बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

‘पिठो बेच्नेले वैदेशिक लगानी आएन भनिरहेका छन्’

राजधानी समाचारदाता
1 week ago
09/09/2019

काठमाडौ।  संघीय अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणपछि आफू दुई÷तीन महिना खुला कार्यक्रममा नआउँदा पिठो बेच्नेहरूले हैरान पारेकाले आफू चामल बेच्नका लागि पुनः सार्वजनिक कार्यक्रममा आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १०आंै वार्षिक साधारण सभालाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘नेपालको अर्थतन्त्रबारे नकारात्मक हल्ला बढी भएकाले त्यसलाई चिर्नका लागि सार्वजनिक कार्यक्रममा आएको हुँ ।

उनले भने, ‘हामीले गत वर्षलाई समृद्धिको आधार वर्ष भन्यौं । यसपालिलाई विकास वर्ष भनेका छौं । हाम्रो मात्रै प्रयासले त्यो उद्देश्य पूरा हुँदैन । यसका लागि निजी क्षेत्रको लगानीलाई आकर्षित गर्नुपर्छ र विदेशी लगानी पनि भिœयाउनुपर्छ ।’
दाताहरूले पत्याएनन्, वैदेशिक सहायता आएन, विदेशी लगानी कम भयो भनेर हल्ला गर्नेहरूलाई पिठो बेच्नेको संज्ञा दिँदै उनले गत वर्ष ५७.५ अर्बको वैदैशिक लगानीको प्रतिबद्धता आएको जानकारी दिए । उनले स्वीकृत गरेको लगानीलाई रकममै परिवर्तन गरेर ल्याउन भने नसकेको स्वीकार गरे । लगानीको प्रतिबद्धता, सम्झौता र लगानी भित्रिने कुरा फरकफरक चरण भएको बताउँदै उनले कहिले वन, कहिले जमिन, कहिले के समस्याका कारण अलि ढिलो हुने गरेको दाबी गरे । उनका अनुसार त्यसलाई सुल्झाउन एकद्वार प्रणाली कार्यान्वयनमा आइसकेको र कानुनहरू पनि संशोधन भइसकेकालाई । अब विदेशी लगानी पनि बढ्छ ।

‘दाताहरूले दिन्छु भन्ने रकमको हिस्सा पनि बढिरहेको र १३ खर्ब रुपैयाँ दिन्छु भनेका छन्’, उनले भने, ‘यसैंले यसपालि हामीलाई खर्च नगर्ने छुट छैन ।’ सरकारको वित्तीय अनुशासनप्रतिको विश्वसनियताका कारण बजेटमै सहयोग गर्ने क्रम बढिरहेको बताउँदै उनले सोधे, ‘यस्तोमा दाताको विश्वास कहाँ घट्यो ?’ सरकारले गरेका कामको गलत प्रचार गर्नुभन्दा अर्थतन्त्र बिग्रिएको कहाँ छ, भन्ने विषमा छलफल गरिनुपर्ने उनको सुझाव थियो । अर्थमन्त्री खतिवडाले कार्यक्रममा भने,
‘अमेरिकी मुलुकहरूले ५ प्रतिशतको आर्थिक वृद्धि नदेखेको दशकौं भयो । भारतले ३ देखि ३.५ प्रतिशतको वृद्धि हुँदा अर्थतन्त्र बुम भयो भनेर हल्ला गरिन्छ । हाम्रोे ७.१ प्रतिशतको आर्थिक वृद्धि भइरहँदा पनि यो भएन त्यो भएन भन्नु आफ्नै अर्थतन्त्रलाई धरापमा पार्ने गरी प्रचार गर्नु हो ।’उनका अनुसार आर्थिक वृद्धि भएन भने रोजगारी, राजस्व, राज्यले दिने समाजिक सुरक्षा र पत्रकारहरूले पाउने पारिश्रमिक तथा स्वरोजगार मिडियाले पाउने विज्ञापन पनि प्रत्यक्ष असर पर्छ ।

