बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

नाम मात्रका सहुलियत पसल, सहुलियत र खुद्रा पसलको मूल्य उस्तै

कौशिला कुँवर
4 days ago
14/09/2019

काठमाडौं।  विगत लामो समयदेखि सरकारले दसैं, तिहार र छठपर्वलगायतका चाडपर्वका लागि भनेर सहुलियत पसल सञ्चालन गर्दै आएको छ । त्यसलाई नै निरन्तरता दिँदै सरकारले यसवर्षको दसैं, तिहार र छठपर्वका लागि गत सोमबारदेखि देशभरि ७३ स्थापनमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । तर, सरकारले लक्षित वर्गका लागि सञ्चालन गरेका सहुलियत पसलबाट उपभोक्ताले अहिले सहुलियतको कुनै अनुभूति गर्न पाएका छैनन् । सहुलियत र अन्य खुद्रा पसलमा भएका दैनिक उपभोग्य वस्तुलगायत विभिन्न सामानको मूल्यमा खासैअन्तर नभएकाले अहिले सहुलियत पसल पुग्ने सर्वसाधारणले यस्ता किसिमका पसलबाट सहुलियतको कुनै अनुभूति गर्न नपाएका हुन् । सरकारले सञ्चालन गरेका सहुलियत पसलसम्म आइपुग्दा आउने जाने भाडाले सामानभन्दा बढी महँगो हुन आउँछ । सहुलियत पसलसम्मको भाडा जोड्दा उपभोक्ताले सहुलियत पसलभन्दा सस्तो नजिकैको खुद्रा पसलबाट पाउँछन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पाउने ३ करोड जनताका लागि सरकारले देशभर जम्मा ७३ वटा सहुलियत पसल सञ्चालन गरेर लक्षित उपभोक्ताले सहुलियतको अनुभूति नहुने बताए । सरकारले चाडपर्वमा आवश्यक सामानमा उपभोक्तालाई सहुलियतको अनुभूति गराउन निश्चित समय अवधिका लागि नीति बनाउनुपर्ने बताउँदै महर्जनले भने, ‘सरकारले निश्चित समय अवधिका लागि निश्चित वस्तुमा सबै व्यापारीलाई कर र भ्याट छुटको व्यवस्था गर्नुपर्छ ।’

‘यो व्यवस्थाले सरकारले चाडपर्वमा दिइँदै आएको सहुलियतको अनुभूति गर्ने पाउनेछन् । चाडपर्वमा सहुलियत पसल भनेर सीमित पसल सञ्चालन गरेर लक्षित वर्गले सहुलितको अनुभूति गर्न पाउँदैनन्,’ उनले भने । उनले सरकारले सञ्चालन गरेको सहुलियत पसलले बजारमा हुने मनपरि मूल्य केही नियन्त्रण भए पनि यसबाट सीमित उपभोक्ताले मात्र फाइदा लिएको बताए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले सरकारले चाडपर्वलाई लक्षित सञ्चालन सहुलियत पसल नामका मात्र सहुलियत भएका बताए । उनले बाहिर खुद्रा पसलभन्दा सरकारले सञ्चालन गरेका सहुलियत पसलको सामान महँगो भएको बताए । चाडपर्वमा सहुलियत पसलका लागि छुट्याएको बजेट खाने काम मात्र भएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । उनले सहुलियत पसलभन्दा बाहिरी खुद्रा पसलमा सामान सस्तो हुँदा सरकारले ‘सहुलित पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ निर्धारण गरिएको छ’ ‘विगमार्ट भाटभटेनीजस्तो पसलमा चिनी प्रतिकेजी ६२ रुपैयाँमा पाइन्छ’ । ‘उपभोक्तालाई राहत दिनका लागि सञ्चालन गरेका पसलमा बजार मूल्यभन्दा बढी हुन्छ भने सहुलियत कसरी सहुलियत पसल हुन्छ । सरकारले चाडपर्वमा मात्र नभएर बजार मूल्य नियन्त्रण गर्न संघ प्रदेश र ७ सय ५३ स्थानीय तहमा सहुलियत पसल सञ्चालन गर्नुपर्छ । ७ सय ५३ स्थानीय तहमा महुलियत पसल सञ्चालन गरे भने लक्षित उपभोक्ताले सहुलियतको अनुभूति गर्न पाउनेछन् । सरकारले सञ्चालन गरेको सहुलियत पसल नहुनेका लागि भन्दा हुने खानेले लाभ लिइरहेका छन्,’ अध्यक्ष तिमिल्सिना भने ।

 

सरकारले यस वर्षको दसैं, तिहार र छर्ठपर्वका लागि गत सोमबारदेखि देशभरि ७३ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ

 

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले सरकारले सञ्चालन गरेका सहुलियत पसल बजार मूल्य नियन्त्रण गर्ने नमुना मात्र भएको बताए । उनले सहुलियत पसलले बजारमा अन्य व्यापारीले उपभोक्तालाई मनपरि मूल्य नलिने उद्देश्यले सञ्चालन गरेको बताए । उनले चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले लामो समयदेखि सहुलियत पसल सञ्चालन गर्दै आएको बताए । उनले काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लाका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको बताए ।

सहुलियत पसलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगतका संयोजनमा साल्टट्रेडिङ कर्पाेरेसन, खाद्यव्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी)ले सहुलियतमा सामान उपलब्ध गराएका छन् । सहुलियत पसलमा मोटा चामल, प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच, खसीबोका प्रतिकेजीमा १० रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिएको छ । डीडीसीले प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिनेछ ।

सुपथ पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ, नुन प्रतिकेजी १८ रुपैयाँ, जापानिज चामल प्रतिकेजी ६१, अरुवा जिरा मसिनो चामल ५०, सोना मन्सुली चामल४२, बास्मती चामल ७३, गोरखनाथ चामल ४८ र इन्डक्सन चुलो ४ हजार रुपैयाँ मूल्य राखिएको छ । यस्तै, घिउमा प्रतिकेजी ८ सय ५० कायम गरिएको छ । यसैगरी, कर्णालीको सिमी प्रतिकेजी १ सय २०, फापर ७० रुपैयाँ रहेको छ ।

कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन रहेका छन् । यसैगरी, डीडीसीले उपत्यकामा लैनचौर, न्युरोड र खुमलटार र एकीकृत घुम्ती सेवामार्फत घिउ, पनिर बिक्री गर्ने भएको छ । यसैगरी, उपत्यकाबाहिर विराटनगर, जनकपुर–ढल्केवर, जनकपुर हैटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी र बुटवलमा गरी ११ ठाउँमा छन् ।

 

(Visited 47 times, 2 visits today)
Loading comments...