु टोली नेपाल दोस्रो र भारत तेस्रो भयो । अफगानिस्तानले ५३५ अंक जोड्यो ।

यस्तै, नेपालले ४ सय ४५ र भारतले ३ सय ८८ अंक प्राप्त गरेको थियो । नेपाल बडी बिल्डिङ तथा फिटनेस एसोसिएसनको आयोजनामा भएको दुईदिने च्याम्पियनसिपमा बडी बिल्डिङ र फिजिक्स (पुरुष र महिला)तर्फ गरी विभिन्न १८ विधामा प्रतिस्पर्धा गराइएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

(Visited 63 times, 1 visits today)
Loading comments...