शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

चुनावी र्‍यालीमा बम विस्फोट हुँदा २६ जनाको मृत्यु

एजेन्सी
1 month ago
18/09/2019

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने लक्षका साथ गराइएको विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मंगलबार स्थानीय अस्पताल स्रोतले पारवान प्रान्तको मध्य भागमा भएको घटनामा २६ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका पुष्टि गरेको छ ।

पारवान अस्पतालका निर्देशक डा. अब्दुल कासिम सांगिनले भने, ‘राष्ट्रपति घानीको चुनावी अभियानलाई बिथोल्ने उद्देश्यबाट गराइएको विस्फोटमा मर्ने तथा घाइते हुनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन् ।’ विस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा रहेका थिए ।

मोटरसाइकलमा आएका एक व्यक्तिले राष्ट्रपतीय निर्वाचनका लागि घानी सहभागी चुनावी ¥यालीले प्रयोग गर्ने बाटोमा सुरक्षार्थ बनाइएको पहिलो सुरक्षा परीक्षण केन्द्रमा विस्फोट गराएको थियो ।

काबुलको मध्यभागमा पनि आजै भएको अर्को एक विस्फोटमा पनि केही व्यक्ति सख्त घाइते भएको जनाइएको छ । यसबारे थप जानकारी आउन केही समय लाग्ने अफगानी गृहमन्त्रीले जानकारी गराएका छन् ।

त्यसै समयमा राजधानी काबुलस्थित रक्षा मन्त्रालयको भवननजिकै पनि अर्को विस्फोटन भएको अधिकारीहरूले पुष्टि गरेका छन् । सो घटनामा कम्तीमा तीन जना मारिएका छन् । यसै महिनाको अन्त्यमा अफगानिस्तानमा राष्ट्रपति पदको लागि निर्वाचन हुँदै छ ।

दुवै विस्फोटको जिम्मा कुनै पनि समूहले लिएका छैनन् । तालिबान विद्रोही समूहले शान्ति वार्तामा सहभागी हुनुको साथसाथै हिंसात्मक कारबाही पनि बढाइरहेका छन् । यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँगको वार्ता रद्द गरेका थिए ।

तालिबानले २८ सेप्टेम्बरमा हुन लागेको राष्ट्रपतिय निर्वाचनलाई बिथोल्ने धम्की दिएको छ । गत अगस्ट महिनाभरमा अफगानिस्तानमा दैनिक औसत ७४ जना महिला, पुरुष तथा बालबालिका मारिएका छन् ।

अफगानिस्तानमा विगत १८ वर्षदेखि जारी युद्धपश्चात् अमेरिकी सेना फिर्ता हुने तयारी बिथोलिएको छ । यिनै घटनाक्रमका माझ हिंसाको चक्र भने निरन्तर चलिरहेको छ । अगस्ट महिनामा मात्र हिंसाका ६११ घटना हुँदा २ हजार ३०७ जना मारिएका छन् ।

तालिबान तथा अफगान सरकारले भने बीबीसीको यो तथ्यांकमाथि प्रश्न उठाएका छन् । मारिनेमध्ये अधिकांश मानिस लडाकु रहेका छन् भने ठूलो संख्यामा तालिबान लडाकु पनि मारिएका छन् । तर, कुल मारिनेमध्ये पाँच भागको एक भाग गैरसैनिक छन् । हिंसाका घटनामा १ हजार ९४८ घाइते भएका छन् ।

 

 

(Visited 26 times, 1 visits today)
Loading comments...