बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

समलिङ्गी महिलाले श्रीमानले जवरजस्तीकरणी गरेको भन्दै उजुरी गरेपछि…

दीपक ओली
4 weeks ago
23/08/2019

धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालयमा साउन २१ गते एउटा जाहेरी पर्यो । जाहेरी दर्ता नम्बर थियो ५६ । त्यो जाहेरी महिला वा पुरुषको भने होइन । त्यो जाहेरी थियो समलिङ्गी महिलाको । जाहेरीमा उल्लेख छ ‘श्रीमानले मलाई जवरजस्ती करणी गरे ।’

शुक्रबार डडेल्धुरा बस्ने मनिका (नाम परिवर्तन) समलिङ्गी महिलाले धनगढीमा पत्रकार सम्मेलन गर्दै भनिन् ‘हाम्रो विवाह भएको अढाई वर्ष भयो । एक वर्षसम्म हाम्रो सम्बन्ध राम्रै थियो । त्यस यता श्रीमानले मेरो ईच्छा विपरित शाररीरिक सम्पर्क गर्ने, कुटपिट गर्ने लगायतका गतिविधी गर्न लागे ।’ उनले आफुले श्रीमान लागुपदार्थ सेवनमा फसेपछि यस्तो क्रियाकलाप गर्न लागेको बताइन् ।

‘दुई÷तीन पटक श्रीमानले यस्तो गतिविधी गर्दा कहिकसैलाई गुहार मागिन तर पछि पनि श्रीमानले त्यही गतिविधी गर्न लागेपछि बाँध्य भएर प्रहरीमा उजुरी दिएकी हुँ,’ उनले भनिन् ।

‘हाम्रो समाजमा जवरजस्ती करणी भन्ने वित्तिकै महिलामाथि मात्र हुन्छ भन्ने मानसिकता छ’ उनले उजुरी दर्ता गराउन जाँदाको त्यो क्षणलाई सम्झदै भनिन्– ‘जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीलेनै प्रतिक्रिया दियो की महिलामाथि जवरजस्ती करणी हुन सक्छ तर समलिङ्गीलाई हुन सक्दैन भन्दै पहिलो पटक जाहेरी लिएनन । पछि प्रमुख जिल्ला अधिकारीसमक्ष कुरा पुगेपछि जाहेरी दर्ता भयो ।’

उनले प्रहरीलाई जाहेरीका आधारमा प्रमाणहरु समेत बुझाएको बताइन् ।

कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले समलिङ्गी महिलाले आफनो श्रीमानविरुद्ध जवरजस्तीकरणीको जाहेरी दिएको र त्यसको अनुसन्धान भइरहेको जानकारी दिए । प्रवक्ता बस्नेतले उनको श्रीमानको खोजीकार्य भइरहेको र उनी नेपाल भन्दाबाहिर गएको आशंका रहेको बताए ।

त्यस्तै, ठकुरीले कैलाली जिल्ला अदालतमा साउन २८ गते अंशबण्डा मुद्दा दर्ता गराएकी छन् । उनले भनिन्– ‘सरकारले छोरीले अंश पाउने व्यवस्था गर्यो तर, हामी समलिङ्गी व्यक्तिहरुले अंश पाउने व्यवस्था गर्न सकेको छैन् ।’ उनले आफनो सासु, ससुरा र श्रीमानविरुद्ध अंशसम्बन्धी जाहेरी दर्ता गराएको बताइन् ।

नेपालको संविधानले समलिङ्गी तथा तेस्रो लिङ्गीलाई नागरिकता र पासपोर्टमा लिङ्गमा अन्य उल्लेख गरेर प्रदान गर्ने तथा विवाह गर्न पाउने अधिकारको व्यवस्था गरेको छ ।

मनिकाले भनिन्– ‘समलिङ्गी व्यक्तिहरु पनि जवरजस्ती करणीमा पर्छन र राज्यले त्यससम्बन्धी कानुनी व्यवस्था गर्नुपर्छ भने समलिङ्गी व्यक्तिहरुलाई पनि अंश दिने व्यवस्था गर्नुपर्छ ।’

(Visited 1,323 times, 1 visits today)
Loading comments...