बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

लुक्लाको समिट एयर दुर्घटनाको कारण मानवीय त्रुटि

राजधानी समाचारदाता
4 days ago
14/09/2019

काठमाडौं। गत वैशाख १ मा तीन जनाको ज्यान जानेगरी लुक्लामा भएको समिट एयरको एन–एएमएचएलइटी–४१ वायुयान दुर्घटना मानवीय त्रुटिका कारण भएको पाइएको छ । सो दुर्घटनाबारे गठित छानबिन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगश भट्टराईलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा सो विमानका चालकले समयमै उचित निर्णय लिन नसक्दा विमान दुर्घटना भएको उल्लेख छ ।

विमानका दुवै इन्जिन कन्ट्रोल गर्ने ‘पावर लिभर’लाई सही तरिकाले उपयोग गर्न नसक्दा सो विमान दायाँतर्फ मोडिएको र पाइलटले त्यसलाई सच्याउने निर्णय लिनु अगाडि नै विमान दुर्घटनामा परेको छानबिन आयोगको निष्कर्ष रहेको छ । मन्त्रालय स्रोतकाअनुसार जहाज, इन्जिन तथा अन्य सबै अवस्था सही थियो । कुनै पनि उपकरणमा खराबी थिएन । पावर लिभर नामक उपकरणका माध्यमबाट दुवै इन्जिनलाई कन्ट्रोल गरिन्छ । कारणवश यसले दुवै इन्जिनमा काम नगर्दा विमान दायाँतर्फ मोडिएको थियो । त्यसको दुई र तीन सेकेन्डमै दुर्घटना भयो । यदि फराकिलो धावनमार्ग भएको भए या भिरालो संरचना नभएको भए पनि चालकसँग विमान नियन्त्रणमा लिनसक्ने समय हुने र सो विमान दुर्घटना हुने सम्भावना टर्ने सम्भावना रहेको आयोगको निष्कर्ष रहेको छ ।

गत वैशाख १ मा भएको समिट एयरको (एन–एएमएच, एलइटी–४१) वायुयान दुर्घटनामा दुई प्रहरी र पाइलटको मृत्यु भएको थियो । लुक्ला विमानस्थलबाट काठमाडौं उड्ने तयारीमा रहेको सो विमान धावनमार्गमा चिप्लिएपछि ग्राउन्डमा रहेका प्रहरी असई रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठलाई किचेको थियो भने समिटकै को–पाइलट सुदीप ढुंगानाको निधन भएको थियो । दुर्घटनाको क्रममा धावनमार्गबाट चिप्लएको सो विमानले विमानस्थलमा पार्किङमा राखिएको मनाङ एयरको हेलिकोप्टरलाई समेत ठक्कर दिएर थिचेको थियो ।

सो विमान दुर्घटनापछि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन आयोग गठन गरेको थियो । प्रारम्भिक प्रतिवेदनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड तथा नेपालको प्रचलित कानुनबमोजिम सम्बन्धित मुलुक तथा निकायमा पठाएर ६० दिनसम्म राय सुझाव लिने र त्यसका आधारमा अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रालयले जानकारी गराएको छ ।

 

 

(Visited 27 times, 1 visits today)
Loading comments...