शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

७० करोडको नयाँ नोट सटही

विजय नेपाल
2 weeks ago
04/10/2019

पोखरा। गण्डकी प्रदेशको राजधानी पोखरास्थित नेपाल राष्ट्र बैंकको काउन्टरबाट एक सातामा झन्डै ७० करोड रुपैयाँबराबरको नयाँ नोट सटही प्रयोजनका लागि बाहिरिएको छ । राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. डिल्लीराम पोखरेलका अनुसार विगतझैं यस वर्ष पनि राष्ट्र बैंकले सर्वसाधारणको सुविधाका लागि नयाँ नोट सटही सुविधा दिएको हो । जसअनुसार हालसम्म ६९ करोड ५२ लाख ४२ हजार रुपैयाँ ५, १०, २०, ५० र १ सय रुपैयाँका नोट राष्ट्र बैंक काउन्टरसहित विभिन्न बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंकले नोट कोष सञ्चालन गरेका गण्डकी प्रदेशस्थित वाणिज्य बैंक र नेपाल बैंंकको शाखामार्फत बाहिरिएको हो ।

राष्ट्र बैंक पोेखरा कार्यालयबाट पोखरास्थित बैंक तथा वित्तीय संस्था, सर्वसाधारण, अशक्त र वृद्धवृद्धाका लागि छट्टाछुट्टै काउन्टरबाट साना दरका नोट सटही गरिएको निर्देशक पोखरेलले बताए । निर्देशक पोखरेलले भने, ‘अशक्त तथा वृद्धवृद्धाको सुविधा लागि छुट्टै काउन्टरबाट साना दरका नोट सटही गर्ने व्यवस्था गरेका छौं ।’

राष्ट्र बंैकले वाणिज्य बैंकका प्रत्येक शाखालाई ७ लाख २० हजारको दरले साना दरका नयाँ नोट उपलब्ध गराएको छ । गण्डकी प्रदेशमा वाणिज्य बैंकका ३ सय ९१ वटा शाखा छन् । गण्डकीका विकास बैंकका २ सय ५५ वटा शाखामा ५ लाख ९० हजार दरले तथा २६ वटा ‘ग’ वर्गका विभिन्न वित्तीय संस्थाका लागि प्रतिशाखा ५ लाख ६० हजार दरले नोट उपलब्ध गराएको जनाएको छ । सर्वसाधारणका लागि भने २१ करोड १५ लाख ७२ हजार बराबरको साना दरका नोट वितरण गरिएको हो ।

राष्ट्र बैंकमा हाल बिहानै १० देखि ४ बजेसम्म प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नोट सटही सुविधा छ । यसरी नोट सटही गर्नकै लागि राष्ट्र बैंक काउन्टर पुग्ने सर्वसाधारणको संख्या हालसम्म ५ हजार बढी पुगिसकेको छ । यसरी पछिल्लो चार दिनयता दैनिक १ हजार हाराहारीमा सर्वसाधारण आएका छन् ।

राष्ट्र बैंकले कास्कीसहित गण्डकीका ८ जिल्लाका नोट कोषबाट समेत नयाँ तथा सुकिला नोट सटही गर्दै आएको छ । पोखराबाट मात्रै करिब १ अर्ब २५ करोड नयाँ तथा सुकिला नोट सटही गर्ने योजना रहेको जनाइएको छ । राष्ट्र बैंकमा अब अन्तिम दिन शुक्रबारसम्म नोट सटही सुविधा छ । बैंकले नोट हिफाजत गर्न सर्वसाधारणमा आग्रह गरेको छ । सफा नोट नीतिमा बैंंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न, लेख्न नहुनेमा सचेतना गराएको हो । यसो भएको पाइए ३ वर्ष कैद र ३० हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।

 

(Visited 25 times, 1 visits today)
Loading comments...