शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

हेलम्बु गाउँपालिका अरु स्थानीय तहभन्दा अग्रपंक्तिमा छ

दिनेश थापा
1 month ago
12/09/2019

निमाग्याल्जेन शेर्पा, अध्यक्ष, हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिकाले अहिले सबैको ध्यान खिच्ने गरी गाउँपालिकाकै स्रोतबाट ग्रेट ट्रेल निर्माण गरिरहेको छ । चीनको ग्रेटवालसँग तुलना गरिएको यो ट्रेल निर्माण सम्पन्न भएपछि आन्तरिक र बाह्य पयर्टकलाई आर्कषित गर्न सजिलो हुने गाउँपालिकाको विश्वास छ । हरेक आ.व.को चैत महिनाभित्रै ८० प्रतिशत योजना सम्पन्न गर्ने लक्ष्य लिएर अघि बढिरहेको हेलम्बु गाउँपालिकाको विकास निर्माणमा देखा परेका समस्या, चुनौती र संभावनाहरुमा केन्द्रित रही पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पासँग राजधानीकर्मी दिनेश थापाले गरेको कुराकानीको संपादित अंश :

 

स्थानीय सरकारको नेतृत्व सम्हालेपछिको अनुभव कस्तो रह्यो ?

पहिले स्थानीय निकाय र अहिलेको स्थानीय सरकारमा धेरै फरक पाएँ । अहिलेको स्थानीय तहले धेरै कुराहरुमा आफैँले दायित्वबोध पर्ने अवस्था छ । जिम्मेवारी धेरै छन् । करिब १३वटा अधिकार क्षेत्र त संविधानमै किटान गरिएको छ । स्थानीय तह सबैभन्दा सुरुआतको अर्थात् गाउँको सरकार भएकोले कामको चाप धेरै छ । ऐन, कानुनसमेत आफैँले बनाएर जानुपर्ने भएकाले कठिनाइ एकातिर छ भने अर्कातिर जनताको तीब्र विकासको चाहान र आवश्यकतालाई पनि तत्काल सम्बोधन गर्नुपर्ने बाध्यता छ । त्यसैले मिश्रित अनुभव गरिरहेको छु ।
सबै कुरा मिलाएर अघि बढ्न कठिनाइ भएपनि सुरुमा शिक्षा, स्वास्थ्य लगायतका अलि बढी सम्वेदनशील सवाललाई लिएर ऐन, कानुनहरु निर्माण सम्पन्न ग¥यौँ । कृषि क्षेत्रमा खेतियोग्य जमिन सबै सकिने अवस्था आयो । राम्रो धान फल्ने खेतहरु मासिन थाले । खेतहरुमा मानवबस्ती बिस्तार गर्ने कुरालाई कसरी नियन्त्रण वा व्यवस्थित गर्ने भन्ने विषय समस्या छ । यो निकै चुनौतिको विषयको रुपमा छ । खेती गर्ने प्रयोजनभन्दा बाहेक जग्गाको उपयोगलाई कडाइ गर्नुपर्ने महसुस भएको छ ।

विभिन्न विषयमा ऐन, कानुनहरु निर्माण गरियो भन्नु भयो । शिक्षा क्षेत्रमा चाहिँ हेलम्बु गाउँपालिका कसरी अघि बढीरहेको छ ?

