सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

मिडिया काउन्सिल विधेयकमाथि बहस

राजधानी समाचारदाता
5 days ago
15/08/2019

काठमाडौं। नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा प्रस्तुत नेपाल मिडिया काउन्सिल विधेयकलगायत सञ्चार ऐनबारे बहस गरेको छ ।  राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, सत्ता–प्रतिपक्षीय नेता, प्रमुख सचेतक, सम्पादक र महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीबीच बहस चलेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक सम्बन्धमा सञ्चार क्षेत्रबाट विरोध भएका कारण नेपाल पत्रकार महासंघ र दलबीच संशोधन गरेर अघि बढ्ने सहमति भएको बताए । ‘महासंघ साझा हो भन्ने मानेरै छलफल जारी राखेका छौं,’ उनले भने ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले मिडिया काउन्सिल विधेयकबारे सरोकारवालाको सुझाव छलफलमा लैजाने सुनाइन् । संविधानको मूल मर्मविपरित कुनै पनि कानुन नबन्ने उनको दाबी छ । नेकपा नेता दिनानाथ शर्माले विधेयक स्वायत्ततामा दायाँबायाँ नहुने भन्दै गठन प्रक्रियामा सुधार हुने आशा व्यक्त गरे ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष कांग्रेस नेता सुरेन्द्र पाण्डेले मिडियामैत्री कानुन बन्ने विश्वास व्यक्त गरे ।
नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले विधेयकमा महासंघले दिएको सुझावका आधारमा संशोधन गरिने प्रतिबद्धता जनाए ।

कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंले मुलुकमा अप्ठ्यारो स्थिति आउँदा प्रेसले नै प्रजातन्त्र र गणतन्त्रका लागि आवाज उठाएको भन्दै त्यसलाई नियन्त्रण गर्नु नहुनेमा सबैले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिइन् । पत्रकार महासंघ अध्यक्ष गोविन्द आचार्यले विधेयकलगायत सञ्चारसम्बन्धी कानुन अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य मान्यताका अधारमा हुनुपर्नेमा जोड दिए ।
नेकपा सांसद तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले पत्रकारितासम्बन्धी कुनै पनि कानुन संविधानविरुद्ध नबन्ने ठोकुवा गरे । महासंघ पूर्वसभापति तारानाथ दाहालले कानुन निर्माण प्रक्रिया पारदर्शी नभएको भन्दै सरकारबाट विधेयक तर्जुमा गर्ने काम गोप्य रूपमा भइरहेको उल्लेख गरे । महासंघ सल्लाहकार तीर्थ कोइरालाले गाउँ–गाउँमा कानुन बनिरहेको बताउ“दै पत्रकारितालाई असुरक्षा महसुस हुने अवस्था रहेको जिकिर गरेका थिए ।

(Visited 24 times, 1 visits today)
Loading comments...