बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

रोबर्ट मुगाबेको उत्थान, पतन र गुमनाम अवसान

केशरमणि कटुवाल
2 weeks ago
07/09/2019

 

केशरमणि कटुवाल

भनिन्छ, समय बलवान् हुन्छ । कुनै समयमा जिम्बावे, त्यहाँको सत्ता र रोबर्ट मुगाबेलाई एक अर्काको परिपूरकका रूपमा हेर्ने गरिन्थ्यो । उनी आफैं भन्थे, ‘मलाई भगवानले मात्रै हटाउन सक्छ ।’ तर, समय यस्तो पनि आयो, जिम्बावेको सत्तामा ३७ वर्ष राज गरेका मुगाबे आफ्नै पार्टी र आफैंले निर्माण गरेको सेनाबाट अपमानपूर्वक हटाइए । अब उनी भौतिक रूपमा नै संसारबाट बिदा भएका छन् । स्वतन्त्र जिम्बावेका पहिलो नेता रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा सिंगापुरमा उपचारका क्रममा निधन भएको हो । उनी सन् १९८० को दशकमा जिम्बावे ब्रिटिसबाट स्वतन्त्र भएपछि पहिले प्रधानमन्त्री र सन् १९८७ मा प्रधानमन्त्रीको पद समाप्त पारेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गरी आफू राष्ट्रपति बनेका थिए । लामो समयदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि सिंगापुरमा उपचार गराइरहेका मुगाबेको शुक्रबार निधन भएको हो ।
जिम्बावेमा लामो समय शासन गरेका मुगाबे आफ्नो शासनको अन्तिमतिर आफ्नोभन्दा आधा उमेरकी श्रीमती ग्रेसी मुगाबेलाई उत्तराधिकारी बनाउन तत्कालीन उपराष्ट्रपति इमर्सन मानागाग्वालाई बर्खास्त गरेपछि विवादमा तानिए र सन् २०१७ आफैं सैनिक ‘कु’मार्फत तीन दशकभन्दा लामो शासनसत्ताबाट बाहिरिन बाध्य भए । मुगाबेको जन्म २१ फ्रेब्रुअरी १९२४ मा त्यसबेलाको रोडेसियामा भएको हो । सन् १९६४ मा रोडेसियाई सरकारको आलोचना गरेका कारण मुगाबे एक दशक लामो जेलमा बस्नुपरेको थियो ।

को थिए रोबर्ट मुगाबे ?

लामो समयसम्म रोबर्ट मुगाबे र जिम्बाबे एक अर्काको पर्याय बने । केही मानिसका लागि त मुगाबे तमाम विवादका बाबजुद एक हिरोको रूपमा स्थापित भए र देशलाई उपनिवेशबाट मुक्त बनाएर स्वतन्त्रता दिलाए । यहाँसम्मकी उनलाई सत्ताबाट हटाउनेहरूले पनि मुगाबेलाई भन्दा बढी उनकी पत्नी ग्रेसी मुगाबे र आसपासमा रहनेहरूलाई आपराधिक क्रियाकलापमा सामेल रहेको आरोप लगाए । तर, सिंगो परिणामको जिम्मेवार सत्तालोलुप मुगाबेलाई सैनिक ‘कु’ को समयमा पनि सुरक्षित रूपमा राखियो, उनीमाथि कुनै अवाञ्छित आरोपहरू लगाइएन ।
यो उनले जिम्बावेको स्वतन्त्रता, त्यहाँको शिक्षा प्रणाली र गरिब जनताका लागि निरन्तर गरेको संघर्षमा खेलेको भूमिकाको सम्मान थियो । तर उनका आलोचकको संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएको थियो । उनीलाई सत्तामा रहन हरेक तिकडम अपनाउने तानशाहको आरोप लगाउनेको कमी थिएन । विरोधीहरू भन्छन्, ‘उनले आफ्नो कुर्सी बचाउनका लागि पुरै देशलाई नै दाउमा हालिदिए ।’

