बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

छानविन समितीको कार्यशैली उपयुक्त भएन : प्रधानमन्त्री ओली

राजधानी समाचारदाता
2 months ago
23/07/2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन सम्बन्धमा गठन भएको समितीको कार्यशैली उपयुक्त नभएको बताएका छन् । प्रतिष्ठानको तेस्रो सभा बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले जेठ ३० गते एक समिती गठन गरेको थियो । समितीको हवाला दिंदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए ।

प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए । ‘समितीले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ’ प्रतिष्ठानका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले भने, ‘यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको बताएका छन् । ‘प्रतिवेदन कुलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिएको छ तर त्यस्तो दबाबमा म पर्दिन । सत्यतथ्य बुझेर मात्र अघि बढ्छु ।’ प्रधानमन्त्री ओलीले भने ।

(Visited 77 times, 1 visits today)
Loading comments...