शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

जनकपुरमा यसरि गरियो कन्या पूजा

सुजीत कुमार झा
1 week ago
09/10/2019

जनकपुरधाम । दशैँको वेला पूजासंग जोडिएको मिथिलामा कयौ परम्पराहरु रहेको छ, जसमा कन्या कुमारीको पूजनलाई पनि महत्वपूर्ण भन्न सकिन्छ । जसरी दशैँको वेला पूजाको तयारी हुने गर्छन त्यो संगै कुमारीपूजनलाई पनि महत्व दिने गरिएको छ । पण्डित दिगम्वर झा दिनमणि भन्छन् ‘दूई वर्षदेखि दशवर्षसम्म कन्यालाई साक्षात माताका स्वरूप मानिएकोले पनि यो पूजा घर–घरमा हुने गरेको छ ।’

यसै उमेरमा खुटटको पूजनदेखि भोजन गराइन्छ । मान्यता अनुसार होम, जाप र दानभन्दा धेरै वढी कन्या पूजनले देवी प्रसन्न हुने गर्छिन । यसैकारण दूर्गा पूजाको वेला कन्या पूजनको महत्व रहेको छ ।

कन्या पूजन विधि

कन्या पूजनका लागि जुन कन्यालाई चयन गरिएको हुन्छ, उसको उमेर दूई वर्षदेखि दश वर्ष भन्दा वढी हुनु हुँदैन । जनकपुरधाम ४ की पूनम देवीले कुमारी कन्यालाई भोजनका लागि एकदिन अघि नै निमता दिनु पर्छ वताइन् । पूजनका दिन कुमारी कन्यालाई खुटट धोएर, रोली अक्षतवाट पूजन गरी भोजन गराइन्छ फेरी खुटट ढोगी यथाशक्ति दान दिने परम्परा रहेको उनले वताइन ।

राष्ट्रिय जनता पार्टीका महासचिव डा. विजयकुमार सिंहको मन्दिर महोत्तरीको डाम्हीमा कुमारी पूजनका लागि विशेष उत्सव नै हुने गरेको छ । सो गाउँमा रहेको दूर्गा विसहारा मन्दिरमा कुमारी पूजनको वेला भीडनै लागेको हुन्छ । नयावस्त्रमा सजिएकी कुमारीहरुको पूजा हुन्दा भगवतीकै पूजा भइरहेको लाग्ने गरेको महासचिव डा. सिंहले वताए । कन्या पूजन कतिले सप्तमी, अष्टमी नवमी मात्रै गर्छन तर मिथिलाको विभिन्न स्थानमा दशैभरी नै हुने गरेको छ ।

आयु अनुसार कन्या रूप

शास्त्रका अनुसार दूई वर्षकी कन्या कुमारीको पूजनले माता दूःख र दरिद्रता समाप्त पार्छिन, तीन वर्षकी कन्यालाई त्रिमूर्तिको रूप मानिएकाले उनको पूजनले परिवारमा सुख समृद्धि आउने गर्छन । यसैगरी चार वर्षकी कन्यालाई कल्याणी मानिएको छ । उहाँको पूजनले परिवारको कल्याण हुने गरेको मान्यता रहेको छ ।
पांच वर्षकी कन्यालाई रोहिणी भनिन्छ । यो उमेरको कन्यालाई पूजन गर्दा व्यक्ति रोगमुक्त हुने गरेको छ ।

छ वर्षकी कन्यालाई कालिका को रूप मानिएको छ । यसले विद्या, विजय, राजयोग को प्राप्ति हुने जानकारहरु वताउँछन । सात वर्ष की कन्यालाई चण्डिकाको रूप मानिएको छ । यसको पूजा गर्दा ऐश्वर्यको प्राप्ती हुने गरेको छ । आठ वर्षकी कन्यालाई शाम्भवी भनिन्छ यसको पूजन गर्दा वाद विवादमा विजय प्राप्त हुने गरेको छ कुनै प्रकारको कलह समेत हुँदैन । नौ वर्ष की कन्यालाई दुर्गा भनिन्छ । यसको पूजन गर्दा शत्रुहरुको नाश हुने गरेको छ भने असाध्य कार्य पनि पूर्ण हुने जानकारहरु वताउँछन । दस वर्ष की कन्यालाई सुभद्रा भनिन्छ यसको पूजनले भक्तको सबै कामना पूरा हुने मान्यता रहेको छ ।

(Visited 14 times, 1 visits today)
Loading comments...