आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

काश्मिरमा भारतीय सेनाको गोली प्रहारबाट ७ पाकिस्तानी सेना मारिए

3 years ago
14/11/2016

indian-army-kashmir

कास्मिरको पाकिस्तान प्रशासित क्षेत्रमा भारतीय सेनाले गरेको गोली प्रहारमा ७ जना पाकिस्तानी सेनाको मृत्यु भएको छ । आइतबार राति भएको दोहोरो गोली हानाहानका क्रममा भारतीय सेनाको गोली लागेर ७ जवानको मृत्यु भएको सेना प्रमुख सहिल सरिफले जनाएका छन् ।

पाकिस्तानी सेनाले विज्ञप्ति जारी गर्दैै लाइन अफ कन्ट्रोलको भिम्बर सेक्टरमा भिडन्त भएको जनाएको छ । लाइन अफ कन्ट्रोल कास्मिरमा भारत र पाकिस्तानको विभाजन रेखा हो । भारतीय सेनाको आक्रमणपछि पाकिस्तानी सेनाले त्यसको प्रतिकार गरेको सरिफको भनाई छ ।

भारत प्रशासित कास्मिरको उरीमा १८ सेप्टेम्बरमा हतियारधारी समूहले गरेको आक्रमणपछि दुई देशबीच लगातार गोलाबारीका घटनाहरु भइरहेका छन् । पाकिस्तानले भारतीय सेनाले गरेको गोलाबारीमा अहिलेसम्म २६ जना नागरिक मारिएको जनाएको छ । यसअघि उत्तरी कास्मिरको कपवाडा जिल्लाको केरन सेक्टरमा नियन्त्रण रेखामा भएको दोहोरो गोली हानाहानमा एक भारतीय सैनिकको मृत्यु भएको थियो ।

भारत र पाकिस्तानबीच गत सेप्टेम्बरपछिमात्रै २ सय ८६ पटक गोली हानाहानका घटना भएको बताइएको छ । सो हमलाका क्रममा भारतमा पनि १४ सैनिक र २६ सर्वसाधारणको मृत्यु भइसकेको छ । भारत र पाकिस्तानबीच सन् २००३ मा जम्मू कास्मिरको सीमा क्षेत्रमा गोली हानाहान नगर्ने सम्बन्धी सन्धी भएको थियो ।

यद्यपि गत जुलाईदेखि भारत र पाकिस्तानबीच पुनः द्वन्द्व चर्किएको छ । भारत प्रशासित कास्मिरमा गत जुलाई ८ मा भारतीय सुरक्षाकर्मीको गोली लागेर हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको हत्यापछि कास्मिरमा चर्किएको आन्दोलनका कारण दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न हुँदा इस्लामाबादमा हुने सार्क शिखर सम्मेलन समेत स्थगित भइसकेको छ ।

कास्मिरमा जारी आन्दोलन स्वतन्त्रताको आन्दोलन भएको भन्दै पाकिस्तानले त्यसलाई समर्थन गरेपछि भारत पाकिस्तानसँग रुष्ट भएको हो । कास्मिरमा स्थानीय युवाले गरिरहेको आन्दोलनका क्रममा हालसम्म करिब सय जना सर्वसाधारणको सेनाको गोली लागेर मृत्यु भइसकेको छ ।

(Visited 19 times, 1 visits today)
Loading comments...