बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

तथ्यपरक कृति

डा. केआर दाहाल
2 weeks ago
07/09/2019

डा. केआर दाहाल

प्रसिद्ध लेखक जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’बाट धेरै प्रेरित भएको थिएँ । जीवनको उत्तराद्र्धमा प्रकाशित पुस्तकले ‘मदन पुरस्कार’ पायो । सबै संस्मरण प्रेरणादायी हुँदैनन् तर कलम तिखारिइसकेका लेखकले पस्केको संस्मरण भने पढ्नैपर्ने र पढेर मनन गर्नुपर्ने हुन्छ । त्यस्तै लेखकको नाम हो, खगराज बराल । लामो समय शिक्षा क्षेत्रमा काम गर्दै आफ्नो कलम निरन्तर चलाइरहने बरालको ‘सिकाउने शैली’ पुस्तक अहिले चर्चाको विषय बनेको छ ।
पुस्तक शिक्षण क्षेत्रमा काम गर्ने यावत् शिक्षकका लागि अत्यन्तै उपयोगी भएको मैले पाएँ । त्यति मात्र होइन, हरेक प्रशासक, व्यवस्थापक, नेता, सामाजिक अगुवा तथा सबैले यो पुस्तक एकपटक पढेमा देशमा विद्यमान कुरीति तथा शिक्षामा देखिएका सम्पूर्ण कमजोरी छर्लंग हुन्छ । तसर्थ, पुस्तकको थप विवेचना गर्नुपूर्व म यो भन्न चाहन्छु कि ‘सिकाउने शैली’ सबैका लागि हो र यसले ज्ञानको भण्डारमा एउटा इँटा पक्कै थप्नेछ ।

लेखकले बाल्यकालमा पढेको लेकको पाखाको विद्यालय (बुलिंग स्कुल)बाट सुरु भएको संंंस्मरणको यात्रा शिक्षा मन्त्रालयअन्तर्गत सहसचिव स्तरको विभिन्न पदमा काम गर्दाका अनुभवले पुस्तक सजिएको छ । पुस्तक पढेर त्यसको समीक्षा लेख्नु गाह्रो काम हो । मैले ‘सिकाउने शैली’को समीक्षा लेखेको भने होइन । यो पढेर मेरो अन्तर्मनमा छचल्किएको भावना पोखेको मात्र हो । कुनै कुनै यस्ता पुस्तक हुन्छन्, जसले मन छुन्छ, आफ्नै जीवन कहानीसँग पनि मेल खान्छ । र, त्यस्ता घटनाले पाठकको मन पगाल्छ पनि । लेखकको बाल्यकालको लेकको पाखाको विद्यालय जाँदाको मुडुलो टाउको, टुप्पी र टुप्पी छोप्न लगाएको टोपीको कथाले मलाई आफ्नै जीवनमा घटेको घटनाको याद दिलायो ।

बरालको यो घटना मार्मिक छ तर यस्तैखाले कहानी भने अन्यत्र पनि पाइन्छ, धेरैले भोगेका पनि हुन सक्छन्, जसरी यो पंक्तिकारले कक्षा १० मा महोत्तरीको गौशाला हाइस्कुलमा भोगेको थियो । बुलिंगमा पढ्दाको लेखकको जीवन कहानीले धेरैको मन छुन्छ । पुस्तकको गाता मिलाइरहेको बेला एक शिक्षकले कान बटारेको र कन्चटका रौं उखेलेको घटनाले झनै दुःखी तुल्याउँछ । यो घटनाबाट शिक्षकमा न्यूनतम पेसागत गुण नभएकाले एकाएक विद्यार्थीमाथि हातपात गरेको बुझिन्छ । ।
नेपालमा खोज्दै जाने हो भने यस्ता शिक्षक धेरै भेटिन्छन् । जागिर नपाए शिक्षक बन्ने भन्ने हाम्रो पुरानो मान्यताले अझै जरो गाडेको छ र राम्रोले सरकारी जागिर नै खाने हो, नराम्रो भए मास्टर बन्ने हो भन्ने सामाजिक मान्यता अझै विद्यमान छ । त्यसकारण, शिक्षाको स्तर उक्सन नसकेको हो ।
लेखकले बेहोर्नुपरेको ठूलाको थिचोमिचो, साथीभाइको हेपाहा प्रवृत्ति, शिक्षकको कुटाइलगायतका घटनाले विद्यालयको स्तर प्रस्ट झल्काउँछ र बाल मनोविज्ञान कसले बुझ्ने भन्ने प्रश्न तेर्सिन्छ । लेखकले भोगेको गणित विषयसँग सम्बन्धित समस्याले मेरो ध्यान अझ आकृष्ट भयो ।

