आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

नेतृत्वको चरित्र र हाम्रो भविष्य

3 years ago
15/11/2016

नेतृत्वको चरित्र र हाम्रो भविष्य

binod-nepal-7

विनोद नेपाल

कुनै पनि संगठन वा संयन्त्रको भाग्य र भविष्य त्यसको नेतृत्वमा निर्भर हुन्छ । दूरदर्शी, प्रतिबद्ध, दृढ, आत्मविश्वासी, जिम्मेवार तथा संयमी नेतृत्वले संगठनलाई सही दिशा दिन सक्छ । यस्तो नेतृत्वले त्यस्तो संस्था वा निकायलाई लक्ष्यप्राप्तिको दिशातर्फ डोहो¥याउन सक्छ । तर अक्षम, अदूरदर्शी, कमजोर, लाचार तथा ढुलमुले नेतृत्वले संगठन वा संयन्त्रलाई सही दिशा दिन सक्दैन । क्षमताहीन, दृष्टिकोणविहीन, लवस्तरो, अस्थिर, अनुत्तरदायी तथा गैरजिम्मेवार नेतृत्वले संगठनलाई सही ढंगमा हाँक्न र सही दिशानिर्देश गर्न सक्दैन । यस्तो संगठनको असफलता अवश्यम्भावी हुन्छ । आफ्नो कुनै विचार र दृष्टिकोण नभएको, कसैको सुझाव र सरसल्लाह लिन तत्पर नहुने, नलिने वा लिए पनि त्यसलाई व्यवहारमा लागू नगर्ने अथवा एक प्रकारले भनौं स्वीकार नगर्ने तथा सबैलाई शंका नै गर्ने खालको नेतृत्व भयो भने त्यसले त दिशाहीनता र गतिहीनता मात्र हुन्छ । यस्तो नेतृत्वले गन्तव्यमा पु¥याउँदैन, बरु दुर्घटना निश्चित प्रायः हुन्छ । हामी आहिले यस्तै समस्या भोगिरहेका छौं । सक्षम नेतृत्वको अभावमा हामी अन्योलमा रुमल्लिएका छौं ।

लामो प्रयासपछि बल्लतल्ल संविधान जारी गरे पनि त्यसको कार्यान्वयन सहज भएन । प्रारम्भमा मधेसकेन्द्रित दलहरूले संविधानप्रति असहमति जनाउँदै मधेसमा आन्दोलन गरे भने त्यसैलाई बल पुग्नेगरी छिमेकी भारतले गरेको लामो अघोषित नाकाबन्दीको असरबाट अझै मुक्त भइसकिएको छैन । संविधानको पहिलो संशोधनले केही माग सम्बोधन गर्ने प्रयास भए पनि असन्तुष्टी कायमै रह्यो । उता मधेसी दलहरूलाई पृष्ठपोषण गरिरहेको भारतले संविधानलाई खुला हृदयले समर्थन गरी नसकेको अवस्थामा अझै पनि थुप्रै चुनौती ज्यूँका त्यूँ छन् । यसैले संविधानको कार्यान्वयन सहज देखिँदैन । संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरूको निर्माण तथा २०७४ माघ ७ गतेभित्र केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था भए पनि त्यसका लागि वाञ्छित तत्परता देखिन सकेको छैन । दलहरू आआफ्नै धुनमा छन् । प्रतिपक्ष सरकारको धुवाँधार विरोधमा उत्रने र सत्ता पक्षले सहमतिमा ल्याउनेभन्दा पनि झनै दूरी बढाउने खालका गतिविधि गर्दा तथा नेताहरूले हचुवा र अनुमानका आधारमा जथाभावी अभिव्यक्ति दिँदा बन्न खोजेका कामहरू पनि बिग्रने र हुन खोजेको सहमति पनि टुट्ने अवस्था विद्यमान छ । यस किसिमको अवस्थाले उत्पन्न जटिलताहरूको समाधान खोज्ने प्रयास सार्थक हुनसकेको छैन, जसले आमजनमानसमा अत्यन्त चिन्ता र निराशा छाएको छ ।

