शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

डीपीएल फागुन पहिलो साता

राजधानी समाचारदाता
2 weeks ago
04/10/2019

काठमाडौं । चौथो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) आगामी फागुन पहिलो साता आयोजना हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै चौथो संस्करणको प्रतियोगिता ३ देखि १५ फागुनसम्म हुने जानकारी गराएको छ ।

क्रिकेटलाई योजनाबद्ध र व्यावसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत डीसीएले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)को समन्वयनमा चौथो संस्करणको डीपीएलको मिति घोषणा गरेको एकेडेमीका अध्यक्ष सुवास शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहँदै आएको प्रतियोगिताका खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ । रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरी ६ सहरका ६ फ्रेन्चाइज टिम रहेका छन् ।

सिटी बेस फ्रेन्चाइजको आधारमा पहिलो संस्करणबाटै नेपाली क्रिकेटमा तरंग ल्याउँदै नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा ल्याउने प्रयास गरेको डीपीएलको अघिल्लो संस्करण सीवाईसी अत्तरिया च्याम्पियन बनेको थियो । अत्तरियाले फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

देशकै सर्वाधिक राशिको प्रतियोगितासमेत रहेको डीपीएलको अघिल्लो संस्करणको विजेता सीवाईसी अत्तरियाले ३० लाख रकम हात पारेको थियो । यसअघिका दुवै संकरणको उपाधि साबिक धनगढी टिम चौराह हाल (धनगढी स्टार्स)ले जितेको थियो । आयोजकले यो वर्ष प्रतियोगिता झनै भव्य बनाउने बताएका छन् । डीपीएल सकिएलगत्तै काठमाडौंमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) आयोजना हुनेछ । ईपीएल १७ देखि १ चैतसम्म आयोजना हुँदै छ ।

 

(Visited 16 times, 1 visits today)
Loading comments...