बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

कोशी बाँध फुटको ११ बर्ष : अझै राहतकै पर्खाइमा कोशी पीडित

विवेक विवश रेग्मी
1 month ago
19/08/2019

इटहरी । २०६५ भदौ २ गते कोशी नदीको बाँध फुट्यो । कोशी नदीको बाँध फुटेपछि हजारौँ मानिस बिस्थापित भए भने हजारौँ खेतीयोग्य जमीन बगरमा परिणत भयो । सँगै धनजनको क्षती भयो । तर, कोशीपीडित अझै राहतकै पर्खाइमा छन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिएकै दिन सुनसरी, सप्तरी र उदयपुरलाई छोएर बगेको सप्तकोशीको बाँध फुट्दा धेरै जनधनको क्षती भयो ।

बाँधका कारण उक्त समय ३७ सय विगाहा खेतीयोग्य जमीन बगरमा परिणत भएको थियो । अझै २० विगाहा जमीनको क्षतीपूर्ति नपाएको पीडितको गुनासो रहेको छ । २० को दशकमा कोशी बग्ने भू–भागमा अहिले श्रीलंका टापुमा बासिन्दा बस्दै आएका छन् । सो समयमा बाँध फुटेका कारण अहिले श्रीलंका टापुमा बस्ती बस्दै आएको हो । हालको बराहक्षेत्र ६ र ९ नम्बर वडामा पर्ने उक्त टापुमा कोशीपीडित बस्दै आएका छन् ।

स्थानीय सत्यनारायण माझीले आँफूहरु कोशीपीडित बन्नुपरेको भएपनि सरकारको राहत पर्खाइमा अझै रहेको बताए । उनले भने, ‘कोशी किनारमा बस्नुपरेको छ, कुनबेला बाढी आएर बगाएर लैजान्छ टुंगो छैन, त्यो समय आएको बाढीको पीडामा मल्हम लगाउन अझै सकिएको छैन ।’ उनले आँफूहरु राहतको पर्खाइमा रहेको सुनाए । बाढीकै कारण माझी समूदायको पुख्र्यौली पेशा पनि संकटमा परेको उनले सुनाए । माझीका अनुसार बाँध फुटेको समयमा सरकारी स्तरबाट कुनै पनि सहयोग गाउँमा नआएको भएपनि माझी समूदायले डुंगा लिएर उद्धार कार्यमा जुटेको स्मरण गरे ।

बाढीमा आफ्नी श्रीमती गुमाएका स्थानीय मिसर यादव भन्छन्, ‘दिनरात पानीमै बास भएपनि त्यो समय राहतको पर्खाइमा महिनौँ बित्यो ।’ उनले आँफूहरु अहिले पनि राहतको पर्खाइमा रहेको बताउँदै भने, ‘अहिले पनि बस्ने ठाउँको अभाव रहेको छ, जीवन संकटमा गुज्रिरहेको छ ।’ उनले त्यो दिन स्मरण गर्दै महिनौँ दिनसम्म पानी नघटेका कारण आँफूहरु थप पीडामा रहेको र राज्यबाट उचित राहत नहुँदा झनै पीडामा रहेको सुनाए ।

२०६५ भदौ २ गते फुटेको बाँधका कारण ७ हजार ५ सय ६३ घर परिवारका ४२ हजार ७ सय ६५ जना बिस्थापित भएका थिए भने तत्कालको श्रीपुर, हरिपुर र पश्चिम कुशाहा प्रत्यक्ष प्रभाव परेको थियो । उता भारतको विहार राज्यको सुपौल, अररिया, सहरसा, मधेपुरा, खगड्यिा पूर्णिया लगायतका बासिन्दा प्रत्यक्ष प्रभावमा परेका थिए । बाँध फुट्दा १२९८०० प्रति सेकेन्ड पानीको बहाव रहेको थियो ।

(Visited 46 times, 1 visits today)
Loading comments...