बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

झोलुंगे पुलले विद्यालय नियमित

विश्वनाथ सिम्खाडा
1 week ago
11/09/2019

कालिकोट । वर्षातको समयमा अधिकांश दिन विद्यालय जान मुस्किल थियो । बालबालिका एक्लै खोला तर्न नसकेपछि अभिभावक आफैंले जोखिम मोलेर खोला तार्ने र विद्यालय समय सकिएपछि लिन जानुपर्ने अवस्था थियो ।

वषौंदेखि यस्तै समस्या खेप्दै आएका जिल्लाको नरहरिनाथ गाउँपालिका लालुका स्थानीयलाई खहरे खोलामा झोलुंगे पुल निर्माण हुँदा गाउँमा ठूलै हर्ष छाएको छ । पुल नहुँदा वर्षाको समयमा कोटवाडा र लालु गाँउ आवत–जावतमा मुस्किल थियो । सडक नपुगेको यो ठाँउमा पैदल हिँडेर किनमेलका लागि रगाडा बजार आउनुपर्ने बाध्यता थियो। तर अब पुल निर्माण भएपछि जंगार तरेर ओहोर–दोहोर गर्नु पर्ने बाध्यता हटेकाले स्थानीयले राहतको महसुस गरेका छन् ।

नरहरिनाथ गाँउपालिका–२ कोटवाडा र वडा नम्बर ८ लालु गाउँलाई जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो । पुल निर्माण भएपछि स्थानीय उत्पादन बजारसम्म लैजान पनि सहज हुने भएको छ । औषधि उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता थियो । अब पुल तरेर ओल्लो गाउँ पोल्लो गाउँ गर्न पाउँदा स्थानीय खुसी छन् ।

‘युवा र प्रौढ उमेरका मानिसहरु जोखिम मोलेर भए पनि खहरे खोला तर्ने गर्दथे,’ स्थानीय विद्यार्थी सुस्मा विस्टले भनिन, ‘हामी विद्यालय उमेरका बालबालिका भने खोला बढेको दिनमा विद्यालय नै जादैनथ्यौं। अब भने ढुक्कले हिउँद र वर्षा दुवै समयमा विद्यालय जान पाइने भइयो।’

गाउँपालिका भए पनि गाउँपालिकामा रहेका ९ वटै वडाहरुमा सडक पुगेको छैन । पूर्वाधार पनि पुगेको छैन । प्रशासनिक कामकाजका लागि वडामा आउन पनि समस्या छ । जोखिम मोलेर जंगार तरेर ओहोर–दोहोर गर्नुप्रर्दा स्थानीयले वर्षौँदेखि पुल निर्माणको माग गरेका थिए । ‘वर्षौंदेखि यो समस्या थियो । तर स्थानीयको जिल्ला र केन्द्रसम्म पहुँच नहुँदा पुल निर्माण हुन सकेको थिएन,’ वडा नम्बर ८ का अध्यक्ष राजेन्द विस्टले भने, ‘अहिले जनप्रतिनिधि आएपछि विभिन्न संघसंस्था, नगरपालिका र श्रमदानबाट झोलुंगे पुल निर्माणको काम सम्पन्न भएको छ ।’

कर्णालीमा झोलुंगपुल निर्माणको जिल्ला पाएको हुरेन्डेक नेपालले स्थानिय जनप्रतिनिधिहरुको आग्रहमा लालुको रगाडा खोलामा पुल भएपछि वषौं देखि जोखिम मोल्दै आएका स्थानिय पुल तरेर ओहर दोहर गर्न थालेका छन् । रगाडा खोला मात्र होइन यसै वर्षमा हुरेन्डेक नेपालले जिल्लाका विभिन्न क्षेत्रका खोलामा २१ वटा झोलुंगेपुल निर्माण गरेको छ ।

(Visited 36 times, 1 visits today)
Loading comments...