हामीले शिक्षा क्षेत्रमा धेरै सुधारका काम अघि बढाएका छौँ । हेलम्बु गाउँपालिका भित्र एउटा नमुना विद्यालय निर्माणका लागि प्रक्रिया अघि बढाएका छौँ । शिक्षाका लागि आवश्यक सबै ऐन, कानुनहरु निर्माण गरिसकेका छौँ । भुकम्पपछि ध्वस्त भएका विद्यालयका भौतिम संरचना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सबै संघसंस्थाको सहकार्यमा हामीले राम्रा विद्यालय भवनहरु निर्माण गर्न सफल भएका छौँ । नमुना र केही दीर्घकालीन महत्वका कामहरु सुरु गर्न बाँकी छ । शैक्षिक विकासका लागि संरचनामा भन्दा शैक्षिक गुणस्तर सुधार गर्न केही नयाँ अभ्यास सुरु गरेका छौँ ।
यहाँका केही विद्यालयमा संस्कृत र केही विद्यालयमा ह्योल्मो भाषा पढाउन सुरु गरेका छाँै । ब्राह्मण, क्षेत्री र जनजातिका बालबालिका एकै थलोमा बसेर ह्योल्मो र संस्कृत भाषा पढिरहेका छन् । यसले साँस्कृतिक समन्वय र धार्मिक सदभाव बढाउन ठूलो योगदान गर्ने अपेक्षा लिइएको छ । एउटा जाति र समुदायले अर्को भाषा र संस्कृति जान्न, बुझ्न सकोस भनेर यसो गरिएको हो । यहाँ हिन्दुहरुले लामा र बौद्धमार्गीले संस्कृत पढ्ने व्यवस्था मिलाइएको छ ।

हेलम्बु गाउँपालिका विकासमा पहिलो प्राथमिकता के हो ?

तत्काललाई त शिक्षा क्षेत्र र दीर्घकालीन रुपमा आर्थिक समृद्धिका लागि पर्यटन नै यहाँको सबैभन्दा पहिला आधार हुन् । पर्यटनको विकासबाट आयआर्जन गर्न सकिने संभावना छ । हामी कहाँ धेरै उर्वरक जमिन छैन । नेपालको पर्यटन इतिहासलाई हेर्दा पहिलो पटक ट्रेकिङको सुरुआत देशमै पहिलो पटक हेलम्बुबाट भएको हो । सबैखाले हावापानी र मौसममा भ्रमण गर्न सकिने यो क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । त्यसैले हामी यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्राथमिकतासाथ लागेका छौं ।
काठमाडौं बसोबास गर्ने लाखौं मानिसका लागि नजिकको गन्तव्य हो हेलम्बु । उपत्यकाका ४०÷६० लाख मान्छेमध्ये केहीलाई वर्षको एकचोटी यहाँ ल्याउन सकिए पनि आन्तरिक पर्यटनबाटै हेलम्बु समृद्ध बन्न सम्भव छ । यहाँको स्याउ, आलु, चिज, छुर्पि जस्ता बस्तुहरुको उत्पादन अहिले पनि मानिसको मागको बस्तु हो ।
धार्मिक पर्यटनका हिसावले सात सय बर्ष पुरानो चिरी गुम्बादेखि पाल्चोकीमाईको मन्दिर र बौद्ध गुम्बा रहेका छन् । हामीले मुलुककै सबैभन्दा लामो र आकर्षक एक मात्र ग्रेट ट्रेलको निर्माण सुरु गरीसकेका छौँ । अहिले सानोस्केलको काम भएकाले उपभोक्ता समितिमार्फत अघि बढाएका छौँ । लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रपर्ने भएकाले केही कानुनी व्यवधानहरु सल्टाउनु छ । करिब ६० किलोमिटर ट्रेल निर्माण गर्ने लक्ष्य राखिएको छ ।
भेमथाङ भन्ने ठाउँमा पर्यटक गाइड तथा हिमाल आरोहण ट्रेनिङको अभ्यास केन्द्र बनाउनेबारे पनि सोचेका छौँ । यहाँबाट धेरै हिमाल देख्न र आरोहण गर्न सकिन्छ । बौद्धसर्किट बिकासको लागि पनि छलफल तथा अभ्यास गर्ने योजना बनाएका छौँ । पर्यटन क्षेत्रको विकासको लागि हामीले सरकारी तयारी एकढंगले गरेका छौँ भने नीजि क्षेत्रका लगानीकर्तालाई पनि आकर्षित गराउने पनि हाम्रो योजना छ ।

हेलम्बु स्याउको लागि प्रख्यात थियो । अहिले के हँुदैछ स्याउ खेती ?

