शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

अनिश चौथोपटक लिगलिगे राजा

राजधानी समाचारदाता
2 weeks ago
04/10/2019

काठमाडौं। भारतीय सेनाका अनिष थापामगर चौथोपटक लिगलिगकोटको राजा बनेका छन् । १०औं संस्करण सकिँदा पर्वतका अनिष चौथोपटक लिगलिगे दौड जित्दै लिगलिगकोटका राजा बन्न सफल भएका हुन् । उनी पछिल्ला ६ वर्षको अन्तरमा चारपटक राजा बन्न सफल भएका हुन् ।

बिहीबार बिहान चेपे र मस्र्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दूरी अनिषले ५७ मिनेट ५५ सेकेन्डमा पूरा गरे । नेपाली सेनाका खगेन्द्र भाटले निर्धारित दूरी १ घण्टा १ मिनेट ८ सेकेन्डमा पार गर्दै दोस्रो स्थान हात पारे । सेनाकै रामजी बस्नेतले १ घण्टा १ मिनेट ३४ सेकेन्डमा पार गरी तेस्रो स्थान हात पारे । सन्दीप ढकाल चौथो र सविन तामाङले पाँचौं स्थान हात पारे । दुर्घराज बुढा, याङ देव राई, वीरेन्द्र रावल, इन्द्रबहादुर थापामगर र चन्द्रबहादुर घर्तीले शीर्ष १० स्थान हात पारे ।

उपाधिसँगै अनिषले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको श्रीपेच, पालुङटार नगरपालिकाको सद्भावना दूतको दर्जा, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र हात पारे । दोस्रोदेखि दसौंसम्मले क्रमशः ३५ हजार १ सय, २५ हजार १ सय, १५ हजार १ सय, १० हजार १ सय, ७ हजार १ सय, ५ हजार १ सय, ४ हजार १ सय, ३ हजार १ सय र २ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।

लिगलिगेवासीतर्फ सागर ढकाल पहिलो भए । इन्द्रबहादुर थापामगर, सूर्य विक र सुरज भण्डारीले शीर्ष चार स्थान हात पारे । पहिलोले २० हजार ५, दोस्रोले १२ हजार ५, तेस्रोले ७ हजार ५ र सान्त्वनाले ३ हजार ५ नगद पुरस्कार पाए । ५ किमिको समावेशी महिलातर्फ हुमी बुढामगर पहिलो, सरिता वासी दोस्रो र इन्द्रकला नेम्वाङले तेस्रो स्थान हात पारिन् । विजेताले २० हजार ५, दोस्रोले १२ हजार ५ र तेस्रोले ७ हजार ५ नगद पुरस्कार पाए । भेट्रान्सतर्फ दामोदर बुढामगर पहिलो, ओमबहादुर प्रधान दोस्रो र राजमान राईले तेस्रो स्थान हात पारे । विजेताले २० हजार ५, दोस्रोले १२ हजार ५ र तेस्रोले ७ हजार ५ नगद पुरस्कार पाए । विद्यार्थी छात्रतर्फ (३ किमी) मा सुनिल बसेल पहिलो, ऋषिराम सुनार दोस्रो र विपुल ठकुरीले तेस्रो स्थान हात पारे । छात्रामा रजिना कोइराला पहिलो, सुनिता गिरी दोस्रो र रजिना जोशीले तेस्रो स्थान हात पारिन् । दुवैको विजेताले ५ हजार १ सय, दोस्रोले ३ हजार १ सय र तेस्रोले २ हजार १ सय पाए ।

लिगलिगकोट विकास अभियानको मुख्य आयोजनामा भएको दौडलाई पालुङटार नगरपालिका र नेपाली सेनाको रणसिंह दल गणले साथ दिएको थियो ।

लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एक वर्षका लागि पालुङटार नगरपालिका प्रमुख दीपकबाबु कँडेलले अनिषलाई नगरपालिकाको सद्भावना दूत घोषणा गर्दै राजकीय सम्मानसहित नगर परिक्रमा समेत गराइएको बताए ।  विजेतालाई राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डे, लिगलिगकोट विकास अभियान अध्यक्ष पूर्ण राना र रणसिंह दल गणका प्रमुख सेनानी उज्वल केसीलगायतले पुरस्कृत गरे ।

लिगलिगे दौड १६०४ सालको विजया दशमीको दिनदेखि सुरु भएको मानिएको छ । त्यतिबेला दलसुर घलेमगरले दौड जितेका थिए । त्यस्ता दलसुरले लगातार दौड जित्दै १६०४ देखि १६१५ सालसम्म राजा बनेका थिए । १९१६ सालमा द्रव्य शाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो नौ वर्षयता हुँदै आएको छ । लिगलिग कोट विकास अभियान विगत नौ वर्षदेखि हरेक वर्ष विजया दशमीको अवसरमा यो दौडको आयोजना गर्दै आएको छ ।

 

(Visited 46 times, 1 visits today)
Loading comments...