सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

प्रदर्शनका कारण उडान स्थगित

एजेन्सी
7 days ago
13/08/2019

हङकङ । हङकङमा लगातार चौथो दिन विमानस्थलभित्रै सरकारविरोधी प्रदर्शन कायम रहेपछि हङ‍कङ अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान हुने सबै उडानहरू स्थगित गरिएका छन् । संसारको व्यस्त विमानस्थलमध्ये एक मानिने हङकङ विमानस्थलमा हजारौं प्रदर्शनकारी भेला  भएका छन् ।
एक वक्तव्यमा अधिकारीले ठूलो संख्यामा मानिस जम्मा भएका कारण विमानस्थल सञ्चालन गर्ने कार्यमा गम्भीर असर परेको बताएका छन् । आइतबारको प्रदर्शनमा नजिकैबाट अश्रुग्यास र अन्य कम घातक गोली प्रहार गरि‌एको भिडियो सार्वजनिक भएपछि प्रदर्शनकारीले प्रहरीको आलोचना गरेका छन् ।

आइतबार प्रहरीले प्रदर्शनकारीलाई रोक्ने क्रममा आँखामा चोट लागेर रक्ताम्मे भएकी एक महिलासँग ऐक्यबद्धता जनाउन केही प्रदर्शनकारीले आँखामा पट्टी बाँधेर प्रदर्शन गरेका थिए । सोमबार हङ्‍कङ विमानस्थल प्राधिकरणले विज्ञप्ति जारी गरेर उडान प्रक्रिया सुरू नभएका सबै उडान स्थगित गरेको बताएको छ ।
अधिकारीले नागरिकलाई विमानस्थल नआउन भन्दै आगमनको क्रममा रहेका विमानलाई भने आउन दिने बताएका छन् । सन् २०१८ मा सो विमानस्थल हुँदै सात करोड ५० लाख यात्रुले यात्रा गरेका थिए । वरिष्ठ प्रहरी अधिकृत कङ विङ–चुङले भने, ‘हामी यहाँ आइपुग्नु अगाडि पाँच हजार प्रदर्शनकारी रहेको सूचना पाएका थियौं ।’ प्रहरीले विमानस्थलमा छिरेर प्रदर्शनकारीलाई हटाउँछ या हटाउँदैन भन्ने कुरा यो समाचार तयार पार्दासम्म स्पष्ट भइसकेको छैन ।

हङकङमा भारी प्रदर्शन र अशान्तिको माहोल तत्काल अन्त्य हुने सम्भावना कम देखिएको छ । दुई महिनाअघि हङकङ सरकारले ल्याएको सुपुर्दगी विधेयकविरुद्ध सुरु भएको प्रदर्शन विधेयक फिर्ता लिएर पनि अझै रोकिएको छैन । हङकङमा विवादित सो विधेयकका विरुद्धमा दुई महिनाभन्दा लामो समयदेखि निरन्तर प्रदर्शन जारी रहँदा जनजीवनसमेत प्रभावित भएको छ । विमानको उडान स्थगित गरिएपछि विमानस्थल प्रशासनले यात्रुहरूलाई विमानस्थल नआउन सल्लाह दिएको छ ।

(Visited 18 times, 1 visits today)
Loading comments...