सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

नेकपा स्कुल विभाग, दाहालद्वारा अध्यक्ष मातहत राख्ने प्रस्ताव

सविन शर्मा
5 days ago
15/08/2019

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि पनि स्थगित भएको छ । मंगलबार स्थगित सचिवालय बैठक स्कुल विभागमा सहमति नजुट्दा बुधबार पनि बस्न सकेन । पार्टीका विभागहरूको जिम्मेवारी तोक्नेगरी मंगलबार बोलाइएको बैठकपूर्व दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मत बाझिएपछि बुधबारसम्म सहमतिमा पुग्ने गरी बैठक सारिएको थियो । बुधबार बिहानैदेखि दुई अध्यक्ष सहमतिका लागि छलफलमा बसेपनि सहमति जुट्न सकेन् ।

सचिवालय बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बैठक स्थगित पछि पनि दुई अध्यक्षले सहमतिको प्रयास जारी राखेका थिए । तत्कालीन एमाले पक्षधरबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र तत्कालीन माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले स्कुल विभागको दाबी गर्दै आएका छन् । बुधबारको दुई अध्यक्षबीचको छलफलमा पनि दुवैले आआफ्नो अडान लिएपछि सहमति जुट्न नसकेको बालुवाटार स्रोतले जनायो । ‘बुधबार लामो समयसम्म दुवै अध्यक्षले सहमतिका लागि छलफल गर्नुभयो,’ बालुटार स्रोतले भन्यो, ‘पार्टीमा सहमतिको माध्यमबाट नै काम गर्ने प्रतिबद्धताअनुसार दुवै अध्यक्ष सक्रिय रूपमा लाग्नुभएको छ ।’

पार्टीका अन्य विभाग तथा भ्रातृ संगठनहरूको नेतृत्वको विषयमा सहमति जुटे पनि स्कुल विभागमा सहमति जुट्न नसक्दा सहमतिको लागि थप दबाब पर्दै आएको छ । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली नौ दिनपछि स्वदेश फर्केर भेटघाट तीव्र पारेका छन् । यसअघि १३ गतेको बैठकमा केन्द्रीय निकायहरूको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यको कार्यविभाजनका निम्ति उनीहरूको रुचिका आधारमा प्राथमिकता सोध्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटीका सबै सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकता सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी गत १३ गते बैठक स्थगित भएको थियो । पार्टीको केन्द्रीय निकायअन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागको टुंगो लाग्न बाँकी छन् । स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन नसक्दा अन्य पार्टीका कामसमेत ओझेलमा परेका छन् । प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने अध्यक्ष दाहाल श्रेष्ठको हकमा छन् । सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्ने पक्षमा पनि अध्यक्ष दाहाल रहेको स्रोतको दाबी छ । यसबारे अध्यक्षद्वयले सचिवालयका अन्य सदस्यसँग पनि छुट्टाछुट्टै छलफल गरी सहमतिको प्रयास गरे ।

स्कुल विभागमा स्थायी कमिटीका अन्य नेताहरूले पनि दाबी गरेका छन् । सचिवालयका एक नेताका अनुसार सचिवालयका नेता भूमिकाविहीन बनेर स्थायी कमिटीका नेतालाई स्कुल विभागको जिम्मेवारी दिने सम्भावना भने कम छ । उनका अनुसार ती नेतालाई स्कुल विभागको उपप्रमुख बनाउनेबारे छलफल भएको छ । अध्यक्षद्वयबीचमा स्कुल विभागमा सहमति जुटे मात्रै बिहीबार बस्ने सचिवालय बैठकले कार्यविभाजनका सबै काम टुंग्याउनेछ । नेकपामा ३३ (नीति प्रतिष्ठानसहित) विभाग छन् । स्कुल विभागबाहेक अन्य विभागमा भने मोटामोटी सहमति जुटिसकेको छ । स्रोतका अनुसार किसान महासंघ, युवा संघ, अनेरास्ववियु, महिला संघ, मजदुर संगठनजस्ता ठूला जनसंगठनको इन्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले सुझाव दिएका छन् ।

(Visited 128 times, 1 visits today)
Loading comments...