सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

सिन्धुलीका ६ स्थानीय तह विपदको उच्च जोखिममा

बिमला पाण्डे
5 days ago
14/08/2019

सिन्धुली । जिल्लाका ६ स्थानीय तह सबै प्रकारका विपदको उच्च जोखिममा रहेको विपद व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा विपदका लामो सृंखलाको अध्ययन र परामर्शमा तयार गरिएको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७६ मा उक्त कुरा उल्लेख गरिएको छ । विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले तयार पारेको उक्त योजना बुधबार सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आधिकारिक वेभसाईड www.daosindhuli.moha.gov.np मा उक्त कार्ययोजना सार्वजनिक गरिएको हो । जसमा दुधौली नगरपालिका, कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, तीनपाटन गाउँपालिका र मरिण गाउँपालिका रहेका छन । यस्तै सुनकोशी गाउँपालिका, घ्याङलेक गाउँपालिका, गोलन्जोर गाउँपालिका मध्यम जोखिममा रहेको उक्त योजनामा उल्लेख गरिएको छ ।

विपदका वेलामा गर्नुपर्ने आकस्मिक राहत, उद्वार र पुनस्र्थापनाका विषयमा योजना बनाउने क्रममा उक्त योजनामा जिल्लाको विपदगत अवस्थाको समेत विश्लेषण गरिएको छ । जसमा सिन्धुलीका अधिकांश क्षेत्रहरु बाढीको उच्च जोखिममा रहेको बताइएको छ । विपदको सूचकांकमा जिल्ला बाढीबाट प्रभावित भएको तथ्यांक उच्च रहेको पाईएको छ । जसमा दुधौली नगरपालिका र मरिण गाउँपालिका बाढीबाट अत्यधिक प्रभावित हुदै आएका स्थानीय तह हुन् । त्यसपछि कमलामाई नगरपालिका हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिका बाढीबाट प्रभावित हुने गरेका छन् ।

यस्तै भुकम्पबाट सुनकोशी गाउँपालिका, घ्याङ्लेक गाउँपालिका, मरिण गाउँपालिका, गोलन्जोर गाउँपालिका उच्च जोखिममा छन् भने हरिहरपुरगढी गाउँपालिका, कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका र दुधौली नगरपालिका मध्यम जोखिममा रहेको उल्लेख गरिएको छ ।

यस्तै सिन्धुलीमा तेस्रो मुख्य विपदमा आगलागी रहेको विश्लेषण गरिएको छ जसबाट सुनकोशी गाउँपालिका, घ्याङलेक गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका उच्च जोखिममा रहेका छन् । यस्तै अर्को विपदको जोखिममा पहिरोलाई लिईएको छ । पहिरोबाट विशेष गरि सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेक गाउँपालिका प्रभावित रहेको कार्ययोजनामा उल्लेख गरिएको छ ।

विपदबाट आठ प्रतिशत जनसंख्या प्रभावित हुने
यस वर्ष सिन्धुलीमा विपदबाट ८ प्रतिशत जनसंख्या प्रभावित हुने आँकलन समेत गरिएको छ । २ हजार परिवारका ११ हजार ४ सय पुरुष र १२ हजार ३ सय महिला प्रभावित हुने आंकलन गरिएको हो । जसमा विस्थापित हुनेको संख्या ९ हजार ४४० जना आंकलन गरिएको छ । जसमा प्रजनन योग्य उमेरका ३ हजार ७५ जना महिला प्रभावित हुनेछन् भने १ हजार २३० जना महिला विस्थापित हुने छन । यो संख्या प्रभावित महिलाको २५ प्रतिशत हो ।

जसमा ४६ प्रतिशत १९ वर्ष मुनीका बालबालिका र ८३४ जना जेष्ठ नागरिक प्रभावित हुनेछन । यस्तै गर्भवति र सुत्केरी (दुध खुवाउने आमा) गरि ९३७ जना प्रभावित हुने अनुमान गरिएको छ । यो अनुमानित तथ्यांक विगतका विपदका घटनालाई विश्लेषण गरी तयार गरिएको नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष अशोक श्रेष्ठले बताए ।

जिल्लामा ९ वटा विभिन्न क्षेत्रहरु तय गरी प्रभावकारी ढंगले विपद पूर्वतयारी र प्रतिकार्य कार्य गर्न सहयोगी हुने गरी यो कार्ययोजना बनाईएको उनले बताए । जिल्लामा हुने विपद व्यवस्थापनका लागि ९ वटा कलष्टर निर्माण गरि जिम्मेवारी समेत तोकिएको छ । जसमा शिक्षा, स्वास्थ्य, बजार, स्रोत साधान र समन्वय तथा सूचनालाई समेत मध्येनजर गरि योजना बनाइएको छ ।

विपदलाई व्यवस्थापन गर्नका लागि एकद्धार प्रणाली लागु गर्दै सहजीकरण र जानकारीका लागि यो योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । यो योजनाले आईपर्ने विपदमा काम गर्न सहज हुने बताएका छन ।

(Visited 81 times, 1 visits today)
Loading comments...