बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप, सुखद सुरुवातको व्यग्रता

दिल तामाङ
1 month ago
19/08/2019

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले घरेलु मैदानमा सोमबारदेखि आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको तयारीका लागि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्यो ।

त्यसअघि नेपाली टोलीले भारतीय टोलीसँग तीन मैत्रीपूर्ण खेल खेल्ने तय भए पनि अन्तिम समयमा रद्द हुन पुगेको थियो । यो मैत्रीपूर्ण खेललाई नेदरल्यान्ड्सका प्रशिक्षक हान एबिङले क्षमता मापन गर्ने खेलका रूपमा लिइएको थियो । अन्तिम समयमा पाएको मैत्रीपूर्ण खेलले पनि नेपाली टोलीको कमजोरी केलाउने मौका पायो । अफगानिस्तानमाथिको दुवै खेलमा ३–२ को जित निकाल्दा खेलाडीहरूले उच्च प्रदर्शन गरेका थिए ।

अब नेपाली टोलीको वास्तविक परीक्षा सोमबार हुनेछ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक हुन लागेको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा समूह

‘ए’ मा रहेको घरेलु टोली नेपालले सोमबार घरेलु मैदानमा हजारौं समर्थकमाँझ किर्गिस्तानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्दै छ । खेल दिउँसो ४ बजेपछि सैनिक शारीरिक तथा खेलकुद विकास केन्द्रको कभर्ड हल लगनखेलमा हुनेछ । सोमबार नै समूह ‘बी’ को तुर्केमिनिस्तान र अफगानिस्तानबीच बिहान १० बजे तथा बंगलादेश र उज्वेकिस्तानबीच साँझ ६ बजे खेल हुनेछ ।

सेन्ट्रल जोनको एकपटकको च्याम्पियन किर्गिस्तान नेपालभन्दा माथिल्लो स्तरको टोली हो । तर, घरेलु समर्थकको साथ पाउने टोली किर्गिस्तानलाई पराजित गर्दै सेन्ट्रल जोनमा सुखद सुरुवात गर्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । अन्तर्राष्ट्रिय सहभागिताको ४० वर्षे इतिहासमा नेपाली भलिबलले अहिलेसम्म उल्लेख्य सफलताको स्वाद चाख्न पाएको छैन । सन् १९७८ को एसियाली खेलकुदमा पहिलोपल्ट अन्तर्राष्ट्रिय सहभागिता जनाएयता दुई वर्षअघि एभीसी सेन्ट्रल जोनमा जितेको कांस्य पदक नेपालको अहिलेसम्मको ठूलो सफलता हो । यसकारण, नेपाली भलिबलका लागि घरेलु भूमिमा ठूलो सफलताका लागि यो राम्रो अवसर हुन सक्छ । किर्गिस्तानसँग खेलेका पाँचमध्ये ४ खेल हारेको छ । पहिलो संस्करणमा नेपालले किर्गिस्तानलाई ३–१ को सेटमा जित निकालेको थियो । त्यसयता नेपालले किर्गिस्तानलाई हराउन सकेको छैन । सेन्ट्रल जोनमा माल्दिभ्सविरुद्ध ३ जित र २ हारको नतिजा आत्मसात गरेको थियो ।

अफगानिस्तानविरुद्धको दुई मैत्रीपूर्ण खेलमा टोलीले जुझारु प्रदर्शन गरेका छन् । यसबाट टोलीका डच प्रशिक्षक सन्तुष्ट छन् । तर, किर्गिस्तानविरुद्ध जित निकाल्न अझै मेहनत गर्नुपर्ने प्रशिक्षक एबिङले बताए । ‘मसँग अहिले १४ उत्कृष्ट खेलाडी छन् । हामीमा क्षमता छ । त्यही क्षमता किर्गिस्तानविरुद्ध देखाउनेछौं,’ प्रशिक्षक एबिङले भने, ‘किर्गिस्तानको केही भिडियो हेरेको छु । भिडियो हेरेर नै रणनीति बनाउनेछु । हरेक खेल शून्यबाटै सुरु हुन्छ । खेल बराबरीकै हुनेछ । म ९ हप्तादेखि यहीँ छ । मैले केही राम्रो गर्ने प्रयास गरेको छु । आशा छ, राम्रै हुनेछ ।’

उनले कप्तान इम रानाले शनिबारबाट प्रशिक्षणमा जोडिएको र उनी तयार रहने बताए । उनले एकपछि अर्को खेलमा सकारात्मक नतिजासहित प्रतियोगितामा उच्चतम सफलताको खाका कोर्ने बताए ।

 

 

नेपालको खेल

किर्गिस्तानविरुद्ध सोमबार अपरान्ह ४ बजे

माल्दिभ्सविरुद्ध बुधबार साँझ ५ बजे

 

‘हेड टु हेड’

पहिलो सेन्ट्रल जोन ३–१ को सेटमा जित

दोस्रो सेन्ट्रल जोन १–३ को सेटमा पराजित

तेस्रो सेन्ट्रल जोन १–३ को सेटमा पराजित

तेस्रो सेन्ट्रल जोन ०–३ को सेटमा पराजित

चौथो सेन्ट्रल जोन ०–३ को सेटमा पराजित

एसियन गेम्समा ३–० वाक ओभरको जित

 

किर्गिस्तानविरुद्धको प्रदर्शन सकारात्मक रहे नेपालका लागि माल्दिभ्सविरुद्धको दोस्रो खेल तुलनात्मक रूपमा सहज हुनेछ  किनभने यही प्रतियोगितामा नेपालले माल्दिभ्सलाई सबैभन्दा धेरैपटक पराजित गर्न सफल भएको छ ।

टोलीका कप्तान इमबहादर रानाले नयाँ प्रशिक्षक आएपछि हामीले परम्परागत समस्याको रूपमा रहेको रिसिभ र ब्लकमा धेरै सुधा गरेका कारण च्याम्पियनसिपलाई सुखद बनाउने योजना रहेको बताए ।

‘प्रतियोगितामा लगभग एकै स्तरका टिम छन् । हामीले सबैसँग खेलेका छौं, बलियो भनिएका टिमलाई पनि कडा टक्कर दिइसकेका छौं । यो एक ऐतिहासिक अवसर हुन सक्छ,’ कप्तान इमले भने । अफगानिस्ताननविरुद्धको शृंखला जित्दा चोट बोकेका कप्तान इम र धन प्रशिक्षणमा फर्किसकेका छन् । च्याम्पियनसिपमा नेपालसहित दुईपल्टको विजेता तुर्कमेनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्स सहभागी छन् ।

 

 

 

 

 

 

(Visited 18 times, 1 visits today)
Loading comments...