सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

एकीकृत बस्ती निर्माण अभियानपछि भूकम्पपीडितमा खुसी

दिनेश थापा
7 days ago
13/08/2019

मेलम्ची। मेलम्ची नगरपालिका–१२ बाँसवासी थाक्लेकी राममाया तामाङको मुहारमा खुसीका रेखा प्रस्टै देखिन्थे । भूकम्पछि अहिलेसम्म पनि जस्ताको टहरोमा बस्दै आएकी राममाया अबको केही महिनापछि सुविधा सम्पन्न घरमा बसाइँ सर्दै छिन् । भूकम्पपछिका तीन दसैं टहरोमा नै बिताएकी राममायाको परिवार नयाँ घरमा सर्न पाउने भएपछि उनी दंग छिन् ।

अहिले पनि अस्थायी टहरोमा बस्दै आएकी राममायाले भनिन्, ‘अब यो दसैंमा त नयाँ घरमा सर्ने हो ।’ राममाया मात्रै होइन बाँसबारी थाक्लेकै चेतबहादुर तामाङ पनि खुसी छन् । उनी भन्छन्, ‘पहिलेको भन्दा सुविधा सम्पन्न घर र सबै परिवारसँगै बस्न पाउने भएपछि म खुसी छु ।’

राममाया गोपाल मात्रै होइन थाक्लेका ३१ परिवारको भूकम्पपछि केही महिनाभित्रै नयाँ घरमा बस्न पाउने भएपछि खुसी छन् । भूकम्पपछि टहरोमा बस्दै आएका थाक्लेका ३१ परिवारका लागि एकीकृत बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अबको केही महिनापछि भूकम्पपीडित ३१ परिवारलाई एकीकृत बस्ती हस्तान्तरण गर्ने अन्तिम तयारी छ ।

मेलम्ची नगरपालिकाको बाहुनेपाटीबाट झन्डै एक घण्टाको सडक यात्रापछि थाक्ले बस्तीमा पुग्न सकिन्छ । थाक्लेको रमणीय डाँडाबाट सिन्धुपाल्चोकका धेरै क्षेत्र अवलोकन गर्न सकिन्छ । त्यही थाक्लेको सुन्दर डाँडामा उही प्रकारका, उही रंग अनि उही साइजका हरिया छानाले थाक्लेको सुन्दरताले अझै बढाएको छ ।

चारकोठे घर, शौचालय, धारालगायत सुविधा भएका ३१ वटा घर निर्माणको अन्तिम चरणमा रहेको थाक्ले एकीकृत बस्ती निर्माण समितिका अध्यक्ष खिलबहादुर तामाङले जानकारी दिए । एकीकृत बस्तीका प्रत्येक घरको आँगनसम्म पुग्नेगरी १३ फिटको मोटर बाटोमा ग्राभेलको काम धमाधम भइरहेको पनि अध्यक्ष तामाङले जानकारी दिए ।

थाक्लेका स्थानीय तामाङ समुदायका ३१ घरलाई एकै ठाउँमा राख्ने उद्देश्यले एकीकृत बस्ती निर्माणको सुरुवात गरिएको थियो । बस्ती निर्माणका अभियन्ता थिए, स्थानीय एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ । ‘हाम्रो समुदाय पहिला पनि यसैगरी बसेका थिए । भूकम्पपछि सबै घर भत्किए अनि पहिलाको जसरी मिलेर बस्न एकीकृत बस्ती निर्माण गरेका हौं,’ तामाङले भने । एकीकृत बस्ती निर्माणका लागि जिसस प्रमुख तामाङले आफ्नै स्वामित्वमा रहेको जग्गासमेत एकीकृत बस्ती निर्माणका लागि प्रदान गरेका थिए ।

 

(Visited 14 times, 1 visits today)
Loading comments...