धेरै विद्यार्थीका लागि गणित गारो लाग्छ । तर, यो बुझाउने कला नभएर गाह्रो भएको हो, विषय आफंैमा गाह्रो भने होइन । बरालले अंक गणितको एउटा प्रश्नको उत्तर ३५ सेमि भनी घोकेर जाँच दिएको पढ्दा अचम्म लाग्यो । यो घटनाले देशको विद्यालयस्तरको शिक्षाको गुणस्तर प्रस्ट पारेको छ, थप व्याख्या गर्नुपर्दैन । तर, सुधार्ने कसले ? र, सुध्रने कहिले भन्ने प्रश्न भने उब्जन्छ र यसले कौतूहलता जगाउँछ ।अंक जोड्न बिर्सेर तेस्रो स्थानमा रहेको विद्यार्थीलाई नतिजा प्रकाशनपछि पहिलो बनाई पुनः नतिजा प्रकाशन गरेको घटनाले विद्यालयको
लापरवाहीको चरमसीमा प्रस्ट्याउँछ । यसले विद्यालय प्रशासनप्रति आशंका गर्ने बाटो बनाइदिन्छ । कतै तेस्रो हुने विद्यार्थीको पहुँच बढी भएर त यस्तो भएको होइन ? सबैको मनमा स्वाभाविक रूपमा जन्मने प्रश्न हो यो ।
एसएलसीपछि विज्ञान वा मानविकी पढ्ने निर्णय गर्दा पैसा टस गरेर गाई आए विज्ञान र त्रिशूल आए मानविकी पढ्ने भन्ने सोच गज्जब लाग्छ । गाई कि त्रिशूलबाटै उनले मानविकीको बाटो पहिल्याए । यसले के बुझाउँछ भने राम्रै विद्यार्थी पनि कहिलेकाहीँ राम्रो परिवश, पारिवारिक संस्कार र सशक्तीकरण नभएमा प्रतिभा प्रस्फुटन गर्ने क्षमताबाट वञ्चित हुन्छ ।
शिक्षकलाई पाठ्यपुस्तक र पुस्तकबीचको भिन्नता थाहा नभएको एउटा घटना अति नै रोचक छ । शिक्षक बढुवा हुन चाहने तर शिक्षा ऐन वा नियमावली भने नकिन्ने र विद्यालयको मुख ताक्ने बानीले सहज रूपमै शिक्षाको स्तर निर्धारण गर्दछ । बरालले शिक्षकको तालिममा प्रशिक्षक भएर जाँदा कतिपय शिक्षकलाई प्रश्नपत्र तयार गर्ने तरिकामा अनभिज्ञता रहेको उल्लेख गरेका छन् । यसको अर्थ यो हुन्छ कि शिक्षक गम्भीर र पेसाप्रति जिम्मेवार छैनन् ।

