बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

७० जिल्लामा गुठी जग्गा अतिक्रमण

केशवप्रसाद पाण्डे
4 weeks ago
22/08/2019

 

काठमाडौं। देशभर गुठी जग्गाको अतिक्रमण बढेको छ । गुठी संस्थानका ७० जिल्लामा जग्गा छन् । अधिकांश जिल्लाका गुठी जग्गा अतिक्रमणमा परेका छन् । तर, कति अतिक्रमण भयो भन्ने तथ्यांक गुठी संस्थानसँग छैन ।
संस्थानका प्रवक्ता सरोज थपलियाले गुठीको जग्गाको यथार्थ विवरण नभएको स्वीकार गर्छन् । ‘संस्थानसँग एकीकृत र अधावधिक लागत नहुँदा कति जग्गा अतिक्रमणमा परे भन्ने यथार्थ विवरण पत्ता लगाउन सकिएको छैन,’ उनले भने, ‘तर जताततै गुठीका जग्गा अतिक्रमण भएको छ ।’
अधिकांश गुठी जग्गा अतिक्रमणमा पर्दासमेत सम्बन्धित निकायले अतिक्रमण हटाउन कुनै पहल गरेको पाइँदैन ।
सम्बन्धित निकाय मौन रहँदा अतिक्रमण हट्न सकेको छैन । अतिक्रमण रोक्न राजनीतिक दल र पहुँचवाला नै मुख्य चुनौतीका रूपमा रहने गरेको सरोकारवाला बताउँछन् ।

संस्थानले सामान्य प्रकृतिका अतिक्रमण हटाउन समस्या नरहे पनि जटिल प्रकृतिका अतिक्रमण हटाउन विभिन्न समस्या र चुनौती देखिएको जनाएको छ । संस्थानका प्रवक्ता थपलियाले भने, ‘जटिल प्रकृतिका जग्गाको अतिक्रमण हटाउन संस्थानलाई विभिन्न समस्या र चुनौतीको सामना गर्नुपरेको छ ।’ ‘सामान्य अतिक्रमण हटाउन संस्थानले नै पहल गर्ने गरेको छ । तर, जटिल प्रकृतिका अतिक्रमण हटाउन संस्थानको एक्लो पहल र प्रयासले मात्र सम्भव देखिएको छैन,’ प्रवक्ता थपलियाले भने । उनले यस्ता अतिक्रमण हटाउन संस्थानले भूमि व्यवस्था मन्त्रालयमार्फत गृह मन्त्रालयसँग समन्वय र पहल गर्ने गरेको बताए । महालेखा परीक्षकको ५६आंै प्रतिवेदनले पनि अधिकांश जिल्लामा रहेका गुठी जग्गा अतिक्रमणमा परेको औंल्याएको छ । प्रतिवेदनले बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्अन्तर्गतका १ हजार १५७ रोपनी, दाङको नारायणपुरको १५७ रोपनी, काठमाडौंका विभिन्न स्थानमा रहेको गुठी जग्गा अतिक्रमणमा परेको औंल्याएको छ । तर, जग्गाको अतिक्रमण हटाउन भने कुनै पहल हुन सकेको छैन । अतिक्रमण हटाउन नसक्नुमा राजनीतिक दल र पहुँचवाला व्यक्ति नै मुख्य चुनौतीका रूपमा रहेको सरोकारवाला बताउँछन् । राजनीतिक आड र आश्वासनका कारण अतिक्रमण बढेको उनीहरू बताउँछन् ।

 

 

– अतिक्रमण रोक्न राजनीतिक दल र पहुँचवाला मुख्य चुनौती
– एकीकृत र अद्यावधिक लागत नहुँदा अतिक्रमित जग्गाको यथार्थ विवरण अभाव

 

 

प्रतिवेदनमा काठमाडौं महानगरपालिका–७ गुह्येश्वरीस्थित गुह्येश्वरी सिन्दूर चन्दन तैनाथी गुठीको कित्ता नम्बर ८४ अन्तर्गत चार रोपनी १० आना जग्गा अतिक्रमणमा परेको छ । सो अतिक्रमण हटाउन संस्थानले वर्षैंदेखि पटकपटक प्रयास गर्दासमेत हटाउन सकेको छैन । त्यस्तै, काठमाडौं–७ भण्डारेश्वर गुठीको कित्ता नम्बर ९ र १० गरी नौ रोपनी जग्गा अतिक्रमणमा परेको छ । त्यस्तै, टेकुको कित्ता नम्बर ४१ को टेकु जगन्नाथ मन्दिरको गुठी तैनाथी जग्गा पनि अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ । यी जग्गामा स्थानीयले संस्थानसँग स्वीकृति नै नलिई आफूखुसी घर बनाउने तथा व्यावसायिक प्रयोजनका लागि उपयोग गर्दै आएका छन् । यी जग्गाको अतिक्रमण हटाउन पटकपटक पहल गर्दासमेत अतिक्रमण हट्न नसकेको संस्थानले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पछिल्लो समय गुठी जग्गा अतिक्रमणका घटना सार्वजनिक भएसँगै अतिक्रमण रोक्न आक्रामक पहल थालिएको जनाएको छ । मन्त्रालयले पछिल्लो समय संस्थानका जग्गा तथा सम्पूर्ण सम्पत्तिको विवरण माग गरेको जनाएको छ । यससँगै कागजपत्र र विवरण सुरक्षित राख्न निर्देशन दिएको बताएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले भने ‘गुठीका सम्पत्तिको सुरक्षाको जिम्मा संस्थानलाई छ । मन्त्रालयले यसमा आवश्यक सहयोग गरिरहेको छ । पछिल्लो समय अतिक्रमित जग्गाको विवरणसमेत माग गरेर अतिक्रमण हटाउने तयारीमा छौं ।’
यता उच्चस्तरीय भूमि आयोगमा समेत गुठी जग्गा अतिक्रमणसम्बन्धी उजुरी परेका छन् । आयोगका अध्यक्ष मोहनरमण भट्टराईका अनुसार आयोगमा आएका उजुरीका सम्बन्धमा छानबिन भइरहेको छ । ‘आयोग परेको उजुरीको छानबिन गरी सत्यतथ्य पत्ता लगाउनेछ ।’ यसकै आधारमा सरकारलाई अतिक्रमण हटाउन मद्दत पुग्ने उनको भनाइ छ ।

(Visited 35 times, 1 visits today)
Loading comments...