बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

स्वास्थ्यमा २६ वर्षदेखि संगठन तथा व्यवस्थापन सर्वेक्षण भएन

प्रशान्त वली
4 weeks ago
22/08/2019

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत विगत २६ वर्षदेखि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति,अस्पताललगायतको एकीकृत सर्वेक्षण नहुँदा बिरामी र सेवाग्राही मारमा परेका छन् । समयसमयमा केही अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण ( ओ एन्ड एम ) गरिए पनि एकीकृत तवरबाट हुन सकेको छैन ।  नेपालको निजामती सेवामा संगठन तथा जनशक्ति विस्तार तथा संकुचन गर्दा निश्चित आधारसहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने व्यवस्था निजामती सेवा ऐन, २०४९ ले गरेको छ ।

जनसंख्या बढ्दै जाँदा पनि पुरानै जनशक्तिले स्वास्थ्य क्षेत्र हाँकिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ३१ हजार ५९१ दरबन्दी कायम रहेको छ । जसअन्तर्गत ४ हजार जनशक्ति रिक्त रहेका छन् ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण नहुँदा अस्पतालको कार्य विश्लेषण हुन सक्दैन । सर्भेले कति जनशक्ति आवश्यक छ, केका लागि जनशक्ति, अस्पताल बेडको स्तरोन्नति, कर्मचारीलगायतको तथ्याकंका लागि मद्दत पु¥याउँछ ।

निजामती सेवा ऐनको दफा ६ ‘क’ले नयाँ दरबन्दी सिर्जना गर्दा वा तत्काल कायम रहेको संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्दा वा हेरफेर गर्दा सम्बन्धित मन्त्रालयले कार्यक्रम, कार्यबोझ, कार्यप्रकृति तथा दरबन्दी थप गर्नुपर्ने र सोको औचित्य र उपलब्ध मानव स्रोतसमेतका आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने प्रावधान छ ।
२०५० को दशकमा नेपालमा स्वास्थ्य क्षेत्रमा संगठन तथा व्यवस्थापन सर्भे गरिएको थियो । सो समयमा २०४८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या १ करोड ८४ लाख ९१ हजार ९७ थियो । तर, अहिले नेपालको जनसंख्या ३ करोडको हाराहारीमा पुगेकोे छ । यसरी हेर्दा १ करोड १५ लाख ८ हजार जनसंख्या बढेको देखिन्छ । अहिले २०५० सालमा भएको जनशक्तिले स्वास्थ्य क्षेत्र सञ्चालन भइरहेको छ ।

–जनशक्ति अभाव, सेवामा समस्या

आवश्यक पर्ने जनशक्ति, अस्पताललगायतको सर्वेक्षण नगर्दा त्यसको प्रत्यक्ष असर बिरामी र सेवाग्राहीलाई परेको छ । संगठन तथा व्यवस्थापन सर्भे नहुँदा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने विशिष्टीकृत जनशक्तिको अभाव खड्किएको छ । विगत १० वर्षदेखि देशकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताललगायतको संगठन तथा व्यवस्थापन सर्भे हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पुरानै जनशक्तिले काम गर्नुपरेको भन्दै सरकारले संगठन तथा व्यवस्थापन सर्भे गर्ने तयारी थालेको बताए । उनले भने, ‘अहिले पुरानै जनशक्तिले काम गरिरहेको छ । ओएनएम सर्भे गर्ने तयारी गरेका छौं ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले ओएनएम सर्भे गर्ने तयारी भइरहेको बताए । उनले भने, पुनर्संरचना भएसँगै समग्र रूपमा संगठन तथा व्यवस्थापन सर्भे भएको छैन । तर, कहिलेकाहीँ अस्पतालहरूको ओएनएम भने हुने गरेको छ ।’

समायोजन प्रक्रिया अझै अन्योल

स्वास्थ्य मन्त्रालयअन्तर्गत समायोजन प्रक्रिया अझै टुगिंएको छैन । अझै ७ हजार कर्मचारीको पत्र पठाउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५४८, प्रदेश २ मा ५०६, प्रदेश ३ मा ४३९, गण्डकी प्रदेशमा ४४४, प्रदेश ५ मा ८७२, सुदूरपश्चिम प्रदेशमा ३६७, कर्णाली प्रदेशमा ३८७ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । यस्तै, संघमा २ हजार ६६१ र स्थानीय तहमा २५ हजार ६९६ कर्मचारीको दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
समायोजनकै कारण अधिकांश ग्रामीण तहमा रहेका अस्पतालमा जनशक्तिको अभाव देखिएको छ । मन्त्रालयले अहिलेसम्म २२ हजार कर्मचारीको समायोजनको काम सकिएको बताएको छ ।

(Visited 27 times, 1 visits today)
Loading comments...