कार्यक्रममा उनले भने, ‘अहिले विश्व व्यापारमा देखिएको तनावले निर्यातलाई अलि बढी नै आर्थिक वृद्धिमा योगदान गरिरहेका मुलुकहरूको आर्थिक वृद्धिमा केही समस्या देखिरहेका छन् । यी समस्या क्रमशः हल हुँदै जानेछन् । विश्व आर्थिक र व्यापारिक रूपमा खुला नीतिबाट पछाडि जान सक्दैन । हामीजस्ता साना मुलुकले भन्ने पनि यही नै हो ।’ अर्थमन्त्री खतिवडाले कृषि क्षेत्रको वृद्धि ५ प्रतिशतभन्दा माथि रहेको र अरू केही क्षेत्रको वृद्धि ८ प्रतिशतभन्दा बढी रहेको पनि जानकारी दिए । कृषिबाहेक सबै क्षेत्रको योगदान ५ प्रतिशतभन्दा माथि रहेपछि ७.१ प्रतिशतको वृद्धिदर हासिल भएको उनको कथन छ ।
उनका अनुसार सबै क्षेत्रका आर्थिक क्रियाकलाप सन्तुलित ढंगले हासिल भएको छ । यो फेरि राजधानी, काठमाडौं, तराई क्षेत्रको मात्रै आर्थिक वृद्धिले मात्रै यो सफलता पाएको होइन् । सबै प्रदेशहरूको आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा छ ।
उनले अगाडि भने, ‘प्रदेश र स्थानीय तहमा साधन र स्रोत समन्यायिक ढंगले वितरण हुन थालेपछि त्यसले अर्थतन्त्रको विकासमा ठूलो भूमिका खेलिरहेको छ । जगबाट नै आर्थिक वृद्धिको आधार खडा भइरहेको छ । संघीयताको सन्दर्भमा यस्तो तथ्यांकको विश्लेषण गरिनुपर्छ । त्यसमा तथ्यांकको अभाव हुन सक्छ । कहिलेकाँही हामीलाई भ्रम पनि हुन सक्छ । अहिले ७६१ वटा सरकार छन् । तिनको राजस्व र बजेट छुट्टाछुट्टै छन् । साझा अधिकारका कुरा पनि छन् ।’

सेयर बजार विकासको सन्दर्भमा डा. खतिवडाले भने ‘तपाईंहरूलाई सेयर बजार उकास्नुपर्ने चिन्ता छ । अर्थमन्त्रीलाई सिंगो अर्थतन्त्र नै उकास्नुपर्ने चिन्ता छ । पुँजी बजारलाई विकास गर्ने पहिलो आधार वित्तीय क्षेत्र हो त्यसका लागि दुई वर्षमा बैंकका शाखा ५० प्रतिशतले बढेका छन् । डेढ वर्षको अवधिमा साढे ६ हजारबाट साढे ८ हजार पुग्नेछन् । अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत नागरिक बिमाको दायरा आएकामा अहिले २५ प्रतिशत पुग्यो । पाँच वर्षमा ५ प्रतिशतबाट २५ प्रतिशत नागरिक बिमाको दायरामा आएको कुुुरा सानो प्रगति होइन ।’
उनले भने ‘पुँजी बजारलाई खेलौना नबनाउनुस् । खेलाउन बनाउन लागियो भने आगोलाई खेलाउन थाल्दा कहिले काहीँ आफंै जल्ने अवस्था आउँछ ।’
कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका कार्यकारी प्रमुख चन्द्रसिंह साउँदले पूर्णतया अनलाइन प्रणालीको कार्यान्वयन, मार्जिन कारोबार सुरुवातको तयारीलगायतका काम सम्पन्न भएको बताए । उनका अनुसार पुँजीगत लाभकरको विषयमा लगानीकर्ता आफैंले आफ्नो सम्पतिको मूल्यांकन गर्नेभन्दा पनि त्यसमा पनि नियामक नै दोषी मानिरहेको अवस्था छ । यसको अन्त्य गरी लगानीकर्ता स्वयंले बजार विकासका लागि स्वतन्त्र भएर कारोबार गर्नुपर्ने जरुरी छ ।’

 

(Visited 62 times, 1 visits today)
Loading comments...