शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनको विकास

 केशरमणि कटुवाल
2 weeks ago
05/10/2019

 

 केशरमणि कटुवाल

माओत्सेतुङ नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापनाको ७० वर्ष पूरा भएको छ । चीनले यो ७० वर्षको अवधिमा कम्युनिस्ट शासनलाई सफलतापूर्वक हाँकेको मात्रै छैन अभूतपूर्व विकास गर्दै विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति राष्ट्रका रूपमा उदाउन सफल भएको छ ।
सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले च्याङकाई सेक नेतृत्वको सरकार, जापानी साम्राज्यसँगको पेचिलो लडाइसँगै दीर्घकालीन जनयुद्धको कार्यनीति अवलम्बन गर्दै विजयी प्राप्त गरी १ अक्टोबर, सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएको थियो । हामीले आजको चीनको वैभव देखेका छौं तर चीनमा यो वैभव ल्याउने रक्तपातपूर्ण क्रान्तिको विगत कम देखेका र बुझेका छौं । त्यसैले चीनको वर्तमान राज्य व्यवस्था, चिनियाँ जनवादी क्रान्ति र जनयुद्धसम्बन्धी विषयलाई बुझ्न माओ र चिनियाँ कम्युनिस्ट पार्टीले अलम्बन गरेका सिद्धान्त, नीति र कार्यक्रम बुझ्न आवश्यक छ ।

माओले चिनियाँ कम्युनिस्ट पार्टीको युद्ध इतिहास हामीले सोचेको जस्तो सरल छैन । उनले आफ्नै सेनाको निर्माण गरेर जनवादी गणतन्त्र चीन स्थापना गर्दा त्यहाँ ठूलो क्षति पनि भएको थियो । सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले करिब ४ वर्षसम्म गति लिन सकेन । कोमिन्ताङको पहिलो राष्ट्रिय अधिवेशनसम्म आफूलाई प्रत्यक्ष रूपले युद्धको तयारीमा लगाउने कुराको महŒव बुझ्न, सैन्य बल गठन गर्नमा असफल भएको स्वयं माओले स्वीकार
गरेका छन् ।
सन् १९२४ देखि २७ सम्म पनि चिनियाँ कम्युनिस्ट पार्टीभित्र भीषण वैचारिक संघर्ष चल्यो । बुझाइको कमजोरीकैबीच वाम्पाओ सैनिक प्रतिष्ठानमा सहभागिताले चिनियाँ कम्युनिस्ट पार्टीमा सैन्य शक्तिको महŒव प्रस्टिन थाल्यो । क्वान्तुङ प्रान्तको युद्धमा कोमिन्ताङलाई सहयोग र उत्तरी अभियानमा सहभागी भएर चिनियाँ कम्युनिस्ट पार्टीले केही सशस्त्र बलमाथि नेतृत्व हासिल गर्न सफल भयो ।

त्यसपछि नानचाङ विद्रोह, शरद बाली विद्रोह र क्यान्टन विद्रोहजस्ता विद्रोहलाई संगठित गर्दै चिनियाँ लालसेनाको गठन भयो । जापानको तीव्र हस्तक्षेपका विरुद्ध पनि लड्नुपर्ने भएकाले चीनमा क्रान्ति गर्न सजिलो पटक्कै थिएन । त्यसैले माओले दीर्घकालीन जनयुद्धको नीति अवलम्बन गरे । दीर्घकालीन जनयुद्ध भनेको ‘गुहयुद्ध’ ‘घेराउ र दमन’ ‘चलायमान युद्ध’ ‘कमजोर पार्ने र सिध्याउने युद्ध’ ‘छापामार युद्ध’ ‘प्रतिरोध
युद्ध’ ‘गाउँद्वारा सहर घेर्ने’ ‘आधार इलाका’ निर्माणजस्ता स्वरूपहरू चिनियाँ जनवादी क्रान्तिका महŒवपूर्ण पक्ष हुन् ।
माओले दीर्घकालीन जनयुद्धको नीति अवलम्बन गर्नुको कारण उल्लेख गर्दै भनेका छन्, ‘तथ्य यो हो कि अहिले शत्रुपक्षको र हाम्रो आफ्नै शक्तिबीचमा अत्यन्तै ठूलो असमानता छ । ताकि शत्रुपक्षको कमजोरी विकास भइसकेको छैन, र योबेला उसको शक्तिलाई उल्ट्याउन पुग्ने हदसम्म विकास हुन सक्दैन । जबकि हाम्रा उपलब्धि विकास भइसकेका छैनन् र योबेला हाम्रो कमजोरीलाई पूर्ति गर्ने हदसम्म विकास हुन सक्दैन । त्यस कारण यतिखेर सन्तुलन हुन सक्दैन, असन्तुलन मात्र हुन्छ । ‘यसरी शत्रुपक्ष सापेक्षित रूपले बलियो हुन पुग्छ र हामी सापेक्षित रूपले कमजोर छौ कि शत्रुपक्ष सापेक्षित रूपले उच्च अवस्थामा छ र हामी सापेक्षित रूपले निम्छरो अवस्थामा छौं । त्यस कारण यो अवस्थामा शत्रुपक्षको जित र हाम्रो हार हदैसम्म निश्चित रूपले नै सीमित भएको छ र यस कारण यो युद्ध लामो हुन जान्छ ।’
निकै लामो हतियारबद्ध युद्ध गरेका माओले जापानी साम्राज्यविरुद्ध प्रतिरोध युद्ध र जनवादी क्रान्तिलाई सफल पार्न कठिन बाटो अपनाउनुपर्ने बताए । सोहीअनुसार उनले जनवादी गणतन्त्र चीन स्थापना गर्न र कम्युनिस्ट पार्टीको नेतृत्वमा सत्ता स्थापनाका लागि ‘जनयुद्ध’ र ‘जनसेना’को नीति १९४५ मा गएर मात्र ल्याए ।

