सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

जापानमा नेपाली कामदार बल्ल टुंगो लाग्यो परीक्षा मिति र मोडालिटी, नर्स र केयर गिभर पहिलो प्राथमिकतामा

मधुजंग पाण्डे
5 days ago
15/08/2019

काठमाडौं।  निकै लामो प्रयासपछि सरकारले जापान जाने नेपाली कामदारका लागि लिइने भाषा परीक्षाको मिति र मोडालिटीबारे टुंगो लगाएको छ । पहिलो चरणमा नर्स र केयर गिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा आगामी ११ र १२ कात्तिकमा हुने टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार केही समयअघि नेपाल र जापानका प्राविधिक टोलीबीच समझदारी भएअनुसार नेपाली कामदार जापान पठाउने सम्बन्धमा आइपर्ने विविध प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । मन्त्रालयका रोजगार समन्वय महाशाखाका सहसचिव उमेश ढुंगानाले सोही छलफलका आधारमा भाषा परीक्षा र सीप परीक्षणको मिति टुंगो लागेको जानकारी दिए ।
उनले भाषा परीक्षामा उत्तीर्र्ण भएका कामदारको सीप परीक्षण पनि आगामी १९ र २० कात्तिकमा हुने बताए । मन्त्रालयका अनुसार भाषासँगै सीप परीक्षणमा सहभागी भई उत्तीर्ण भएका कामदार वैदेशिक रोजगारीका लागि जापान जान पाउनेछन् । नेपाल र जापान सरकारबीच भएको समझदारीमा पारित मस्यौदाअनुसार कामदारले जापानी भाषा बोल्न र लेख्न सक्ने एन–४ तहको भाषा उत्तीर्र्ण गर्नुपर्ने उल्लेख छ । यसैगरी, कामदारले एकपटक जापानी भाषा परीक्षा उत्तीर्र्ण गरेपछि सो परीक्षाको मान्यता १० वर्षसम्म हुन्छ ।

नेपाली कामदार छनोट तथा भर्ना प्रक्रियाका लागि जापानले प्रो–म्याट्रिक कम्पनीलाई जिम्मा दिने छ । भाषा परीक्षा र सीप परीक्षणका लागि जापानबाट नै प्रतिनिधि टोली आउने मन्त्रालयले जनाएको छ । भाषा परीक्षा र सीप परीक्षण कम्प्युटरका माध्यमबाट लिइनेछ भने भाषा परीक्षा र सीप परीक्षणको नतिजा सहभागी भएको केही समयमै परीक्षार्थीले प्राप्त गर्ने छन् ।
जापानी भाषा परीक्षा र सीप परीक्षण दुवैमा उत्तीर्ण भएका नर्सबाहेकका कामदार पनि केयर गिभरका लागि जापान जान पाउनेछन् । दक्ष नर्सलाई पहिलो चरणमा प्राथमिकतामा राखिएको छ । केयर गिभरका लागि जान चाहाने कामदारले पनि सोहीअनुसारको भाषा परीक्षा र सीप परीक्षण उत्तीर्र्ण गरेपछि जान पाउनेछन् । भाषा परीक्षा र सीप परीक्षण जापानकै टोलीबाट हुने पनि मन्त्रालयले जनाएको छ । जापानले पाँच वर्षको अवधिमा ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापानले नेपालसहित अन्य नौवटा मुलुकसँग समझदारीका लागि प्रक्रिया अघि बढाएको छ ।

 

समझदारीपत्रमा जापानी कानुनबमोजिम नेपाली कामदारको रोजगारीका सेवा, सुविधा एवं सर्तमा जापानी नागरिकसरह समान व्यवहार हुने व्यवस्था सुनिश्चित गरिएको छ । नेपाली कामदारले प्राप्त गर्ने पारिश्रमिक र जापानी नागरिकले प्राप्त गर्ने पारिश्रमिक सरह वा सो भन्दा बढी हुनेछ

 

