शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

बढ्दो भ्रष्टाचार जटिल समस्या

सुदर्शन अधिकारी
1 month ago
18/09/2019

सुदर्शन अधिकारी

भ्रष्टाचार हाम्रो सन्दर्भमा ठुलो समस्या बन्दै गएको छ । भ्रष्टाचारकै कारण हाम्रा विकासको गति पछि धकेलिएको देखिन्छ । जबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुँदैन, तबसम्म जनताले अपेक्षा गरेअनुरुप विकासका कार्यहरु हुन सक्तैनन् । सुशासन कायम गर्नका लागि पनि भ्रष्टाचारको अन्त्य अनिवार्य शर्त हुन आउँछ । हरेक सरकारले भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्घता जनाउँछन् तर व्यवहारमा भने त्यसको कार्यान्वयन हुनुका साटो झनै भ्रष्टाचार मौलाउदै गएको पाइन्छ । देशमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि विभिन्न निकायहरु र संवैधानिक अंगको व्यवस्था पनि नगरिएको भने होइन । ‘जो रक्षक उही भक्षक’ भनेझै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै आयुक्त भ्रष्टचारमा लिप्त हुन्छन् ।
जसले भ्रष्टचार नियन्त्रण गर्ने हो त्यही भ्रष्टचार हुन्छ भने कसरी भ्रष्टचार नियन्त्रण भएर सुशासन कायम गर्न सकिन्छ र ? भ्रष्टाचार हटाने उद्देश्यले गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्घीकरण आयोग, राष्ट्रिय अनुसन्धान केन्द्र लगायतका अधिकारीक निकाय सक्रिय भएर पनि भ्रष्टाचार न्युन गर्न नसक्नु गंभीर चिन्ताको बिषय बनेको छ । वर्तमान सरकार गठन भए पछिका चर्चित र ठुला भ्रष्टाचारका घटनाहरु प्रशस्तै छन् । जसमा तेत्तिस किलो सुन काण्ड, वाइडवडि विमान खरिद प्रकरण सरकारी जग्गा व्यक्तिका नाममा देखिनु लगाएतका दर्जनौ घटना हुन् ।

भ्रष्टाचार जोसुकै दोषि देखिए पनि कानुनअनुसार कडा कारवाही गरी भ्रष्टाचारीलाई निरुत्साहित बनाउने कार्य गर्नु पर्ने हो तर त्यो भने भएको देखिदैन । पत्रपत्रिका टेलिभिजनमा दश बीस र पचास हजार घुस लिंदालिंदै रङ्गे हात अख्तियारको टोलिले पक्राउ ग¥यो भनेर आउने गर्छ तर करोडौ रकम हिनामिना गर्नेलाई भने कहिल्यै पक्रेको घटना प्रचारमा आउँदैन । ट्रान्सपरेन्सी इन्टरनेशनलले बर्षेनी भ्रटाचार सम्बन्धि तथ्याङ्क प्रकाशन गर्दछ । त्यसमा नेपालको अवस्था झनै भ्रष्टाचार बढ्दै गएको मात्रै देखिन्छ । दृढताका साथ भ्रष्टलाई कारवाही गर्ने हिम्मत किन राज्य संयन्त्रको देखिदैन ? यसको जवाफ आम नेपाली खोजिरहेका छन् ।
सामान्यतया कुनै पदधारण गरेको व्यक्तिले प्रचलित कानुनबिपरीत आचरण देखाई अर्थिक लगायत अन्य सुविधा लिन कार्यलाई भ्रष्टाचार भनिन्छ । जसअन्र्तगत राष्ट्रसेवकले लिन खान हुनेमा बाहेक रकम दस्तुर सलामी बकस नगद वा जिन्सी जुनसुकै आर्थिक लाभगर्न लिने कार्यहरु भ्रष्टाचार भित्र पर्छन् । सरकारी सम्पत्तिको दरुपयोग गर्ने तथा सरकारी कामकाजका लागि सेवाग्राहीबाट रकम माग्ने कार्यलाई भ्रष्टाचार भनिन्छ । भ्रष्टचार हुनुका पछाडि विभिन्न कारणहरु रहेका हुन्छन् राजनीतिक अवस्था अस्थिर हुनु भ्रष्टाचारविरुद्घ कडा कारवाही नहुनु बनेका कानुनको कार्यान्यन प्रभावकारी नहुनु, जनचेतनाको कमी हुनु, सरकारी कर्मचारीको तलव कम हुनु, जिम्मेवारी बोधको अभाव हुनु, जसरी भए पनि धनी बन्नुपर्छ भन्ने भावना हाबी हुनु जस्ता अनेकै कारणहरु रहेका छन् ।