यस अवधिको सुरुमा कम्युनिस्ट पार्टीले जापानविरोधी प्रतिरोध युद्धमा दुई वैकल्पिक बाटा बनाएका थिए । जनमा विजयसम्म पुग्न समग्र पक्षलाई समेट्ने दीर्घकालीन युद्ध (जनयुद्ध) वा पराजय भोग्ने र जनतालाई मुक्त नबनाउने आंशिक युद्ध थिए । तर, उनीहरूले पहिलो बाटो रोजे र आफ्नो मिहिनेतद्वारा अन्तिम विजय हासिल गर्न सफल भए ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको जनमुक्ति सेनामा १ लाख १० हजारभन्दा बढी थिए भने २२ लाखभन्दा बढी ग्रामीण लडाकूहरू थिए । जनताको ठूलो साथ पाएको चिनियाँ कम्युनिस्ट पार्टीका लागि मुक्त इलाकाहरूमा विभिन्न खालका राजनीतिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्यसम्बन्धी काममा सहयोग गरेका थिए । सबै क्षेत्रबाट अभूतपूर्व सहयोग पाएको यो युद्ध विश्वमा नै दीर्घकालीन जनतयुद्धको सफल प्रयोग थियो । जसबाट सीपीसीले च्याङ काइसेक नेतृत्वको सरकारलाई हराएर कम्युनिस्ट सत्ता स्थापना गर्न सफल भएको थियो ।

त्यति मात्र होइन, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा दीर्घकालीन जनयुद्धमार्फत घरेलु प्रतिक्रियावादी शासकवर्गको प्रतिनिधि पार्टी कोमिन्तङको शासनलाई अपदस्त गर्न र जापानी साम्राज्यवादको अतिक्रमणलाई परास्त गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नमा तत्कालीन सोभियत संघको निकै ठूलो सहयोग र भूमिका थियो ।
सोभियत संघले जापानविरोधी प्रतिरोध युद्धलाई राजनीतिक, कूटनीतिक र सैन्य समर्थन गरेको थियो । उसले १९३७ देखि १९३९ सम्म मात्रै ९ सय ८५ वटा हवाईजहाज ८२ वटा ट्यांक र १३१७ वटा तोप दिएको थियो । चीनमा १९४० सम्म ३ हजार ६६५ जना सोभियत सेनाहरू, पाइलट, पैदल सेनाका रूपमा हवाइसुरक्षा र अन्य क्षेत्रमा कार्यरत थिए । ९ अगस्ट, १९४५ मा सोभियत संघले जापानविरुद्ध युद्ध घोषणा ग¥यो । १० लाख भन्दा बढी सेनाका साथ मन्चुरियातर्फ बढ्यो र जापानी अतिक्रमणकारीमाथि चिनियाँ सेनाको विजयलाई अगाडि बढायो ।
चिनियाँ जनमुक्ति सेनाको गठनसँगै माओ र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा २५ वर्ष लामो युद्धका क्रममा माओले ‘गाउँबाट सहर घेर्ने’ ‘आधार इलाका निर्माण गर्ने’ र ‘दीर्घकालीन जनयुद्ध’जस्ता युद्धका स्वरूप र सैन्य रणनीति विकास गरेका थिए । चिनियाँ नयाँ जनवादी क्रान्तिलाई सफल बनाउने क्रममा चलेका विचारधारात्मक र राजनीतिक संघर्षकै क्रममा अनेक रणनीति विकास गरेका थिए ।