सन् २००८ को चुनावअघि मुगाबेले भनेका थिए, ‘यदि चुनाव हारियो भने राजनीतिबाट बिदा लिनुपर्छ ।’ तर, उनी विपक्षी नेता मोर्गन सानगिराईसँग पराजित भए । त्यसपछि उनले आफ्नो बयान फेरे र भने, ‘मलाई भगवनाले मात्रै हटाउन सक्छ ।’ मुगाबेको वास्तविक योगदानलाई सम्झिनका लागि जिम्बाबेको स्वतन्त्रताका लागि सन् १९७० को दशकमा चलेको छापामार युद्धतर्फ फर्किनुपर्छ । ३७ वर्ष देशको सत्तामा रहनुका बाबजुद मुगाबेको संसारप्रतिको दृष्टिकोण सन् १९७० को जस्तै थियो । उनले पटक–पटक आफ्नो नेतृत्वमा रहेको सत्तारुढ पार्टी जानु–पीएफ अझै पनि पुँजीवाद र उपनिवेशवादसँग लडिरहेको बताउने गरेका थिए । मुगाबेले आफ्ना हरेक आलोचकलाई गद्दार र पैसामा बिकेको आरोप लगाइदिन्थे । यस्तो आरोप छापामार युद्धका समयमा आलोचकमाथि लगाउने गरिन्थ्यो ।
सन् २००० मा उनले आफ्नो झन्डै दुई दशक लामो सत्ता राजनीतिक यात्रामा शक्तिशाली विपक्षको सामना गरे । यो चुनौतीसँग लड्नका लागि उनले अफ्रिकामा बलियो राजनीतिक नियन्त्रणका लागि प्रयोग गरे । अर्थव्यवस्थाको मेरुदण्डका रूपमा मानिने गोरा जातिको फार्महरूलाई सरकारी कब्जामा थिए । यो एक लोकप्रिय कदम बन्न पुग्यो । उनी सत्तामा त रहिरहन सफल भए तर अर्थव्यवस्था लिकभन्दा बाहिर गयो ।

उनले जिम्बावेको आर्थिक अवस्था बिग्रनुमा हमेसा पश्चिमा शक्तिको हात रहेको उल्लेख गर्ने गर्दथे । तर, उनका आलोचकले मुगाबेलाई एक आधुनिक अर्थव्यवस्थालाई कसरी सञ्चालन गर्ने भन्ने ज्ञान नभएको बताउने गर्दथे ।
मुगाबेका अनेक किस्साहरू छन् । आर्थिक वितरण प्रणालीलाई उनी सधैं केक बाँडेको उदाहरण दिन्थे । केक नै कसरी बनाइन्छ भन्नेचाहिँ उनलाई पनि जानकारी हुँदैनथ्यो । मुगाबेले एकपटक भनेका थिए, ‘मेरो देश कहिल्यै पनि दिवालिया हुन सक्दैन ।’ जुलाई २००८ मा जिम्बावेको आर्थिक संकट बढ्दै गयो र वार्षिक महँगी दर विशाल दरमा बढ्यो ।
जिम्बावेमा चरम महँगीका कारण आफ्नो देशको मुद्रा छाडेर विदेशी मुद्रा चलाउनुपर्ने अवस्था सिर्जना भएको थियो । बेलायती उपनिवेशका विरुद्ध कठोर संघर्ष गरेका मुगाबेलाई जिम्बावेमा क्रान्तिकारी नायकका रूपमा चिनिन्छ । मुगाबे हरेक समयमा आफू देशका गरिबका लागि लडिरहेको बताउने गर्दथे । तर, उनले ठूला जमिनदारको जमिन कब्दा गर्दा उनका निकटस्थहरूले फाइदा लुटका थिए । डेसमन्ड टुटुले त्यस समयमा जिम्बावेका राष्ट्रपति एक कार्टून बनेर बसिरहेको टिप्पणी गरेका थिए ।
यद्यपि, मुगाबे र उनका समर्थकले सत्ता जोगाउनका लागि हिंसाको सहारा लिने गरेका थिए भने आर्थिक संकट हल गर्न असफल बनेका थिए । धेरैले उनको असफल आर्थिक योजनालाई ढाकछोप गरिरहे । उनी आर्थिक वृद्धिका लागि आफ्नो सिद्धान्तको परीक्षण गर्न चाहन्थे भन्ने दृष्टिकोणले हेरियो ।