कतिपय शिक्षक पढाउँदा क्लिष्ट भाषा प्रयोग गर्ने र आफूलाई जान्ने हुँ भनेर प्रस्तुत गर्न चाहने तर विद्यार्थीले भने केही नबुझ्ने विषय लेखकले उठाएका छन् । विद्यार्थीले पढाइमा ध्यान नदिने तर उत्तीर्ण हुन चाहने भावनाले पनि शिक्षकमा सीप कमी भएको विषय पुस्तकमा उतारिएको छ ।कतैकतै अत्यन्त हाँसोउठ्दो प्रसंग पनि छन् । जस्तै ः छिरिङ गुरुङको नाम टेछिरिङ गुरुङ भएको घटना । यसरी नाम बिगार्नेमा शिक्षकको मुख्य भूमिका रहेको उनको भनाइ छ ।
सरकारले शिक्षकलाई तालिम प्रदान गरी क्षमता अभिवृद्धिको व्यवस्था गरे पनि तालिम सिक्ने थलोभन्दा भत्ता बुझ्ने माध्यमका रूपमा लिइने गरिएको लेखकको संस्मरणमा उल्लेख छ । त्यस्तै, प्रतिभावान् शिक्षकले स्थान नपाउने तर पहु“चवालाले स्थान ओगटेको घटनाले विद्यालयको समग्र शिक्षाको अवस्था झल्काउँछ ।
शिक्षाको गुणस्तर उकास्न क्षमतावान् शिक्षकलाई उपयुक्त ठाउँमा पदस्थापन गर्न सक्नुपर्छ । लेखकले पुस्तकमार्फत यही सन्देश दिन खोजेका छन् । कतिपय अवस्थामा शिक्षकले तयारीबिना नै कक्षामा पढाउने र विद्यार्थीलाई बुझाउनै नसक्ने घटना पनि पुस्तकमा छ, जुन सहजै स्वीकार्न गाह्रो पर्दैन ।
आफ्नो अनुभवको सिलसिलामा लेखकले एउटा प्रसंग उल्लेख गरेका छन्, ‘जिरोजीले कसहारी पहिरालो ।’ यो वाक्यबाट शिक्षकले पढाइ सुरु गरे । प्रश्न उत्तर यस्ता थिए– ‘जिरोजीले के पहिरालो ?’ शिक्षकले उत्तर दिए, ‘कसहारी ।’
‘कसले कसहारी पहिरालो ?’ शिक्षकले नै उत्तर दिए, ‘जिरोजीले ।’‘जिरोजीले कसहारी के ग¥यो ?’ शिक्षकले उत्तर दिए, ‘पहिरालो ।’

शिक्षकले उपयुक्त वाक्य दुई तीनपटक दोहो¥याएर विद्यार्थीलाई बुझ्यौ भनी सोधे । सबैले मुन्टो हल्लाए । कक्षा पनि सकियो । अचम्मको कुरा यो वाक्यको कुनै पनि अर्थ छैन । र, कतै प्रयोग पनि छैन । यसरी अर्थहीन वाक्य रटाएर विद्यार्थीलाई घोटाउ“दा हुने परिणामबारे शिक्षक स्वयं जानकार पनि छैनन् ।
‘यस्तै नै छ यहाँको चलन…’ भन्ने गीतजस्तै भयो विद्यालयस्तरको शिक्षा । हाँसोउठ्दो र उदेकलाग्दो । यसले यो प्रस्ट्याउँछ कि पढाउने कला हो । तालिम लिएका सबैमा कला हँुदैन । र, व्यवहारमा पनि उतार्न सक्दैनन् । बालबालिकाले बुझ्ने भाषामा पढाउनुपर्छ तर अर्थ बिग्रने गरी होइन ।
उदाहरणका लागि ‘पखाला लाग्दा मैदानमा जानुपर्छ’ भन्ने जस्तो भाषा प्रयोग गर्नुहँुदैन । तर, व्यवहारमा यस्तो भएको पाइँदैन । ‘तालिम भनेको सुविधा लिने माध्यम हो, सिक्ने थलो होइन’ भन्ने अधिकांश शिक्षकको बुझाइबाट यस्तो भएको हो । लेखक यसलाई प्रस्ट्याउँदै थप्न चाहन्छन्, ‘अन्ततः दैनिक सिकाइको परीक्षण विधि र मूल्यांकन प्रक्रिया नै शिक्षण पेसामा उपलब्धिमूलक हुन्छ । तर, हाम्रो शिक्षण प्रक्रिया वैज्ञानिक छैन । बढी सैद्धान्तिक र कम प्रयोगात्मक छ ।’

