आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

भाइरल ज्वरोको प्रकोप

3 years ago
09/08/2016

राजधानी संवाददाता

बर्दिया, २४ साउन

साउन महिना लागेपछि बर्दियामा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोका कारण दैनिक २ हजारभन्दा पनि बिरामी उपचारका लागि आउने जनस्वास्थ्य अधिकृत सुनिल पाण्डेले बताए । उनका अनुासर साउन लागेयता जिल्ला अस्पताल, स्वास्थ्य चौकी र निजी क्लिनिक विरामीहरूको चाप बढेको छ ।

भाइरल ज्वरोले बालबालिकादेखि वृद्धहरूसमेत प्रभावित छन् । पाँच वर्ष मुनिका बालबालिका बढी प्रभावित भएको जनस्वास्थ्य अधिकृत पाण्डेले बताए । उनले ज्वरोसँगै रुघाखोकी, टाइफाइड, मलेरिया लागेका बिरामीहरूको भीड लाग्ने गरेको बताए । भाइरल ज्वरोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घटेको शिक्षकहरू बताउँछन् ।

भाइरल ज्वरो आएपछि ज्वरोको मात्राा बढी हुनुको साथै टाउको दुख्ने, जोर्नी दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने र खानामा रुचि नहुनेजस्ता लक्षण देखा पर्दछ ।  औषधि सेवन गरे पनि केही दिनसम्म औषधिले काम नगरेपछि चेक जाँच गराउँदा भाइरल ज्वरो भएको क्लिनिकमा चेकजाँच गर्न आएका बिरामी भरत चौधरीले बताए ।

मौसमका कारण हुने भाइरल ज्वरो सामान्यतया एक सातामा ज्वरो निको भए तापनि बिरामी आत्तिएर क्लिनिक, अस्पताल धाउने गरेको जिल्ला जनस्वास्थ्य अधिकृत सुनिल पाण्डेले बताए । उनले घरमै आराम गरी पानी पट्टी, सिटामोल खाँदा पनि यो ज्वरो निको बताए पनि अस्पताल र क्लिनिक गई चेकजाँच र सल्लाह लिंदा यसबाट हुने खतराबाट बच्न सकिने बताए ।

विभिन्न किसिमका भाइरलहरूबाट भाइरल ज्वरो आउने अस्पताल स्रोतले जनाएको छ भने अहिलेको मौसममा भाइरलको प्रकोप बढ्न सक्ने हुनाले सामान्य ज्वरो आउँदासमेत सजगता अपनाउन जिल्ला अस्पताल बर्दियाले आग्रह गरेको छ ।

साथै गर्मी मौसम अझै खास गरी वर्षा मौसमसँग हुने भाइरल ज्वरो एक किसिमको सरुवा रोग भएका कारण हिँडडुल गर्दा मास्क लगाउनुका साथै स्वच्छ पानी मात्र पिउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र झोल खानेकुरा प्रशस्त खाना स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् ।

 

(Visited 7 times, 1 visits today)
Loading comments...