मिडिया र सेनाको प्रयोग

सन् २००० को जनमत संग्रहमा भोगेको हार होस् या २००८ मा राष्ट्रपति चुनावको पहिलो चरणमा भोगेको हार होस्, उनले हरेकपटक सरकारी मिडिया र सुरक्षाबललाई आफ्नो स्वार्थका लागि प्रयोग गरे । आफ्ना राजनीतिक विरोधीप्रति मुगाबेको रबैयाको झलक सन् १९८० को दशकमा नै देखिन थालेको थियो । त्यसबेला उत्तर कोरियामा प्रशिक्षण लिएको सेनाको एउटा ब्रिगेडलाई आफ्ना विरोधी जोसुवा एनकोमोको इलाकामा पठाएका थिए । जबसम्म एनकोमो मुगाबेको सर्त मान्न तयार भए, त्यसबेलासम्म हजारौं मानिस मारिइसकेका थिए । सन् १९९९ मा मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज नामबाट एक विपक्षी समूह अस्तित्वमा आएपछि मुगाबे सरकारका नीति र आर्थिक संकटलाई लिएर विरोध प्रदर्शन र हड्ताल भएका थिए । त्यसपछि उनले सत्तामा आफ्नो नियन्त्रण कायम राख्न राजनीतिक विरोधीहरूलाई समाप्त पार्न सुरु गरे भने पार्टीमा लामो योगदान भएका र शक्तिशाली व्यक्तिहरूलाई बर्खास्त गरे । वर्तमान राष्ट्रपति तथा मुगाबे कालका उपराष्ट्रपति इमर्सनलाई गरेको बर्खास्ती त्यसैको एउटा कडी थियो । उनले क्रान्ति पूरा भएपछि मात्रै राष्ट्रपतिको पद छाड्ने बताए पनि भित्रभित्रै उत्तराधिकारी पनि खोजिरहेका थिए । उनी आफ्नो कमजोर स्वास्थ्य अवस्थाका कारण आफ्नी पत्नी ग्रेसीलाई सत्ताको एक्लो उत्तराधिकारी
बनाउन चाहन्थे ।

पत्नीका कारण पतन

मुगाबे एक निष्ठावान् क्याथोलिक थिए । क्यान्सरपीडित पहिलो पत्नी जिउँदै हुँदा उनी ग्रेसीका दुई बच्चाको बाबु बनेका थिए । उनकी यही दोस्री पत्नी उनको पतनको कारक बनिन् । सन् २०११ मा विकिलिक्सका माध्यमबाट बाहिर आएको एक अमेरिकी दस्तावेजअनुसार उनालई प्रोस्टेट क्यान्सर भएको थियो । तर, देखिनका लागि उनी स्वस्थ देखिन्थे । उनकी पत्नी ग्रेसीले एकपटक मुगाबे हरेक दिन बिहान पाँच बजे उठेर योग गर्ने गरेको बताएकी थिइन् । उनी धेरै मदिरा खाँदैनथे भने शाकाहारी जीवन व्यतित गरे । ग्रेसीले तेस्रो सन्तानलाई जन्म दिँदा मुगाबे ७३ वर्षका भएका थिए । उनले सधैं क्रान्ति पूरा भएपछि सत्ताबाट हड्ने बताउँदै आएका थिए । उनको यो भनाइको तात्पर्य गोरा जमिन्दारबाट खोसिएको जमिन गरिबलाई बाँड्ने विषयसँग सम्बन्धित थियो र अर्कोतर्फ उनी पार्टीभित्र आफ्नो अनुकूल उत्तराधिकारी निर्माण गर्न चाहन्थे । त्यसैले, कान्छी पत्नी ग्रेसीलाई उत्तराधिकारीका रूपमा अघि सार्ने निर्णय लिए । जुन उनको पतनको कारक बन्यो ।