लगभग ६ वर्षसम्म प्राथमिक शिक्षक तालिम केन्द्रमा रहँदा बरालले माथि उल्लिखित अनुभवका आधारमा यो पुस्तकमा रोचक वर्णन गरेका छन् । शिक्षकमा भाषिक कठिनाइ भएको उनको प्रस्ट बुझाइ छ । यसकारण, विद्यार्थीहरूले पूर्ण ज्ञान प्राप्त गर्न सकेका छैनन् । मूलतः शिक्षण पेसामा स्वाध्यायनको आवश्यकता बढी छ । ‘शारीरिक तन्दुरुस्ती राख्न पोषणयुक्त खाना, सरसफाइ र व्यायाम गरेजस्तै मानसिक तन्दुरुस्ती राख्न अध्ययन जरुरी छ,’ बराल भन्छन् । जीवनको कष्टकर यात्रा पार गर्दै देशको कुनाकुनामा सेवा गर्न पुगेका लेखक बझाङ जिल्ला पुग्दा निकै निराश भएको पुस्तकमा उल्लेख छ । शारीरिक तन्दुरुस्तीका लागि माछा, मासु, अन्डा, दूध खाने उनको चाहनालाई बझाङले पूरा गर्न सकेन । मासु खाने इच्छा तृप्तिका लागि एक दिन संयोगले होटलमा उनलाई ट्रकको मासु प्राप्त भयो (भेडा च्यांग्रालाई त्यहाँ ट्रक भनिँदो रहेछ ) । तर, अत्यन्तै चाम्रो भएर चपाउन नसकेको तथा दाँतै भाँचिएलाजस्तो भएको प्रसंग पनि पुस्तकमा उल्लेख छ ।
जताजता लेखक खटिए, त्यता यस्तै यस्तै थुप्रै अनुभव सँगाले । उनको जीवन सादा थियो र त्यस्तै सादा जीवन समग्र शिक्षकको देख्न चाहन्थे । प्रशिक्षककै काम गर्दा शिक्षकलाई सोधे, ‘तपाईंहरू कुलतमा त हुनुहुन्न ?’
लेखकको प्रश्नको जवाफमा धेरै शिक्षकले जवाफ दिए, ‘चिया, चुरोट खानु त कुलत होइन नि सर † यस्ता त खाइन्छ ।’
हो, अचेल जाँडरक्सी पिउनुलाई शिक्षक असहज मान्दैनन् । र, जुवातास खेल्नुलाई असामाजिक  कर्म ठान्दैनन् ।

 

खोज्दै जाने हो भने नेपालमा यस्ता शिक्षक धेरै  भेटिन्छन्। जागिर नपाए शिक्षक बन्ने मान्यताले अझै जरो गाडेको छ । राम्रोले सरकारी जागिर नै खानुपर्ने र नराम्रो भए मास्टरै बन्नुपर्ने सामाजिक मान्यता अझै विद्यमान छ । यसकारण पनि शिक्षाको स्तर उक्सन नसकेको हो

तिपय शिक्षक पढाउ“दा क्लिष्ट भाषा प्रयोग गर्ने र आफूलाई ‘जान्ने हु“’ भनेर प्रस्तुत गर्छन् । विद्यार्थीले पढाइमा ध्यान नदिने तर उत्तीर्ण हुन चाहने भावनाले पनि शिक्षकमा सीप कमी भएको विषय लेखकले पुस्तकमा  उतारेका छन्

 