देशभर ख्याती कमाएको हेलम्बुको स्याउलाई हामीले पुनः उत्पादनमा जोड दिएका छौँ । यस बर्ष केही मात्रामा स्याउ फले पनि बजारसम्म पुग्ने अवस्था भएन । भए पनि थोरै भयो । अब स्याउ बिज्ञहरुलाई ल्याएर ठूलो मात्रामा उत्पादनका लागि सम्भाव्यता अध्ययन गराउँछौँ । केही बर्षभित्र अन्यत्रकालाई बिस्थापित गर्ने गरी हामी यहाँको स्याउ उत्पादन गर्ने योजनाकासाथ लागेका छौँ ।

यहाँको गाउँपालिकालाई कसरी अग्रपंक्तिमा ल्याउँदै हुनुहुन्छ ?

गाउँपालिका नीति, कार्यक्रमलाई कार्यान्वयन गर्ने सन्दर्भमा अरुभन्दा केही अगाडी छौं हामी । उपभोक्ता समिति निर्माण गरेर कात्तिक–मंसिरभित्र योजनाहरु सम्झौता सकेर चैत्र मसान्तसम्म सबै योजनाका काम सक्ने कार्यतालिका छ । ऐनमा नै हामीले यस्तो व्यवस्था गरेका छौँ ।
टेन्डरमार्फत गर्नुपर्ने काम भने निकै नै झन्झटिलो हुने भएकाले कठिनाइ हुने अनुभव गरियो । हामीले टेन्डरमार्फत् काम गर्ने ठेकेदारलाई पनि समयमै सक्ने पहिलो शर्तमा हिँडाउन सकेका छौँ । त्यसैले हेलम्बु गाउँपालिका योजना कार्यन्वयनको सवालमा अघि नै छ भन्ने लाग्छ ।

 

 

शैक्षिक विकासका लागि संरचनाभन्दा पनि
शैक्षिक गुणस्तर सुधारमा हामीले
ध्यान केन्द्रित गरेका छौंं ।

दीर्घकालीन आर्थिक समृद्धिका लागि पर्यटन
नै यहाँको सबैभन्दा पहिलो आधार हो ।

हामीले देशकै लामो र आकर्षक
एक मात्र ग्रेट ट्रेलको
निर्माण सुरु गरिसकेका छौँ ।

स्थानीयलाई पायक पर्ने र सेवाग्राहीलाई
बहुआयामिक आकर्षण दिने ठाउँमा
गाउँपालिका केन्द्र बनाउने कुरामा ध्यान दिएका छौं

हामी राजधानीवासीलाई मेलम्ची पानी
खुवाउन आतुर छौँ । मेलम्चीको पानी लैजानको
लागि सहयोग गरिरहेका छौँ ।

 

कच्ची सडकहरु कसरी व्यवस्थापन गर्दै छ ?

बोल्ने अनि भुल्ने नेपालीको बानीमा परिवर्तन आउनु जरुरी छ । मैले बोलेको कुरा पूरा गर्दै आएको छु । नपुगेका कुराहरु कार्यकाल भित्र पूरा गर्छौं भन्ने योजनासाथ हामी अघि बढिरहेका छौँ ।
यो वर्ष हामीले कतिपय सवारी नचल्ने सडकहरुलाई बिस्तार र स्तरोन्नति गरी बर्खा र हिउँद याममा नै सावरी चल्ने बनायौँ । सडक फराकिलो पनि बनाइयो । आवश्यक प्रविधिको प्रयोग गरी नियमित सवारी सञ्चालन हुने अवस्थाको सिर्जना गरिएको छ । यतिले मात्रै पुग्दैन । सबैतिरका जनताले सहजरुपमा विकासको उपभोग गर्न पाउनुपर्छ भन्नेमा सचेत भएर लागिपरेका छौँ ।

गाउँपालिका केन्द्रबारेमा विवाद रहेको भनेर अख्तिायरमा समेत उजुरी परेको चर्चा बाहिर आएको छ नि ?