संविधानको स्वामित्व लिने र अपनत्व महसुस गराउने वातावरण निर्माण गर्नु कुनै दलविशेष वा गठबन्धनविशेषको मात्र जिम्मेवारी होइन । तर, एकातिर यसलाई सत्ता पक्षकै ठेक्का ठानिएको छ भने अर्कोतिर मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा झिना मसिना कुरामा अल्मलिने क्रम पनि जारी नै छ । यति मात्र होइन, दलहरू आन्तरिक र अन्तरदल विवादमा पनि अल्मलिएका छन् । यसैले, दलहरूप्रतिको आमभरोसा कमजोर हुँदै गएको छ भने जिम्मेवार नेताहरूले नै आफूहरूमाथि खतरा देख्न थालेका छन् । यस्तो अवस्थामा तिनले कस्तो नेतृत्व दिने र मुलुकलाई समस्याबाट मुक्त गर्ने अर्थात् संक्रमणकालीन संकटको व्यवस्थापन कसरी सम्भव हुने ?
हाम्रा नेताको मनोबल कतिसम्म कमजोर छ भन्ने कुराका धेरै उदाहरण छन् । हालका सन्दर्भमा सत्तासीन दलका नेताहरूका पछिल्ला अभिव्यक्तिलाई लिन सकिन्छ । मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल र सबैभन्दा ठूलो दलका सभापति शेरबहादुर देउवाका पछिल्ला अभिव्यक्ति र आक्रोशले हाम्रा नेताको मानसिकताको पुष्टि हुन्छ ।

दाहालले हालै एक कार्यक्रममा पछिल्लो समय सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भएकाले त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई आग्रह गरेका हुन् । अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत विस्तारै विस्तारै माओवादी सिद्धान्तविरुद्ध नै प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जाल र केही मिडियामार्फत आफूमाथि आक्रमण र घेराबन्दी भइरहकाले पार्टीको नेतृत्व र सरकारले गरेको राम्रा कामको प्रतिरक्षा गर्न युवा विद्यार्थीले भूमिका खेल्नुपर्ने बताएका हुन् । दाहालले आफूलाई घेराबन्दी गरेर आक्रमण गरिएको भन्दै अन्तिम परे नयाँ क्रान्ति सुरु गर्ने पनि बताए । स्मरणीय छ, यसअघि माओवादी मुख्यालय पेरिसडाँडामा असन्तुष्ट पूर्वलडाकु समूहले नेताहरूलाई घेराबन्दी गरेका थिए भने भारत भ्रमण र कतिपय सन्दर्भमा भारतप्रतिको नतमस्तकताका कारण दाहालको सामाजिक सञ्जालहरूमा विरोध हुँदै आएको छ ।

आक्रोश, आवेश र आशंकाको पनि हद हुन्छ। ढा“ट, छल र बेइमानीको पनि सीमा हुन्छ। धैर्य र संयम देखाउनुपर्ने विषयमा गुमाउने तथा बुद्धि, विचार र विवेकले निर्णय लिनुपर्ने समयमा त्यसमै कमजोरी देखाउने नेताले मुलुकलाई कता लैजालान्?

कांग्रेस सभापति देउवा हालैको भारत भ्रमणको क्रममा इन्डिया फाउन्डेसनको कार्यक्रमपछि नयाँ दिल्लीमा उच्चसतरीय भेटवार्ता गरेर स्वदेश फर्केका हुन् । त्यहाँ उनले तिब्बती निर्वासित नेता दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्ने आरोपको खण्डन गर्दै आफूले निर्वासित धार्मिक नेता दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्ने समाचार असत्य रहेको बताउँदै ‘नेपाली मिडियाले आफूलाई भित्तामा पु¥याउने काम गरेको’ उनले आरोप लगाए । यति मात्र होइन, त्यसप्रति आक्रोश व्यक्त गर्दै उनले ‘झुटो समाचार लेखेर आफ्नो बदनाम गराउन खोजिएको र त्यसो गरिए आफू पनि चुप लागेर नबस्ने’ पनि बताए । स्पष्टीकरण दिने क्रममा तिब्बत चीनको अभिन्न अंग भएको र आफू एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताउँदै झुटा समाचार प्रसार गरेर केही सञ्चारमाध्यमले आफूलाई खेद्ने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । देउवाले नेपालका मिडियाले हुँदै नभएको कुरा लेखेर भित्तामा पु¥याउने प्रयास गरेमा ‘मैले पनि जान्या छु’ भन्दै गर्दा उनको हाउभाउ पनि हेर्नलायक थियो ।

