शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

मन्त्री लालबाबुलाई प्रश्न : सर्वोत्कृष्ट कर्मचारी नभेटिएकै हो ?

ध्रुव लम्साल
1 month ago
10/09/2019

‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ सरकारले निजामती सेवा दिवस मनाएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गएको वर्ष पुरस्कृतको सूचीमा परेका ४० कर्मचारीलाई पुरस्कृत गरियो भने यस वर्ष पनि ४० उत्कृष्ट कर्मचारीको नाम सार्वजनिक गरियो । दुःखको कुरा पोहोर जस्तै यसपाली पनि सर्वोत्कृष्ट कर्मचारीको नाम सार्वजनिक हुन सकेन । परिणाम हेर्दा लाग्छ, नेपालमा सर्वोत्कृष्ट कर्मचारीको खडेरी रहेछ ।

सरकारले पछिल्ला केही वर्षदेखि एक जनालाई सर्वोत्कृष्टसहित ४१ कर्मचारीलाई पुरस्कृत गर्दै आएको थियो । यसपाली सर्वोत्कृष्ट कर्मचारीको सूची खाली रह्यो । सरकारले हरेक वर्ष सर्वोत्कृष्ट कर्मचारीलाई नगद २ लाख रुपैयाँ दिने गरेको थियो । यसलाई यसरी बुझौं, सर्वोत्कृष्टको सूची खाली राखिँदा नेपाल सरकारलाई वार्षिक २ लाख रुपैयाँ बचत भएको छ ।

निजामती कर्मचारीको काम गर्ने शैलीप्रति असन्तुष्ट रहँदै आएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको केही भाषणमा पक्कै नयाँ वाक्य बोल्ने छन् । उनले भन्न सक्ने छन्, ‘हामीले निकै मेहनत गरेर खोज्दा पनि सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेनौं ।’ उनको भाषणमा ताली राम्रै बज्ने छ । किनकी हामी हाम्रो निजामती प्रशासनप्रति सन्तुष्ट छैनौं । निजामती सेवामा रहेका केही कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहारका कारण समग्र कर्मचारीलाई हेर्ने हाम्रो दृष्टिकोण नकारात्मक छ ।

साँच्चै सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो कि भेटेर पनि नभेटिएको जस्तो गरेको ? दुई तिहाईको सरकार भएको मुलुकमा तीन तहमा गरेर अहिले ९९ हजार ५७२ कर्मचारी छन् । ति मध्ये एकजना पनि पुरस्कृतयोग्य पात्र भेटिँदैन भने हाम्रो प्रशासनिक संयन्त्र कस्तो छ ? पुरस्कार पाउन योग्य कर्मचारी उत्पादन गर्नु सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको दायित्व हो कि होइन ?

यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र नवीकरण गर्न जाँदा कर्मचारीले दलाल मार्फत आउन गरेको आग्रह वा मालपोत कार्यालयमा जग्गा किनबेचका क्रममा जाँदा भोगेका सास्ती खेपेकाहरुका लागि मन्त्री पण्डितको भाषणमा ताली बजाउँदा औधी स्वाद लाग्छ । मुलुकमा शासन व्यवस्थाको शीर्षक फेरियो, सत्तामा आउने पात्र परिवर्तन भए तर, हाम्रो प्रसासनिक संयन्त्रमा बस्ने कर्मचारीको मानसिकता परिवर्तन भएन । कुनै पनि सरकारी कार्यालयमा जायज काम गर्न जाँदा पनि जायज काम समयमा नगरिदिने कर्मचारीलाई सम्झाउन, बुझाउन वा थर्काउन हाम्रो हिम्मत आउँदैन तर, सामान्य प्रशासनमन्त्रीको भाषण सुनेर ताली बजाउन हामीलाई मज्जा लाग्छ ।

यही सन्दर्भमा सामान्य प्रशासनमन्त्रीलाई एउटा प्रश्न सोध्न मन लाग्यो । साँच्चै सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो कि भेटेर पनि नभेटिएको जस्तो गरेको ? दुई तिहाईको सरकार भएको मुलुकमा तीन तहमा गरेर अहिले ९९ हजार ५७२ कर्मचारी छन् । ति मध्ये एकजना पनि पुरस्कृतयोग्य पात्र भेटिँदैन भने हाम्रो प्रशासनिक संयन्त्र कस्तो छ ? पुरस्कार पाउन योग्य कर्मचारी उत्पादन गर्नु सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको दायित्व हो कि होइन ? यसको पनि जवाफ मन्त्री पण्डितले दिनु पर्छ ।

कसरी छानिन्छ

पुरस्कार पाउन योग्य कर्मचारी छान्नका लागि मुख्य सचिवको अध्यक्षतामा पुरस्कार सिफारिस समिति हुन्छ । सोही समितिले सरकारलाई पुरस्कृत कर्मचारीको नाम सिफारिस गर्छ । विभिन्न मन्त्रालयले आफ्नो मन्त्रालयमा कार्यरत उत्कृष्ट कर्मचारीको नाम सिफारिस समितिलाई पठाउँछ । यस वर्ष पनि पहिलो चरणमा १५५ कर्मचारीको नाम पहिलो चरणमा छानिएको थियो । त्यही नाम मध्ये समितिले ४० जनाको नाम अन्तिम नामाबली सार्वजनिक गरेको थियो ।

समितिकै सुझाब अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनाले पाए । पुरस्कार पाउने योग्य भनेर समितिले सिफारिस गरेको नाममा प्रश्न गर्नु जायज नहोला ? तर, पुरस्कृतहरुमा धेरै नाम माथिल्लो दर्जाका कर्मचारी रहेकाले सिंहदरबार छेउछाउमा बसेर शक्तिकेन्द्र धाउनेहरुले नै धेरै अंक पाए भन्न धक मान्न पर्दैन ।