शिक्षा योजनामा सफल

मुगाबे सत्तामा लामो समय बसेर आलोचित भए । देशलाई आर्थिक विकासको एउटा दिशामा अगाडि बढाउन सकेनन् । तर, उनको समयमा लिइएको शिक्षा नीति अफ्रिकामा नै उदाहरणीय मानिन्छ । मुगाबेको राज्यकालमा जिम्बावेमा शिक्षाको अत्यधिक चर्चा थियो । यस समयमा जिम्बावेका ८९ प्रतिशत जनसंख्या साक्षर थिए । यो अफ्रिकी महादेशकै सबैभन्दा बढी हो । एक आलोचकले भनेका थिए, ‘शिक्षाको प्रचार गरेर मुगाबेले आफंैले आफ्नै चिहान खनिरहेका छन् ।’

स्वतन्त्रता आन्दोलन

रोबर्ट मुगाबे जिम्बावेको स्वतन्त्रता आन्दोलनका एक प्रमुख व्यक्ति हुन् । तर, उनको सत्ताप्रतिको आशक्ति र परिवार मोहका कारण जीवनको उत्तरार्धमा उनले स्वतन्त्रताका लागि गरेको योगदान नै छायामा पारिदियो । स्वेत शासन अन्त्यका लागि सबैभन्दा लामो र कठिन संघर्ष गरेका दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाबाट उनले सिकेको देखिएन । जीवनको खास कालखण्डमा उच्चकोटीको योगदान गरेका व्यक्तिहरू आफ्नो पारिवारिक मोह र व्यक्तिगत महत्वाकांक्षाका कारण खलनायकमा परिणत हुने गरेका छन् । मुगाबेको हकमा पनि यस्तै घटना दोहोरियो । स्वतन्त्रता आन्दोलनमा महŒवपूर्ण योगदान दिएकालाई पन्छाएर श्रीमतीलाई सत्ता हस्तान्तरण गर्न खोज्नु उनको सत्ता उन्मादको परिणाम थियो । जसले उनको ३७ वर्ष लामो शासन अन्त्य भयो र लोकतान्त्रिक शासन प्रणालीमा कालो धब्बा पोतियो । उनको सत्तामाथि सेनाले हस्तक्षेप ग¥यो । तर, जिम्बाबेको सेनाले सत्ता सञ्चालनका लागि भन्दा पनि स्वतन्त्रता आन्दोलनका व्यक्तित्व इमर्सन मानागाग्वालाई सत्तामा स्थापित गराउन मुगाबेलाई सत्ताबाट हट्न बाध्य पा¥यो ।

इमर्सन मानागाग्वा सेनाको चर्चित अनुहार पनि हुन् । जसले जिम्बावेको स्वतन्त्रताको लडाइँमा महŒवपूर्ण भूमिका निभाएका थिए । सन् १९८० मा रोडेसियाको बचेको सुरक्षा बल, जिम्बाबे अफ्रिकन नेसनल लिबरेसन आर्मी र जिम्बावे पिपुल्स लिबरेसन आर्मीलाई मिलाएर जिम्बावे नेसनल आर्मी गठन गरिएको हो । उनी मुगाबेको स्वभाविक उत्तराधिकारी थिए । तर, मुगाबेले पत्नी ग्रेसीलाई पार्टी र सत्ताको नेतृत्वमा पु¥याउन इमर्सनलाई बर्खास्त गरे पनि संकट आइल्याग्यो । तर, ग्रेसीलाई सैनिक समर्थन प्राप्त थिएन । जिम्बावेको सेना स्वतन्त्रताको विरासत र त्यसमा सामेल व्यक्तिलाई धेरै सम्मान गर्ने गर्दछ । सोही कारण सेनाले पूर्वउपराष्ट्रपति र प्रमुख विपक्षी पार्टीको समर्थनमा सत्तामाथि नियन्त्रण ग¥यो र मानांगाग्वालाई नयाँ राष्ट्रपतिमा स्थापित गरिदियो । स्वतन्त्रताको विरासतका कारण मुगाबे सत्तालाई सेनाले ३७ वर्षसम्म अटुट रूपमा साथ दिएको थियो । मुगाबेले सन् २०१४ मा पनि पूर्वउपराष्ट्रपति जोइस मुजुरुलाई बर्खास्त गरेका थिए ।

