शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

साफको तयारी पुरा

राजधानी समाचारदाता
1 month ago
18/09/2019

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तेस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । एन्फाले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ३ देखि १२ असोजसम्म काठमाडौंस्थित सत्रस्श प्रहरी बल (एपीएफ) को रंगशाला हल्चोकमा हुने च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । यस्तै एन्फाले च्याम्पियनसिपका लागि टिकट मूल्य ५ सय रुपैया तोकेको छ । च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र भुटान छन् । नेपालले ३ असोजमा माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि समूह ‘बी’ मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । च्याम्पियनसिपको लागि माल्दिभ्सको टोली नेपाल आइसकेको र बाकी टोलीहरु केही दिनमै नेपाल आइपुग्ने एन्फाले जनाएको छ । प्रतियोगिता नेपाल टेलिभिजनको एनटीभी प्लसबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार नै २३ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । प्रशिक्षक श्रेष्ठले पोखरामा एक साता लामो प्रशिक्षणमा रहेका २५ सदस्यीय टोलीबाट अन्तिम टोली घोषणा गरेको हो । गोलरक्षक रोहित कार्की र मिडफल्डर दिपेश गुरुङले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

नेपाली टोली

विशाल सुनार, सुर्य अधिकारी, पुजन होना, बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, एलिक रुम्बा, एन्जल महर्जन, शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा, ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी

 

साफ फेरि बंगलादेशमा

दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा ठुलो प्रतियोगिता साफ च्याम्पियनसिप पुनः बंगलादेशमा आयोजना हुने भएको छ ।सोमबार मलेसियामा बसेको साफको कार्यसमिति बैठकले पाकिस्तानमा हुने पूर्वतयारी रहेपनि साफ आयोजनाको जिम्मेवारी बंगलादेशलाई सुम्पिएको हो । च्याम्पियनसिप सेप्टेम्बर २०२० मा आयोजना हुनेछ । गतवर्ष सेप्टेम्बरमा बंगलादेशमा आयोजित भारतलाई पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको थियो । बैठकले साफसँगै सन् २०२० मा हुने अन्य उमेरसमुहको प्रतियोगिताको अनि टुंगो लगाएको छ । अगष्ट महिनामा साफ यू–१५ च्याम्पियनसिप, सेप्टेम्वर र अक्टोवरमा साफ यू–१८ महिला च्याम्पियनसिप र अक्टोवरमै साफ यू–१५ च्याम्पियनसिप गराउने निर्णय गरेको छ ।

नेपालबाट साफका उपाध्यक्ष समेत रहेका मणि कुँवर र एन्फा महासचिव इन्द्रमान तुलाधर बैठकमा सहभागी भएका थिए । बैठकको अध्यक्षता साफ तथा बंगलादेश फुटबल महासंघका अध्यक्षका काजि सलालुद्दीनले गरेका थिए ।

(Visited 22 times, 1 visits today)
Loading comments...