आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

सरकारले तोक्यो धानको न्यूनतम मूल्य

2 years ago
14/11/2016

dhan

सरकारले धानको न्यूनतम मूल्य निर्धारण गरेको छ । व्यापारीले कम मूल्यमा धान खरिद गरी किसानलाई मारमा पारिरहेका बेला किसानलाई राहत दिन सरकारले न्यूनतम मूल्य निर्धारण गरेको हो । यो वर्ष फलेको धान बजारमा बिक्री नभए किसानले मोटा धान किलोमा २० रुपैयाँ ७० पैसा र मध्यम धान किलोको २२ रुपैयाँ ३० पैसा पाउनेछन् ।
कृषि विकास मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जानकारी दिएको छ । बिचौलियाका कारण किसानले उत्पादनको न्यूनतम मूल्य पाउन नसकेको अवस्थामा मूल्य निर्धारणले किसानलाई राहत हुने भएको छ । मन्त्रालयका अनुसार प्रतिक्विन्टल (१ सय किलो) मोटो धान २ हजार ७० रुपैयाँ र मध्ययम खालको धानको मूल्य २ हजार २ सय ३० रुपैयाँ निर्धारण गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाले किसानलाई उचित राहत दिन धानको न्यूनतम मूल्य निर्धारण गरिएको जानकारी दिए । किसानको उत्पादन लागत र बजार विश्लेषणका आधारमा अर्थ मन्त्रालयसँगको समन्वयमा मूल्य तोकिएको उनले बताए । नेपाल खाद्य संस्थानले कुल उत्पादनको २ प्रतिशत धान खरिद गर्नेछ ।
गत वर्ष खाद्य संस्थानमार्फत जिल्लाअनुसार फरक–फरक मूल्य तोकेको भए पनि चालू आर्थिक वर्ष २०७३÷७४ मा मुलुकभर कार्यान्वयन हुने गरी मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । दुई वर्षअघि २०७१ मा निर्धारण गरेको मूल्यअनुसार मोटा धानको प्रतिक्विन्टल २ हजार १३ र मध्यमखाले धानको २ हजार १ सय २९ रुपैयाँ थियो । किसानले उत्पादन गरेको धानको बजार सुनिश्चित गर्न मूल्य तोकिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गतको ‘न्यूनतम समर्थन मूल्य निर्धारण सिफारिस समिति’को सिफारिसमा मन्त्रिपरिषद्ले मूल्य तय गरेको सहायक प्रवक्ता सापकोटाले जानकारी दिए । मूल्य तोकेपछि धान बिक्री नभए सो धान सरकारले खरिद गर्ने सुनिश्चित हुन्छ । यस वर्ष समयमा पानी परेर धान रोप्न पाएका कारण धान उत्पादनमा पनि वृद्धि भएको छ ।
कृषि मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा करिब ८ लाख मेट्रिक टन धान बढी फल्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७२÷७३ मा ४२ लाख मेट्रिक टन धान फलेकोमा चालू आर्थिक वर्षमा करिब ५० लाख मेट्रिक टन फल्ने मन्त्रालयको अनुमान छ । यो वर्ष १३ लाख ७७ हजार ४२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । बर्खामा उच्च हिमाली क्षेत्रमा ९९ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९८ प्रतिशत र तराई क्षेत्रमा ९७ प्रतिशत खेतमा रोपाइँ भएको थियो । आर्थिक वर्ष २०७१÷७२ को तुलनामा गत आर्थिक वर्षमा धान चार लाख ९० हजार मेट्रिक टन कम फलेको थियो । आर्थिक वर्ष २०७१÷७२ मा ४७ लाख ७ हजार मेट्रिक टन फलेको थियो ।

(Visited 9 times, 1 visits today)
Loading comments...