बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

उपचार पाए रोकिन्छ आत्महत्या : इलाममा पाँच वर्षमा ५ सय १३ जनाले गरे आत्महत्या

भगीरथ भण्डारी
1 week ago
11/09/2019

इलाम । इलामको सन्दकपुर गाउँपालिकाकी एक महिलाले आठ पटकसम्म आत्महत्याको प्रयास गरिन् । पटक–पटक आत्महत्याको प्रयास गर्दा उनलाई परिवारले बचाए । उनीमानसिक रोगबाट ग्रसित थिइन् । गाउँमानै उपचार पाएपछि उनको रोग निको भयो । आत्महत्या गर्नेक्रम बढेपछि गाउँपालिकाले गाउँमानै चिकित्सक ल्याएर मानसिक रोगीहरुको उपचार थालेपछि गाउँमा रहेका मानसिक रोगीले उपचार पाउनुका साथै आत्महत्या पनि रोकिएको छ ।

सन्दकपुर गाउँपालिकामा गत वर्षदेखि नै आत्महत्या रोकथाम कार्यक्रम संचालन भइरहेको छ । स्थानीय युनिट इन हेल्थ नामक संस्थासँगको साझेदारीमा गाउँपालिकाले सो अभियान संचालन गरेपछि गाउँपालिकामा आत्महत्या न्यूनीकरण हुँदै आएको गाउँपालिकाका अध्यक्ष उदय राईले बताएका छन् । उनले भने, ‘एक वर्षदेखि काठमाडौँबाट चिकित्सक ल्याएर गाउँपालिकामा सेवा दिइँदै आएको छ ।’ नजिकमा विषेशज्ञ चिकित्सक पनि नपाइने भएकाले महिनाको एक दिन काठमाडौँबाट चिकित्सक ल्याएर उपचार सेवा दिँदै आएको बताएका छन ।

प्रत्येक महिना मनोचिकित्सकको उपस्थितीमा सबै वडामा मानसिक रोग सम्बन्धी अन्तरक्रिया र शिविर संचालन गरी मनोविमर्श सेवा प्रदान गरिँदै आएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । अभियान संचालन भएपछि ९२ जनाले प्रत्यक्ष सेवा पाएको र सन्दकपुर गाउँपालिकाबाट एक जनाले पनि आत्महत्या नगरेको अधिकृत राईको दावी छ । सुर्योदय नगरपालिकमा २०७४/०७५ मा १६ जनाले आत्महत्या गरेका थिए । २०७५/०७६ मा १३ जनाले आत्महत्या गरेको वडाध्यक्ष देवेन्दै शर्माले बताए ।

इलाममा ५ वर्षको अवधिमा ५ सय १३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ३ सय १५ पुरुष र १ सय ९८ जना महिला रहेका छन् । अन्तरराष्ट्रिय आत्महत्या रोकथाम दिवस मनाइरहे पनि इलाममा आत्महत्या गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको जिल्ला प्रहरी कार्यलय इलामको तथ्याङ्कले देखाएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षमा दोश्रो वर्ष केही घटेपनि तेश्रो र चौथो वर्ष निरन्तर आत्महत्यादर बढेको पाइएको छ । त्यस्तै पाँचौ वर्ष कही घटेको भएपनि चालू आर्थिक वर्षको प्रारम्भमा नै आत्महत्या बढ्को पाईएको देखाएको छ ।

प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७१।७२ मा ९७ जनाले आत्महत्या गरेका थिए । ५६ पुरुष र ४१ महिलाले आत्महत्या गरेका थिए । जसमध्ये सबैभन्दा बढी ९१ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ५ जनाले बिष सेवन गरेर र १ जनाले हाम फालेर आत्महत्या गरेका थिए ।

आर्थिक वर्ष ०७२/७३ मा ५७ पुरुष, ३९ महिला, ४ बालक र २ बालिकासहित ९४ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये सबैभन्दा बढी ९१ जनाले झुण्डिएर तथा एक एक जनाले विष सेवन गरेर, आगो लगाएर र हाम फालेर आत्महत्या गरेका थिए । त्यस्तै आव ०७३/७४ मा १ सय ८ जनाले आत्महत्या गरेका थिए । ६२ पुरुष र ४४ महिला तथा एक एक जना बालक र बालिकले आत्महत्या गरेका थिए । जसमध्ये सबैभन्दा बढी ९९ जनाले झुण्डिएर, ८ जनाले विष सेवन गरेर र १ जनाले हाम फालेर आत्महत्या गरेका थिए ।

आव ०७४/७५ मा १ सय ११ जनाले आत्महत्या गरे । ७२ पुरुष र ३७ महिला तथा एक एक बालिकाले आत्महत्या गरेका थिए । जसमध्ये सबैभन्दा बढी ९२ जनाले झुण्डिएर, १६ जनाले विष सेवन गरेर र एक एक जनाले आगो लगाएर, हाम फालेर र औजार हतियार प्रयोग गरेर आत्महत्या गरेका थिए ।

त्यसैगरी आव ०७५/०७६ मा भने आत्महत्याको संख्या घटेको छ । यस अवधिमा ६३ पुरुष, ३४ महिला र २ बाललकले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये सबैभन्दा बढी ९२ जनाले झुण्डिएर, ६ जनाले विष सेवन गरेर, १ जनाले हाम फालेर र २ जनाले औजार हतियार प्रयोग गरेको पाइएको छ ।

त्यस्तै चालू आवको साउनमा ११ जनाले आत्महत्या गरिसकेका छन् । जसमध्ये ५ पुरुष, ३ महिला, १ बालक र २ बालिका रहेका छन् । आत्महत्या गरेका सबैले झण्डिएर आत्महत्या गरका छन् ।

विश्वमा वार्षिक ८ लाख आत्महत्या गर्दै
उता विश्वलाई हेर्ने हो भने वार्षिक ८ लाख जनाले आत्महत्या गर्ने गरेको पाईएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने गरेका छन् । विश्वमा ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछन् । आत्महत्या गर्ने भन्दा आत्महत्याको प्रयास गर्ने २० गुणा बढी भएको अनुमान विश्व स्वास्थ्य संगठनको छ ।

मानिसले आत्महत्या गर्नुको कारण दुख खप्न नसकेर भनिने गरिन्छ भने कतिपय मानिसले आर्थिक समस्याका कारण पनि आत्मा हत्या गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । कसैलाई भने मानसिक स्वास्थ्य आत्महत्याको कारण बन्न पुग्दछ । मानसिक स्वास्थ्यले ति व्यक्तिहरुलाई यो अवस्थामा ल्याइदिन्छ कि कतिलाई त पत्तो पनि हुदैन उनीहरु आफ्नै जीवन नास गर्न जाँदैछन् ।

विगत ४५ वर्षमा विश्वमा आत्महत्याको दर ६० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको छ । ती मध्ये १५–४४ वर्ष उमेर रहेका छन । आत्महत्याको उमेरअनुसारको तथ्याङ्क हेर्ने हो भने १५–४४ उमेरसमूहका ५५ % र ४५ वा सोभन्दा माथि उमेरसमूह ४५ % रहेको पाइएको छ । विश्वमा हुने आत्महत्यामध्ये झण्डै ३९% आत्महत्या दक्षिण–पूर्वि एसियामा हुने गर्दछ । आत्महत्या गरेर जती व्यक्तिहरुको मृत्यु भइरहेको हुन्छ त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने गरेको छ । प्राय महिलाहरु पुरुषहरुको तुलनामा बढी आत्महत्याको प्रयास गर्दछन् ।

(Visited 32 times, 1 visits today)
Loading comments...