अन्ततः १ अक्टोबर १९४९ का दिन तिनमेन चोकमा उभिएर माओले जनवादी गणतन्त्र चीनको घोषणा गरे । जुन घोषणा माओले नेतृत्व गरेको चिनियाँ कम्युनिस्ट पार्टी र च्याङकाइसेकद्वारा नेतृत्व गरिएको अमेरिकाको पूर्ण समर्थन र सहयोग रहेको राष्ट्रवादी सत्ताबीचको युद्धको परिणाम थियो । चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर जनवादी गणतन्त्रको स्थापना भएपछि साम्राज्यवादी र पुँजीवादी शक्तिलाई ठूलो आघात परेको थियो । परिणामस्वरूप अमेरिका र बेलायत, फ्रान्सजस्ता उसका गठबन्धनमा रहेका सहयोगीको प्रस्तावमा चीनको संयुक्त राष्ट्रसंघको स्थायी सदस्यतासमेत खोसेर ताइवानलाई दिइएको थियो र ताइवानलाई नै चीनको मान्यता दिइएको थियो । तर अल्वानियाले लगातार जनवादी गणतन्त्र चीनको स्थायी सदस्यता फिर्ता एवं कायम गराउन प्रत्येक वर्ष राष्ट्रसंघमा प्रस्ताव राख्दै आयो ।
जनवादी गणतन्त्र चीन स्थापनाको दुई दशकपछि २५ अक्टोबर १९७१ मा सो प्रस्ताव पारित भयो र राष्ट्रसंघमा चीन पुनः स्थायी सदस्यमा
बहाल भयो ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा
१ अक्टोबर, १९४९ देखि चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता रहेको छ । माओत्सेतुङको नेतृत्वमा क्रान्ति सम्पन्न गरेपछि कम्युनिस्ट पार्टीको नेतृत्वमा चीन आर्थिक महाशक्तिका रूपमा उदाएकोे छ । यो अवधिमा विपक्षी पार्टी छैन र कहिलेकाँही हुने छिटफुट विद्रोहलाई दबाउँदै आएको छ । करिब ९ करोड सदस्य रहेको कम्युनिस्ट पार्टी पिरामिड आकारको संगठनात्मक प्रणालीमा संगठित छ । सबैभन्दा माथि पार्टीको पोलिटब्युरो र शीर्ष स्थानमा कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति रहने गर्छन् । नेसनल पिपल्स कंग्रेसले संसद्का रूपमा पार्टीको नेतृत्वले गरेको निर्णयलाई अनुमोदन गर्ने काम गर्छ । चीन एकदलीय सरकार भएको राष्ट्र हो । चीनको संविधानमा नै कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिका रहने उल्लेख गरिएको छ ।
जनवादी गणतन्त्र चीनका पिता माओत्सेतुङले कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी कार्यक्रम सुरु गरे । सन् १९७६ मा माओको निधनपश्चात् देङ स्यायोपिङले सुधारको काम सुरु गरे र देशले विस्तारै पुँजीवादी मार्ग अवलम्बन गर्न थाल्यो । देङपछि जियाङ जमिन, हु जिन्ताओजस्ता प्रभावशाली नेताले चीनलाई नेतृत्व गरे र आर्थिक विकासको नमुना प्रस्तुत गरिसकेका थिए । सन् २०१२ मा वर्तमान राष्ट्रपति सी चिन फिङले सत्ताको नेतृत्व गर्दै चीनलाई विश्व शक्ति बनाउने अभियानमा छन् ।
१ अर्ब ४१ करोडभन्दा बढी जनसंख्या रहेको चीनको करिब ७ प्रतिशत जनसंख्या कम्युनिस्ट पार्टीका सदस्य छन् । राजनीति, व्यापार वा मनोरञ्जनसहित जुनसुकै भए पनि आफ्नो पेसामा अघि बढ्नका लागि पार्टीको बफादार सदस्य हुनु अनिवार्य छ । चीनको प्रसिद्ध ई–कमर्स कम्पनी अलिबाबाका ज्याकमा, टेलिकम हुवावेईका संस्थापक रेन झेंङफेई वा ख्यातिप्राप्त चलचित्र नायिका फ्यान बिङिबङ पनि यसबाट अछुतो छैनन् ।
पार्टीको सिद्धान्तविपरीत हिँड्ने छुट कसैलाई छैन । त्यसो गरेमा उनीहरूले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ । गत वर्ष एक नायिकामाथिको कारबाही यसैसँग सम्बन्धित छ । स्थानीय तहदेखि नै पार्टीका संगठनहरूले माथिल्ला निकायको चयन गर्छन् । नेसनल पार्टी कंग्रेसले केन्द्रीय समितिको चयन गर्छ जसले पोलिटब्युरो गठन गर्छ । वास्तविक शक्ति यही पोलिटब्युरोसँग हुन्छ । अहिले चिनियाँ कम्युनिस्ट पार्टीको शीर्ष स्थानमा राष्ट्रपति सी छन् । सन् २०१७ मा पार्टीले उनलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुला गरिदिएको छ ।
कम्युनिस्ट पार्टीले उनको नाम र विचारधारालाई देशको संविधानमै समेट्नका लागि मत दियो जसले उनलाई संस्थापक नेता माओत्सेतुङबराबरकै हैसियतमा पु¥याएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी र सेनाबीचको सम्बन्ध दोस्रो विश्वयुद्ध र त्यसपछिको गृहयुद्धको समयदेखि सुरु भएको हो । जसलाई केन्द्रीय सैन्य परिषद्ले संस्थागत रूप दिएको छ । त्यसले देशको सैन्य फौजको नेतृत्व गर्छ । आज चीन विश्वको ठूलो सैन्य शक्तिमध्ये एक हो ।