लेखकले शिक्षकको मानसिकता विभिन्न कोणले कोट्याएर पुस्तकमा रोचकता प्रदान गरेका छन् । परीक्षा नियन्त्रक भएर काम गर्दा उनको कठोर तर रोचक अनुभवले पाठकलाई रुवाउँछ । राम्रो विद्यार्थी फेल हुनु, जाँच दिएको नियमित विद्यार्थी अनुपस्थित भनेर आउनु, विद्यालयले लापरवाही गर्नुजस्ता घटना सामान्य रूपमा घटिरहने र यसलाई नियन्त्रण गर्न लेखकले गरेको प्रयास प्रशंसनीय देखिन्छ ।
सबैभन्दा ठूलो काम त एसएलसी नतिजा पत्रपत्रिकाको सट्टा इमेल, इन्टरनेट र मोबाइल सेवामार्फत प्रकाशन गर्ने पहिलो व्यक्तिका रूपमा लेखक पर्छन् । तर, यति ठूलो काम गर्दा स्याबासी दिनुको सट्टा परीक्षा बोर्ड अध्यक्षले गरेको व्यवहार भने कारुणिक लाग्छ ।
जे होस्, लेखकको यो प्रयासलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । परीक्षा नियन्त्रक हुँदा नै रामेछापको एउटी छात्राको नतिजा प्रकाशनमा भएको त्रुटि अन्यन्तै मार्मिक छ ।
त्यस्तै, चितवनका एक छात्रको घटना पनि स्मरणीय छ । लेखकले परीक्षा नियन्त्रक भएर काम गर्दाको वर्णन पुस्तकमा सहज ढंगलले पस्केका छन् । यी घटनाले पाठकलाई बृहत् ज्ञान प्रदान गर्दछ ।
पुस्तकमा चोर्ने कला पनि देख्न र सिक्न पाइन्छ । चिट चोर्ने प्रविधि पनि अनेक हुँदा रहेछन् । अनुगमन क्रममा बरालले अर्घाखाँचीको एसएलसी परीक्षा अवलोकनमा देखेको बटन भएको डफ्टी अत्यन्तै रोचक लाग्यो । र, रिडीको मर्यादित परीक्षाको वर्णन सुन्दा आनन्द ।

अनुभवै अनुभव सँगालेर ‘सिकाउने शैली’ पुस्तकमा लेखक पाठकलाई ज्ञान दिन सफल भएका छन् । अनुभव सँगाल्ने सिलसिलामा एक दिन उनले चन्द्र पौडेलको विज्ञानको कक्षा अवलोकनको कथा पनि हुबहु पस्केका छन् । चन्द्र सरको पढाउने शैलीप्रति लेखक अत्यन्तै प्रभावित थिए । सयकडौं यस्ता कक्षा अवलोकन गर्दा उनी प्रभावित भएको पाइँदैन । यसबाट के बुझिन्छ भने सरकारले शिक्षकलाई तालिमका लागि गरेको लगानी सार्थक भएको छैन, निरर्थक छ ।
पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक हुँदा लेखकको अनुभव पनि पाठकलाई प्रशस्तै खुराक बन्न सक्छ । यौन शिक्षा र हिमोफेलियाजस्ता विषयवस्तु पाठ्यक्रममा थप्नुपर्ने जिज्ञासा आएपछि उनले यसलाई स्विकारे, जुन अन्तर्राष्ट्रियस्तरमा पहिलेदेखि नै पढाइ“दै आइएको विषयवस्तु हो ।

तर, पाठ्यक्रममा कानुनी शिक्षालाई थप गर्नुपर्ने सर्वसाधारणको तर्कप्रति भने उनी असहमत छन् । यसमा लेखकको तर्क छ, ‘कानुनको अभावमा भ्रष्टाचार तथा अनियमितता बढेको होइन, बरु कार्यान्वयन पक्ष फितलो भएर तथा कानुन जानेकै व्यक्तिबाट आपराधिक क्रियाकलाप घट्न सक्छ । कानुन जानेकैले फैसला गर्छ तर न्याय गर्ने कि फैसला गर्ने भन्ने विषयमा विवाद जस्तो देखिन्छ ।’
‘सिकाउने शैली’ पुस्तकले समग्र पाठकलाई भरपुर ज्ञान प्रदान गर्ने जमर्को गरेको छ । यो अनुभवै अनुभवको भण्डार हो । लेखक यतिखेर नेपाल सरकारको सचिवसमेत रहेकाले अझ थप अनुभवसहित अर्को नया“ कृति पढ्न पाइने अपेक्षा छ । ल

 

(Visited 75 times, 1 visits today)
Loading comments...