मुलुकको भविष्य र मुलुकवासीको भाग्य नेतृत्वको चरित्रमा निर्भर हुन्छ । कुशल, सक्षम र दूरदर्शी नेतृत्वले जनतालाई सुख सुविधा प्रदान गर्नुका साथै मुलुकको विकास र समृद्धि सुनिश्चित गर्छ भने अक्षम, अदूरदर्शी, आतंकित र लाचार नेतृत्वबाट यस्तो सम्भावना रहँदैन । अहिलेको अलमल र विद्यमान संकट हाम्रो नेतृत्वको आफंैमाथि पनि आशंका हुनु तथा निर्णय क्षमताको अभावका कारण उत्पन्न भएको हो । हामीले भोग्नुपरेका सबैखाले समस्या र झन्झटको कारक हाम्रो कमजोर र आत्मविश्वासको अभाव भएको नेतृत्व नै हो । जसरी कुशल चालकको साथमा हुने यात्रा सुरक्षित हुन्छ र अप्ठेरोमा हड्बडाउने तथा संकटमा उचित निर्णय लिन नसक्ने चालकले दुर्घटना गराउँछ, नेतृत्वको हकमा पनि यस्तै यथार्थ लागू हुन्छ । आवेशमा बर्बराउने, आक्रोशमा खनिने र उत्तेजनामा जथाभावी गर्ने नेतृत्वले देश र जनताको पक्षमा काम गर्न सक्दैन । यसैले, हामीले नेतृत्वकै विषयमा एकपटक गम्भीर भएर सोच्नु आवश्यक छ । अन्यथा यो अन्योल अझ लम्बिनेछ ।

त्यसो त राजनीति भनेकै झुठ, बेइमानी र फटाईं हो । जसले जति ढाँट छल गर्न सक्छ, ऊ उति नै सफल हुन्छ । हामीले बुझेको यथार्थ यही नै हो । तर, आक्रोश, आवेश र आशंकाको पनि हद हुन्छ । ढाँट, छल र बेइमानीको पनि सीमा हुन्छ । धैर्य र संयम देखाउनुपर्ने विषयमा गुमाउने तथा बुद्धि, विचार र विवेकले निर्णय लिनुपर्ने समयमा त्यसमै कमजोरी देखाउने नेताले मुलुकलाई कता लैजालान् ? यस्ता नेताले कुन नैतिकताले र कुन मनोबलले दल र राज्यको नेतृत्व गर्लान् ? यिनबाट के र कस्तो अपेक्षा गर्ने ? यो अत्यन्त गम्भीर र सबैले सोच्नुपर्ने विषय हो । समग्रमा, हाम्रो नेतृत्व सत्तामुखी, पदलोलुप, स्वार्थी र गैरजिम्मेवार छ । यो देश र जनताप्रति अनुत्तरदायी छ । आफूलाई चोखो र अरूलाई दोषी देख्ने खालको छ । तर, विडम्बना सबैको हालत उस्तै नै छ । चामत्कारिक भनिएका नेता पुष्पकमल दाहाल होऊन् वा देउवा, खनाल, नेपाल, ओली होऊन् या पौडेल नै, सबैको साझा पहिचान यही नै हो । यस्तो अवस्थामा मुलुकको भविष्य र जनताको भाग्यमाथि कालो बादल मडारिइरहनु अनौठो होइन ।

(Visited 24 times, 1 visits today)
Loading comments...