अहिले हामी लोकतान्त्रिक गणतन्त्रमा छौं । पहिला दलहरुको घोषणापत्र अहिले सरकारकै भाषाको कुरा गर्ने हो भने गाउँ गाउँमा सिंहदरवार स्थापना भएको छ । स्थानिय तहको निर्वाचनपछि गाउँमा स्थापना भएको सिंहदरबारमा बसेर धेरै कर्मठ कर्मचारीले सर्वसाधारण नागरिकलाई सरकार हुनुको अनुभुति गराइरहेका छन् । सिंहदरबार वा काठमाडौँकै एसी जडित कार्यकक्षमा बसेर काम गर्ने कर्मचारीका कुरा छाडौं । गाउँका कतिपय वडा कार्यलयमा न गतिलो पंखा छ न त हिटर । कतिपय वडा यस्ता पनि छन् । मोटर गुडेको हेर्न मन लाग्यो भने केही घण्टा हिँडेर जानुपर्छ । बिरामी हुँदा स्टेचरमा बोकिएर अस्पताल पुग्नु पर्ने बाध्यता छ । तैपनि सरकारको आदेश सिरोपर गर्दै पुगेकै छन् । जनताका काम गरिदिएकै छन् । दुर्गम क्षेत्रमा बसेर जनताको सेवा गर्नेहरु कति छन् यसपाली पुरस्कृत हुनेहरुको सूची हेरेरै भन्न सकिन्छ ।

योग्यहरु किन समेटिँदैनन् ?

कुनै पनि क्षेत्रमा सकारात्मक परिणाम खोज्ने हो भने राम्रा गर्नेलाई पुरस्कार र खराब काम गर्नेलाई दण्डको व्यवस्था हुनुपर्छ । निजामती सेवामा पनि यो प्रणाली छ । तर, प्रणालीको कार्यान्वयन प्रभावकारी रुपमा कहिल्यै भएन । राम्रो काम गर्नेलाई पुरस्कार र खराब काम गर्नेलाई दण्ड राणाकालमा पनि थियो । तत्कालीन समयमा राणाजीका चाकरी गर्ने र सत्ताधारीको भक्तिगाथा गाउनेहरु राष्ट्रवादी मानिन्थे । आफ्ना स्तुती गाउनेहरुलाई राणाहरुले क्रमश पुरस्कृत गर्दै गए । तिनकै आफन्तलाई सरकारी सेवामा समावेश गराउँदै गए ।

राणा शासन गयो पञ्चायत आयो । पञ्चायतकालमा पनि पुरस्कार छनौट राणाहरुकै शैलीमा हुन थाल्यो । जनताका काम गर्ने राष्ट्रसेवक कर्मचारी कहिल्यै पुरस्कारको हकदार भएनन् । राजदरवारसंग सम्बन्ध गाँसिएका कर्मचारीको चाकरी गर्नेहरु नै पुरस्कारको हकदार बने । कतिपय योग्य कर्मचारीलाई पछि पार्दै फन्टुसहरुले राष्ट्रले दिएको पुरस्कार आल्मारीमा सजाएर राखे ।

०४६ सालमा बहुदलीय प्रजातन्त्र पूर्नस्थापना भयो । ०६२, ०६३ मा त लोकतान्त्रिक गणतन्त्र नै स्थापना भयो । कर्मचारी मात्रै हैन सर्वसाधारणले पनि सोचे ‘हामी वास्तवमै सार्वभौम सम्पन्न भयौं । कतिपय इमान्दार कर्मचारी आशावादी पनि भए । ‘अब इमानको पनि इज्जत हुन्छ ।’ पुरस्कृत हुने वेलामा कर्मचारीको कार्यशैली र चरित्र भन्दा उसको पार्टीप्रतिको लगाव शक्ति केन्द्रसंगको सम्बन्ध पुरस्कारको मुख्य आधार बन्यो । मुख्यसचिवको अध्यक्षतामा बनेको पुरस्कार छनौट समितीमा अन्य कर्मचारी पनि हुन्छन् । उनीहरुको दायित्व भनेको उत्कृष्ट मध्ये सर्वोत्कृष्ट कर्मचारी छनौट गर्नु पनि हो । तर, सर्वोत्कृष्ट छानिँदैन किन पनि भने सर्वोत्कृष्ट पुरस्कार पाउने व्यक्तिका लागि त्यही उपाधी प्रमोशन लगायत अन्य कुनै पनि बेला फड्को मार्ने अस्त्र पनि बन्छ । एउटा कर्मचारीलाई सर्वोत्कृष्ट घोषणा गर्नु भनेको समितिमा बस्नेहरुको थोरै अंक घट्नु बराबर हो । आखिर समितिमा बस्ने पनि कर्मचारी नै हुन् भने अर्कालाई माथि जाने उपाय किन खोजिलिनु ? भेट्दै भेटिएन भन्यो ढुक्क ।

फेरि सामान्य प्रशासनमन्त्री पण्डितलाई मेरो अर्को प्रश्न : लगभग एक लाख निजामती कर्मचारीमा एकजना पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएन भनिरहँदा तपाइलाई लज्जाबोध हुन्छ कि हुन्न ? वा सर्वोत्कृष्ट नभेटिनुलाई आफ्नो एउटा महत्वपूर्ण उपलब्धि ठान्नु भएको छ ?

(Visited 207 times, 1 visits today)
Loading comments...