जिम्बावेको संकट हल भएन

मुगाबेको शासन सन् २०१७ मा अन्त्य भएर मानागाग्वा सत्तामा आउँदा त्यहाँका जनताले आर्थिक अवस्थामा ठूलो परिवर्तनको आशा गरेका थिए । जिम्बावे केही वर्षदेखि ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । तर, मानागाग्वाको छवि मुगाबेको जस्तो उच्च थिएन । उनी देशभित्रै पनि निकै आलोचित पात्र मानिन्छन् । सन् १९८० को दशकको सुरुवातमा रक्षामन्त्री रहेका उनले मिडल्यान्ड्स र मातेबेलेल्यान्डमा उठेको विरोधको आवाजलाई सैन्य बलबाटै दबाएका थिए । जसमा हजारौंको मृत्यु भएको थियो । पछिल्लो एक दशकदेखि जिम्बावेमा आर्थिक संकट बढ्दै जाँदा युवाहरू रोजगारीका लागि पलायन हुने क्रम तीव्र छ । सन् २००८ मा जिम्बावेमा चरम महँगीका कारण आफ्नो देशको मुद्रा छाडेर विदेशी मुद्रा चलाउनुपर्ने अवस्था सिर्जना भएको थियो । बेलायती उपनिवेशका विरुद्ध कठोर संघर्ष गरेका मुगाबेले सत्ता चलाउनकै लागि हिंसाको सहारा लिए । आर्थिक संकट हल गरी देशमा रोजगारी सिर्जना गर्न जिम्बावेका सरकार असफल बन्दै आएका छन् ।
विश्वसनीयता कम भएका नेता इमर्सनले सेना, गुप्तचर निकाय र सत्ताधारी पार्टीबीचको कडी जोड्ने काम गर्दै आएका थिए । सेनाको बलमा सत्तामा पुगेका इमर्सनले पनि आर्थिक विकासको सुरुवात गर्न र जिम्बावेली जनताको समृद्धिको सपना पूरा गर्नेतर्फ ठोस कदम चाल्न सकेका छैनन् ।

अन्त्यमा, कुनै पनि राष्ट्रलाई एउटा गति प्रदान गर्नका लागि त्यो देशको एउटा पुस्ताले ठूलो त्याग गर्नुपर्छ । मुगाबेको पुस्ताले पनि जिम्बावेलाई उपनिवेशबाट मुक्त गरेर स्वतन्त्रत देशका रूपमा स्थापित गर्न सफल भयो । उनीहरूको यो आन्दोलनमा लाखौं मानिसहरू सहभागी भए ।
सत्ता सञ्चालनका क्रममा विपक्षीमाथिको दमन, आफ्नै पार्टीभित्रका विरोधी शक्ति, पद र परिवारप्रतिको मोहका कारण रोबर्ट मुगाबे सधैं नायकत्वकै छवि जोगाउन सकेनन् । फलस्वरूप अपमानपूर्ण तरिकाले बाहिरिनुपर्ने अवस्था सिर्जना भयो । त्यसपछि करिब दुई वर्ष उनी गुमनाम बन्न पुगे । अन्ततः उनी भौतिक संसारबाट बिदा भएका छन् । धेरै अवगुणका बाबजुद उनी र उनको नेतृत्वमा गरेको अविचलित संघर्षबाट प्राप्त स्वतन्त्रता जिम्बावेली जनताका लागि सबैभन्दा ठूलो उपहार हो ।

एजेन्सीको सहयोगमा

(Visited 109 times, 1 visits today)
Loading comments...