बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

नेपालगन्ज–लखनउ सीधा बस सेवा

राजधानी समाचारदाता
1 week ago
09/09/2019

नेपालगन्ज। भेरी यातायात प्रालिले बाँकेको नेपालगन्जदेखि भारतको लखनउसम्म सीधा बससेवा सुरु गरेको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी सञ्चालनमा ल्याएको सो नेपाल–भारत मैत्री बससेवाको एक समारोहबीच नेपालगन्ज उपमहानगरका प्रमुख डा. धवलशमशेर राणाले गरेका हुन् । उनले नेपालगन्जबाट लखनउ हिँडेका यात्रुहरूलाई अबिर र माला लगाएर बिदाई गर्दै बसलाई हरियो झन्डा देखाएर संकेत गरेपछि बस लखनउका लागि प्रस्थान गरेको थियो ।

मेयर राणाले नेपालगन्ज लखनउ बससेवा सञ्चालनमा आएकोमा आफू एकदमै खुसी भएको बताए । उनले नेपालगन्जलाई क्यासिनो सिटीको सहरका रूपमा निर्माण गरिँदै गर्दा यो सेवा सञ्चालन भएपछि भारतबाट नेपालगन्ज आउने भारतीय पाहुनालाई सरल र सहज हुने दाबी गरे । उनले नेपालगन्ज र लखनउबाट बिहानको समयमा एउटा÷एउटा बस सञ्चालन गर्न प्रालिलाई सुझाव दिँदै भने, ‘नेपालगन्जबाट बिहान बस छुटे जस्तै लखनउबाट पनि बिहान एकै समयमा बस सञ्चालन गर्न आवश्यक रहेको छ । उसो त लखनउबाट राति सवा ९ बजे सञ्चालन हुने सेड्युल रहे पनि तय व्यावहारिक छैन ।’
भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले प्रदेश ५ र ६ का धेरै जिल्लाबाट नेपाली उपचारका लागि लखनउ जाने हुनाले उनीहरूलाई सहज रूपमा त्यहाँ पु‍¥याउने उद्देश्यले बससेवा सञ्चालनमा ल्याएको बताए ।

उनले भारतको रुपैडिहा पुगेर त्यहाबाट महँगो पैसा तिरेर ट्याक्सी र बसबाट नेपाली यात्रु लखनउ पुग्दा ठगिने लुटिने सम्भावना पनि हुने हँुदा अब यहाँबाटै सीधै नेपाली बससेवा सुरु भएपछि त्यो समस्या पनि नरहने बताए ।
होटेल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले यो सेवा सञ्चालनमा आएपछि नेपाली यात्रुलाई निकै सुविधा हुने बताए । उनले यो प्रालिले सरकारबाट अनुमति प्राप्त गरेर सेवा सञ्चालनमा ल्याए जस्तै अरूले पनि अनुमति लिएर बससेवा सञ्चालन गर्नुपर्ने बताए । ‘टुरिस्ट प्रमिटका नाममा पहाडी जिल्लाका कुनाकुनाबाट भारतका विभिन्न सहरहरूमा बससेवा सञ्चालन गरेर नेपालगन्जको होटेल व्यवसाय धरासायी भएको छ । त्यस्ता गैरकानुनी रूपमा सञ्चालित बससेवा तुरुन्त रोक्न आग्रह गर्छु, सरोकारवाला निकायको ध्यान जाओस्,’ उनले भने ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, आदर्श थाना रुपैडिहाका इन्चार्ज मनिशकुमार पाण्डे, भेरी यातायात प्रालिका प्रबन्धक उमेश गुरागार्इं, यातायात व्यवसायी शोभाखर पौडेललगायतले बसको निरन्तरताको शुभकामना व्यक्त गरेका थिए ।
भेरी यातायात प्रालिले यस अघिदेखि नेपालगन्ज–दिल्ली नेपाल–भारत मैत्री बससेवा सञ्चालन गर्दै आएको छ । नेपालगन्जको कारकाँदो चौकमा टिकट काउन्टर राखेर नेपालगन्जबाट लखनउका लागि बिहान ८ बजे र लखनउको केशरबागबाट राति सवा ९ बजे बस सञ्चालन हुने बस सञ्चालक कम्पनीले जनाएको छ ।

 

(Visited 62 times, 1 visits today)
Loading comments...