शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

उपभोक्ता स्वास्थ्यमा गम्भीर खेलबाड: एक वर्षअघि म्याद सकिएका चक्लेटमा डबल स्टिकर

केशवप्रसाद पाण्डे
2 weeks ago
05/10/2019

काठमाडौं । सुयस इन्टरनेसनल प्रालिले म्याद सकिएका चक्लेट, मिठाई र केकहरूमा सकिएको म्यादमाथि स्टिकर प्रयोग गरी बजारमा धमाधम बिक्री गरेको पाइएको छ । कम्पनीले एक वर्षअघि म्याद सकिएका उत्पादनमा आफंै म्याद थप गरी अवैध रूपमा बजारमा बिक्री गरेको पाइएको हो । कम्पनीले चोकीचोकी, लुभिट चोकोरिट, जुसी मिल्क रोस, जुसी मिल्क म्यांगो पउँच, कोपीको फोर्टीएट पउँच, पास्टी केकलगायतका उत्पादनमा अबैध रूपमा म्याद थप गरी बिक्री गरेको पाइएपछि प्रशासनले छापा मारेको छ ।
काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका–१० सानो भ¥याङमा रहेको कम्पनीको गोदाममा छापा मार्ने क्रममा म्याद सकिएका उत्पादन सामग्रीमा म्याद थप गरिएको पाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल कम्पनीले उपभोक्ता स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै म्याद सकिएका वस्तुहरूको अवैध रूपमा बिक्री वितरण गरेकाले कारबाही गरिएको बताए ।

–प्रशासनद्वारा छापा, गोदाममा सिलबन्दी

प्रमुख जिल्ला अधिकारी दाहालले सो कम्पनीका अखाद्य चकलेटहरू अवैध रूपमा बिक्रीका लागि देशभरमा पुगेको हुन सक्ने भएकाले उसको उत्पादनमाथि नै गम्भीर प्रश्न उठेको बताए । उनले उपभोक्ता स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै बजारमा अखाद्य वस्तु बिक्रीवितरण गर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याइने बताए । ‘यो तथ्यले कम्पनीले देशभर बिक्रीका लागि बजारमा पठाएका उत्पादनहरू उपभोक्ता स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन सक्ने देखिन्छ । यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याइनेछ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

म्याद सकिएका उत्पादनमा म्याद भएको स्टिकर प्रयोग गरी बिक्री भइरहेको सूचनाका आधारमा टोलीले बिहीबार गोदाममा छापा मारेको थियो । छापा मार्ने क्रममा गोदाममा रहेका झन्डै ४ हजार कार्टुन उत्पादनमा अबैध रूपमा म्याद थप गरिएको पाइएका थिए । अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठ यसबाहेक पनि ठूलो परिणाममा कम्पनीको उत्पादन रहेको बताँउछन् । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले १२ घण्टा लगाएर छापा मारेको थियो भने झन्डै ४ हजार कार्टुनको अनुगमन गरेको थियो ।

अबैध उत्पादन छ्याप्छ्याप्ती रहेको पाइएपछि गोदामलाई सिलबन्दी गरेर कारबाही अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारील दाहालले जानकारी दिए । स्थानीय जनप्रतिनिधि चन्द्रागिरि नगरपालिका–१० का वडाध्यक्ष गोपालकृष्ण महर्जनको रोहबरमा १० जनाको टोलीले गोदाममा छापा मारको थियो । कम्पनीले कुनै परिचय खुल्ने बोर्डसमेत नराखी शंकास्पद काम गर्दै आएको भेटिएको अनुगमनमा संलग्न अधिकारीहरूले बताएका छन् । कम्पनीको यस्तो क्रियाकलापबारे वडा कार्यालयसमेत बेखबर रहँदै आएको थियो ।टोलीले गोदामका कर्मचारी मोहन श्रेष्ठ, प्रकाश थापा र अमृता गुरुङको रोहबरमा दुई सटरमा सिलबन्दी गरी सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित हुन ताकेता गरेको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...