शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

मध्यरातमा बृद्ध दम्पती लुटिए

राजधानी समाचारदाता
1 month ago
17/09/2019

लमजुङ । लमजुङमा मध्यरातमा हतियार प्रयोग गरी एक बृद्ध दम्पत्ति लुटिएका छन् । हतियारधारी समूहले घरभित्र सुतिरहेका बृद्धबृद्धालाई अन्दाधुन्द धारिलो हतियार प्रयोग गरी लुटिएको प्रहरीले जनाएको छ । सो घट्ना जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदी गाउँपालिका– ३, टुनीखर्क गाउँमा भएको प्रहरीले पुष्टि गरेको छ ।

टुनीखर्क गाउँ निवासी ७८ बर्षीय बृद्ध आइतसिंह गुरुङको घरमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रबिन्द्रमान गुरुङले बताए । उनका अनुसार नकाव लगाएका ३ जनाको समूहमा आएकाहरूले प्रयोग गरेको हतियारबाट बृद्ध आइतसिंह गुरुङ घाइते भएका छन् ।

उनको दायाँ औंला र टाउकोमा चोट लागेका उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रनाउँ गुरुङले बताए । उनकी पत्नी विनकुमारी भन्ने भीमकुमारी गुरुङ भने आक्रमणकारीबाट जोगिएको प्रहरीले जनाएको छ ।

लुटेराहरूले बृद्धबृद्धाको साथबाट ८ तोला सुनका गहना लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रबिन्द्रमान गुरुङले बताए । उनका अनुसार प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ ।

अनुसन्धानका क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछलगायतको अनुसन्धान थालिएको उनको भनाई छ । गर्मीको समय भएकाले ढोकामा चुकुल लगाइएको थिएन घाइते आइतसिंहले भने । उनका अनुसार राती साँढे १२ बजेतिर मुखमा नकाव लगाएर आएका तीन जनाले धारिलो हतियार प्रयोग गरी आफ्नो हातको २ तोलाको औंठी र श्रीमतीको दुवै कानमा रहेको साँढे एक तोलाको सक्री सहितको सुन साथै घाँटीमा लगाएको ३ तोलाको सुन लुटेर लगे । उनले भने ‘नजिकै छिमेकीको घरमा बाहिरबाट ताला लगाएर हामीलाई लुट्न आएको रहेछ । यो लुटेर हामीलाई चिन्ने, वरपरको कोही हुनुपर्छ ।’

एक छोरा र एक छोरीका बाबुआमा ती बृद्धबृद्धा गाउँको घरमा बस्दै आएका छन् । उनका छोरा बेलायती सेनामा कार्यरत छन् । छोरी विवाह भएर बेसीसहर बस्ने गर्छिन् ।

(Visited 53 times, 1 visits today)
Loading comments...