देशमा भ्रष्टाचार हटाउन गर्नुपर्ने कार्यहरु प्रशस्तै छन् जस अन्र्तगत प्रचालित ऐन कानुनलाई प्रभावकारी बनाउन संशोधन गरी समसामायिक बनाउने, प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, भ्रष्टाचारजन्य मुद्दालाई छिटो टुङ्गयाउने, कर्मचारीको न्युनतम आवश्यकता पूरा हुने तलबको व्यवस्था गर्ने, जनचेतनामुलक कार्यक्रमको प्रचारप्रसार गर्ने, भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गर्न, पारदर्शी पद्घतिको अवलम्बन गर्ने, पाठ्यक्रममा भ्रष्टाचार सम्बधि बिषयलाई प्रथामिकता दिने, निष्पक्ष र स्वतन्त्र पत्रपत्रिकालाई जोड दिने लगायतका कार्यहरु गर्नुपर्ने देखिन्छ । भ्रष्टाचार दण्डनीय र समाजिक अपराध हो यो गर्नु हुँदैन भन्ने भावनाको विकास गर्ने नैतिक शिक्षाको विकासमा पनि ध्यान दिनुपर्छ ।
वर्तमान सन्र्दभको कार्यशैली जहाँ विकास निर्माणका काम गर्ने परिपाटी छ, त्यो सबै कमिशनमा चल्छ । ठेक्का कार्यमा सम्बन्धित कार्यालयका कर्मचारीलाई कुल खर्चको दशपन्ध्र प्रतिशत रकम दिनुपर्ने हुन्छ । कतिसम्म लापरवाही हुन्छ भन्ने उदाहरण बन्दाबन्दैको पुल भत्कन्छ । सडक पिच गरेको भोलिपल्टै उप्कन्छ । ढल निर्माण गरेको चौबीस घण्टा नबित्दै ढल जाम भएर बाटो अवरुद्घ हुन्छ । ठेक्काको कार्य सम्पन्न गर्ने भनेको समयभन्दा दोब्बर समय थप गर्दा पनि कार्य सम्पन्न हुँदैन । समयसंगै लागत बढ्न गई चर्काे खर्च गर्नुपर्ने समस्या त छदैछ, ठुला ठेकेदारको पहूँच उच्चतहसम्म हुने भएकोले समयमा काम नसक्ने उल्टै समय थप्दै जाने प्रवृत्ति बढेर गएको छ । पछिल्लो दृष्टान्त मेलम्चीको खानेपानी आयोजना बाटै स्पष्ट बुझिन्छ । कमिशनमा कुरा नमिल्दा कम्पनी नै छाडेर गएको व्यापक चर्चा सर्वत्र छदैछ । हाम्रा जिम्मेवार नेता नहुँदा सर्वत्र भ्रष्टाचारले जरा गाडेको छ ।

 

 

हरेक सरकारले भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्घता जनाउँछन्, तर व्यवहारमा भने त्यसको कार्यान्वयन हुनुका साटो झनै भ्रष्टाचार मौलाउँदै गएको पाइन्छ

आत्मैदेखि नै परिवर्तन भएर निस्वार्थरुपले म आफ्नो जिम्मेवारी पूरा गर्छु भन्ने कसम खाने हो भने पनि भ्रष्टाचार ज्यादै कम हुने थियो

 

एउटा सामान्य काम पनि सोसे फोसे या घुस नभई नहुने भनेको कुशासन र भ्रष्टाचारको पराकाष्ठा नै होइन र ? हुनुपर्ने काम नहुने नहुनु पर्ने काम भने फटाफट हुन्छ यहाँ । आफ्नौ जग्गा पास गर्न चाँहि कठीन हुन्छ तर सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न भने सहजै सकिन्छ । शिक्षा स्वास्थ खानेपानी विद्युत सडक लगायत सर्वत्र बेथिति र भ्रष्टाचारले व्याप्त भएपछि जनताले कसरी राहत र विकासको अनुभूति गर्न सक्छन् र ? सेवाग्राहीले बिनाझन्झट आफ्नो कार्य सम्पादन गर्न सक्ने वातावरणको निर्माण कहिले होला खै ? सुशासन पारदर्शिता र सामाजिक न्यायको भाषण सुनेको त दशक नै भयो, तर नागरिकले आफ्नो सामान्य कार्य सम्पन्न गर्न पनि लामो समय धाउनु पर्ने अनेकौ बहानामा घुस दिनुपर्ने जस्ता गैरजिम्मेवारपुर्ण कार्यले वाक्कदिक्क बनाइएका छन् ।

विकास निर्माणका झण्डै आधा रकम कमिशन र भ्रष्टाचारमा जाने प्रवृत्तिले गर्दा न त काम टिकाउ हुन्छ, न त समयमा नै कार्य सम्पन्न हुन्छ । देशमा ठूलो धनजनको खर्च गरेर व्यवस्था बदलियो तर प्रवृत्तिमा परिवर्तन आएन । पात्रहरु पुरानै भए पछि व्यवस्थाले मात्रै के नै हुने रहेछ र । हाम्रा मुख्य र शीर्ष नेतामा देश जनता र व्यवस्थाप्रति चिन्ता हुँदो हो त यस्तो समस्या पक्कै पनि आउने थिएन । राष्ट्रसेवक भनिएका कर्मचारीमा पनि आफ्नो पदीय आचरण र नागरिकप्रति दयित्वको बोध हुन्थ्यो भने यसरी भ्रष्टाचार मौलाउनै थिएन ।
आफ्नो आत्मादेखि नै परिवर्तन भएर निश्वार्थ रुपले म आफ्नो जिम्मेवारी पुरा गर्छु भन्ने कसम खाने हो भने पनि भ्रष्टाचार ज्यादै कम हुने थियो । आज गणतन्त्र लुटतन्त्रमा परिणत भएर गएको छ । जनतामा जुन आशा र भरोसा थियो, त्यसमा कुठाराघात भैरहेको छ । नेपाली नागरिक सहनशील भएर पटकपटक अब त केहि होला भनेर प्रतीक्षा गर्दै रहेका छन् । आमनागरिकको धैर्यको बाँध फुट्यो भने त्यसले उच्च मानिनेलाई नराम्ररी भेलमा पार्ने पनि निश्चित नै छ । त्यसैले समयमा नै राष्ट्र जनता र लोकतन्त्रप्रति गम्भीर भई सुशासन कायम गर्ने दिशामा कार्य गर्नुपर्ने देखिन्छ ।

 

(Visited 62 times, 1 visits today)
Loading comments...