हेलम्बु गाउँपालिका केन्द्रको विषयमा कुनै विवाद नै छैन । गाउँपालिकाको स्थायी केन्द्र कहाँ बनाउने भनेर छलफल सुरु भएको छ । म निर्वाचित आउनुभन्दा पहिला नै साविकको किउलमा केन्द्र बनाउने निर्णय भएको रहेछ । गाउँपालिकाको केन्द्र निर्धारण गर्ने जस्तो महत्वपूर्ण कुरामा हामी बिवादबिनै सुल्झाउनु पर्छ भन्ने मान्यतामा छौँ । कार्यपालिकाभित्र कसैले पनि गुनासो वा गलत चर्चा गर्नु भएको छैन । बाहिर कसले के भन्छ, हामी त्यसको पछि लागेर साध्य पनि हुँदैन ।
यसको लागि विभिन्न विकल्प खोजी भइरहेको छ । सकेसम्म स्थानीयलाई पायक पर्ने र सेवाग्राहीलाई बहुआयामिक आकर्षण पैदा हुने क्षेत्रमा केन्द्र बनाउनु तरखरमा छौं । कार्यपालिकाको बैठकमा सर्वसम्मत निर्णय गर्ने अनि कार्यान्वयनमा लैजाने बेलामा चाहिँ अध्यक्षले एकलौटी ढंगले निर्णय गरे भनेर चर्चा गर्नु सान्दर्भिक हुँदैन ।

राजधानीवासीलाई मेलम्ची पानी दिंदा स्थानीयले पाउने रोयल्टीको विषयमा गाउँपालिकाको धारणा के छ ?

हामी राजधानीवासीलाई मेलम्ची पानी खुवाउन आतुर छौँ । छिटोभन्दा छिटो मेलम्चीको पानी राजधानी लैजानुपर्छ भन्ने मान्यतामा हामी अडिग छौँ । तर मेलम्ची आयोजनाले स्थानीयलाई चरम बेवास्ता गर्दै अघि बढिरहेको छ । हामीले राष्ट्रिय गौरवको आयोजना बिथोल्नु हुँदैन भनेर नयाँ र आवश्यक मागहरु पनि राखेका छैनौँ । तर आयोजनाले पहिले बाचा गरेका कामहरु पनि पूरा गरेका छैन । स्थानीय ठेकेदारहरुको पैसा तिरेको छैन । उधारोमा काम गरेका स्थानीय साना व्यापारीलाई समेत रुवाएका छन् । एउटा सडक राम्रोसँग बनाइ दिएको छैन आयोजनाले । समय सीमा भित्र काम गरेको पनि छैन ।

केन्द्र र प्रदेश सरकारसँग काम गर्न असहज भएको अनुभूति त छैन ?

पटक्कै छैन । म काम गर्नुपर्छ मान्यतालाई बढी जोड दिन्छु । काम गर्ने मान्छेलाई नसघाउनेहरु आफैँपछि पर्ने अवस्था आउँछ । अहिलेका प्रदेश तथा संघीय सरकारको प्राथमिकता पनि जनपक्षीय काम परिणाममुखी ढंगले गर्नु नै भएकाले मलाई त्यस्तो कुनै असहज अवस्था छैन ।
राम्रो काम गर्न लाग्दा राजनीतिक आस्थाकै आधारमा असहयोगको नीति लियो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैन । मभन्दा माथिका जनप्रतिनिधिहरुले यो कुरालाई राम्रोसँग बुझेको पाएको छु । म अलि समन्वयकारी स्वभावको मान्छे पनि भएकाले मलाई काममा त्यस्तो नियत राखेर असहयोग कतैबाट भएको पाएको छैन ।

 

(Visited 580 times, 1 visits today)
Loading comments...