जापानले पहिलोपटक ‘कामदार भिसा’मा सोझै नेपालबाट कामदार लैजाने भएपछि अब यस समझदारीअनुरूप दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन् । ‘जापान जाने नेपाली कामदारले यसअघिजस्तो मेनपावर कम्पनी पनि धाइराख्नुपर्ने छैन । नेपालले जापानसँग कामदार आपूर्ति प्रक्रियामा मेनपावरलगायत अन्य कुनै बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शून्य लागतमै कामदार लैजाने व्यवस्था गर्न अनुरोध गरेको छ । आगामी अप्रिलबाटै कामदार लैजाने प्रक्रियाका लागि तयारी सुरु हुने सो मन्त्रालयले जनाएको छ । कति शुल्क लाग्छ ?
जापान र नेपालका अधिकारीबीच प्रारम्भिक छलफलमा भाषा परीक्षाका लागि २ हजार ५ सय जापानी येन, सीप परीक्षणका लागि १ हजार येन र नर्सिङ केयर गिभर कामका लागि १ हजार येन गरी कुल प्रति परीक्षार्थी ४ हजार ५ सय येन लाग्ने बताइएको छ । भाषा परीक्षा र सीप परीक्षणका लागि नेपालका तर्फबाट गर्नुपर्ने सहजीकरणका सम्बन्धमा नेपाल सरकारले जापानलाई प्रश्न पठाएको र त्यसको जवाफ आइनसकेको मन्त्रालयले जनाएको छ । नेपाली कामदार रोजगारीका लागि जापान जाँदा लाग्ने शुल्कका सम्बन्धमा भने नेपाल र जापानबीच गत ११ चैतमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को मापदण्डअनुसार कामदार आपूर्तिबारे सहकार्यको समझदारी भएको थियो । सोही समझदारीअनुसार कामदारको सम्पूर्ण लागत शुल्क रोजगारदाताले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल सरकार र जापान सरकारबीच निश्चित दक्ष नेपाली कामदार पठाउनेसम्बन्धी सहयोग र समझदारीपत्रमा भएको हस्ताक्षरपछि औपचारिक रूपमा नेपाली कामदार जापान जाने बाटो खुलेको हो । श्रमिकका परिवारलाई समेत जापान लैजान सकिने प्रावधान रहेको छ । सो समझदारीपत्रमा जापानी कानुनबमोजिम नेपाली कामदारको रोजगारीका सेवासुविधा एवं सर्तहरूमा जापानी नागरिकसरह समान व्यवहार हुने व्यवस्था सुनिश्चित गरिएको छ । नेपाली कामदारले प्राप्त गर्ने परिश्रमिक र जापानी नागरिकले प्राप्त गर्ने पारिश्रमिक सरह वा सोभन्दा बढी हुनेछ ।

पाँच वर्षमा ६० हजार नर्स लैजाने

जापानले पाँच वर्षको अवधिमा विभिन्न १४ क्षेत्रमा ३ लाख ४० हजार बढी विदेशी कामदार लैजाने नीति अघि सारेको छ । सोही नीतिअनुसार नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने उल्लेख गरेको छ । नेपालबाट मात्रै नर्सिङ क्षेत्रमा कति कामदार लैजाने भन्नेबारे अझै यकिन भइसकेको छैन । पहिलो चरणमा नर्सिङ केयरमा मात्रै कामदार लैजाने भए पनि त्यसपछि कृषि, उद्योग, पर्यटन, होटल, रेस्टुरेन्टलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजाने बताइएको छ । जापानले विशिष्ट दक्ष कामदारमध्येबाट पहिलोमा सम्बन्धित काममा दक्षता भएका र उच्च तहको सीप भएका कामदार छनोट गर्ने दुई मुलुकबीच भएको समझदारीमा उल्लेख छ । यसअघि नेपाली कामदार विभिन्न मेनपावर तथा कन्सल्टेन्सीमार्फत रोजगारीका लागि जापान पुग्ने गरेका थिए ।

जापानमा हाल नेपालीले मासिक न्यूनतम ३ देखि ४ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । पछिल्लो समय खाडी राष्ट्रहरूमा देखिएको आर्थिक मन्दीका कारण त्यहाँको रोजगार कटौती हुँदै जान थालेपछि सरकारले खाडी मुलुकको विकल्पमा नयाँ रोजगारीको गन्तव्य खोज्ने क्रममा जापानसँग दुईपक्षीय श्रम समझदारीमा हस्ताक्षर गरेको हो ।

(Visited 170 times, 1 visits today)
Loading comments...