 


आर्थिक विकास

चीन आज विश्वको दोस्रो ठूलो आर्थिक शक्ति बनेको छ । विश्वले पुँजीवादको अभ्यास गरिरहँदा चीनले विकासको नयाँ मार्ग रोज्यो र संसारको महाशक्ति बन्यो । माओको समयमा सुधारवादीलाई बलपूर्वक हटाइयो । उद्योगको विकास र विस्तारका लागि उद्यमीलाई स्वतन्त्र छोडियो । तर, आर्थिक विकासका महŒवपूर्ण क्षेत्रमा राज्यको कडा नियन्त्रण रह्यो ।
चीनले राष्ट्रिय लक्ष्य तय निर्धारण ग¥यो र र जनता तथा उद्योगीलाई सो मार्गमा हिँडाउन सफल भयो । फलस्वरूप चीनले आफ्नै शक्ति र गतिमा संसारमा आर्थिक विकासको ढोका खोल्यो र एक हिसाबले भन्दा चमत्कार नै ग¥यो । कम्युनिस्ट पार्टीको नेतृत्वमा अर्थतन्त्र कसरी सबल र सुदृढ बन्छ भन्ने उदाहरण नै पेस गरेको छ । चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । संसारका खर्बपतिहरूको दोस्रो ठूला संख्या चीनमा छ । संसारकै सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता चीनमा छन् । संसारकै धनी र शक्तिशाली प्रविधि कम्पनीको ठूलो हिस्सा चीनमा नै छ ।
सन् १९९७ मा एसिया र सन् २००८ मा विश्वमा आर्थिक संकट पर्दा चीनले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल ग¥यो । बीआरआईजस्ता विशाल परियोजना चीनको नेतृत्वमा चलिरहेको छ । विश्वमा पश्चिमा अर्थतन्त्रको बलियो विकल्पका रूपमा चीन उभिएको छ ।

माओको निधनपछि देश स्याओपिङले आर्थिक विकासको उदार मार्ग अवलम्बन गरे र चीन विश्व व्यापार संघको सदस्य बन्यो । चीनका कट्टरपन्थी नेतालाई सुधारवादी नेताले विस्थापित गरे । सरकारी नियन्त्रण रहेका कम्पनी निजीकरणतिर गए । आर्थिक वृद्धिदर दोहोरो अंकमा पुग्यो ।
आज संसारका कतिपय राष्ट्रलाई चीनको द्रुत विकास चिन्ताको विषय बनेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले अन्न, अन्डा, तरकारी र घरजग्गाको मूल्य घटायो । आज संसारभर चिनियाँ सामानको बाहुल्यता छ । संसारकै शक्ति राष्ट्र अमेरिकासँग व्यापार युद्धको अवस्था देखा परेको छ ।
अमेरिकाले ठूलो मात्रामा चिनियाँ सामानमाथि कर लगाउँदा पनि चीन आफ्नो गतिमा अघि बढेको देखिन्छ । चीनको आर्थिक विकास र समृद्धिको यात्रा विश्वकै लागि उदाहरणीय छ ।

एजेन्सीको सहयोगमा

(Visited 143 times, 1 visits today)
Loading comments...