शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

सोलोमन द्वीपद्वारा ताइवानसँग कूटनीतिक सम्बन्ध विच्छेद

एजेन्सी
1 month ago
18/09/2019

वेलिङ्टन। प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो । सोलोमनले आफ्नो कूटनीतिक सम्बन्ध चीनसँग जोडेको छ । प्रशान्त महासागर क्षेत्रका अरू मुलुकले पनि ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्ने सम्भावना छ ।

सोलोमनको पछिल्लो निर्णयले ताइबान मात्र नभई अमेरिकालाई पनि असर पर्न सक्नेछ । सोलोमन द्वीप अस्ट्रेलिया र अमेरिकाको बीचमा अवस्थित छ । यस क्षेत्रमा दोस्रो विश्वयुद्धमा जापान र अमेरिकी गठबन्धनका सेनाबीच भीषण युद्ध भएको थियो । सोलोमन द्वीपका प्रधानमन्त्री मनासेह सोगाभारका प्रवक्ता अलेक्स अक्वाइले संसद्मा भएको मतदानमा ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेर चीनसँग जोड्नुपर्छ भन्ने पक्षमा २७ जना सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेको जानकारी दिए ।

त्यसपछि मन्त्रिपरिषद्को बैठकले पनि सर्वसम्मत रूपमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय गरेको उनले बताए । अक्वाईले सोलोमनको राजधानी होनियारास्थित ताइवानी राजदूतावासको झन्डा हटाइएको पनि बताए । तर, यसबारे राजदूतावासका कर्मचारीले केही प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

ताइवानका राष्ट्रपति चाई इङ–वेनले ताइवानले आफ्नो राजदूतावास बन्द गर्ने र त्यहाँ रहेका सबै प्राविधिक तथा मेडिकल कर्मचारीलाई फिर्ता बोलाइने बताए । ‘चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने सोलोमनको निर्णयको म खेद र भत्र्सना गर्दछु,’ चाईले भने ।

यसैबीच, चीनले सोलोमन द्वीपको निर्णयको स्वागत गरेको छ । ‘सोलोमन द्वीप सरकारको यो निर्णयलाई चीनले अत्यन्त सकारात्मकरूपमा लिएको छ । एक चीन नीतिप्रति सोलोमनको प्रतिबद्धता रहेको हामीले ठानेका छौं,’ चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले जारी गरेको विज्ञप्तिमा

उल्लेख छ ।चीनले ताइवानलाई आफ्नै भूमि ठान्दछ । चीनको मुख्य भूभागबाट ताइवान सन् १९४९ मा अलग्गिएको थियो । प्रशान्त महासागर क्षेत्रमा करिब ६ लाख ६० हजार जनसंख्या रहेको सोलोमन द्वीप चीनका लागि रणनीतिक महŒवको रहेको छ । प्रशान्त क्षेत्रमा ताइवानसँग कूटनीतिक सम्बन्ध रहेको सोलोमन सबैभन्दा ठूलो राष्ट्र हो । सोलोमनको अर्थतन्त्र मुख्यरूपमा कृषि, माछा मार्ने र वनमा आश्रित छ । यहाँ ठूलो परिमाणमा खनिज पदार्थ रहेको विश्वास गरिन्छ ।

ताइवानलाई कूटनीतिक मान्यता दिने विश्वभर अब १६ वटा मुलुकमात्र बाँकी रहेका छन् । जसमा प्रशान्त क्षेत्रका साना पाँचवटा राष्ट्र छन् । प्रशान्त क्षेत्रका मार्सल द्वीप र पलाउसँग अमेरिकाको अति निकट सम्बन्ध रहेको छ । यी दुबै मुलुकले तत्काल ताइवानसँग सम्बन्ध तोड्ने सम्भावना कम छ । तर, जानकारका अनुसार किरिबाटी, नाउरु र टुभालुले निकट भविष्यमै ताइवान छाडेर चीनसँग सम्बन्ध जोड्नेछन् । अमेरिकी रिपब्लिकन सिनेटर मार्को रुबिओले सोलोमनको कदमबाट अमेरिका चुप लागेर बस्न नहुने बताएका छन् ।

(Visited 40 times, 1 visits today)
Loading comments...