सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

सुत्केरी महिलाका लागि स्तनपान कक्ष

शुभाकर विश्वकर्मा
4 weeks ago
21/07/2019

जुम्ला । महिला सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । जिल्लाका दूरदराजका क्षेत्रबाट सेवा लिन आउने विशेष गरी महिला सेवाग्राहीको सहजताका लागि स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो । यसका साथै नागरिकमैत्री सेवाप्रवाहका लागि कार्यालयले ‘नागरिक सहायता कक्ष’ पनि सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् । सेवाग्राहीका लागि सुविधा प्रदान गरिएको भए पनि कार्यालयमा कार्यरत महिला कर्मचारीसमेत ‘स्तनपान कक्ष’बाट लाभान्वित हुनेछन् । प्रजिअ बन्जाडेका अनुसार सेवाग्राहीको सहजताका लागि कार्यालयमा फिल्टरसहितको चिसो र तातो पानीको पनि व्यवस्था गरिएको छ ।

प्रशासन कार्यालयको यस्तो व्यवस्थाप्रति जुम्लाका नागरिक निकै उत्साहित देखिएका छन् । एक वर्षे छोरो बोकेर कार्यालयमा नागरिकता बनाउन आएकी तातोपानी–६ की धनलक्ष्मी सुनार स्तनपान कक्षमा सेवा लिन पाउँदा खुसी लागेको बताउँछिन् । ‘जुम्लामा महिला सीडीओ आएकी छन् भन्ने सुनेकी थिए,’ उनले भनिन्, ‘सीडीओ साबको आत्मीयता देख्दा निकै गर्भ महसुस भयो ।’

उनका अनुसार पहिला कार्यालयमा आउँदा यस्तो सुविधा नभएको भए पनि सरकारी कार्यालयमा कहिल्यै नसोचेको सेवा पाउँदा निकै खुसी लागेको छ । जुम्लामा पहिलोपटक महिला सीडीओेका रूपमा गत फागुनमा आएकी बन्जाडेले छोटो समयमा निकै राम्रो काम गरेको नागरिक समाजमा अगुवाले बताएका छन् । नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले महिलो सीडीओको उदाहरणीय कार्यप्रति जुम्ली जनतालाई आशाको सञ्चार गराएको प्रतिक्रिया दिए ।
उनी जुम्ला आएदेखि ७५ वर्ष उमेरका नागरिकले समेत बिनाझन्झट नागरिकता पाएका छन् । प्रशासनमा सेवा लिन आउँदा १३ प्रकारका निवेदनका ढाँचा निर्माण गरी राखिएका छन् ।

(Visited 17 times, 1 visits today)
Loading comments...