वीरगन्ज उपमहानगरको बजेट १ अर्ब ३८ करोड

राजधानी संवाददाता
वीरगन्ज, २० चैत

वीरगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७३÷०७४ का लागि १ अर्ब ३८ करोड रुपैयाँको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ।वीरगन्ज उपमहानगरपालिकाले शुक्रबार वीरगन्जमा सार्वजनिकीकरण गरेको आव २०७३÷७४ को नयाँ बजेट नीति तथा कार्यक्रममा उपमहानगरपालिकाको २०औं नगरपरिषद्बाट पारित भएको हो ।

नगरक्षेत्रका सबै विकास योजनामा सहभागितामूलक प्रक्रिया अवलम्बन गरी लैंगिक समता, सामाजिक परिचालन र सहरी गरिबी न्यूनीकरको अवधारणालाई उच्च प्राथमिकतामा राखेको उपमहानगरपालिकाको कुल १ अर्ब ३८ करोड २० लाख ३२ हजारको अनुमानित बजेट नीति तथा कार्यक्रम नगरवासीको रायसुझावसहित पारित भएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ को बजेट, नीति तथा कार्यक्रममा आन्तरिक आयतर्फ ३० करोड ४० लाख, स्थानीय विकास शुल्कतर्फ १३ करोड र नगरपालिका अनुदानतर्फ १० करोड ५० लाख तथा बाह्य स्रोतबाट ८४ करोड ३० लाख ३२ हजार गरी कुल १ अर्ब ३८ करोड २० लाख ३२ हजार अनुमानित आयको लक्ष्य लिएको वीरगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । त्यसैगरी, आगामी आव २०७३÷७४ मा व्ययतर्फ साधारणखर्च १७ करोड ६९ लाख ७१ हजार र कार्यक्रम खर्चतर्फ १८ करोड ९६ लाख ४२ हजार र पुँजीगततर्फ १ अर्ब १ करोड ५४ लाख १९ हजार गरी कुल १ अर्ब ३८ करोड २० लाख ३२ हजार नै व्यय हुने पनि उनको भनाइ छ ।

उपमहानगरपालिकाको आयव्ययमा मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना सञ्चालनतर्फ विकास कोषबाट प्राप्त हुने ऋण र वीरगन्ज उपमहानगरपालिका कार्यालयको सम्पूरक कोषबापत उपलब्ध गराउनुपर्ने रकम पनि समावेश भएको उपमहानगरपालिकाका प्रमुख अधिकृत कोइरालाले बताए ।

वीरगन्ज उपमहानगरपालिकाले निकै ढिलो गरी ल्याएको आगामी आर्थिक वर्षको नयाँ बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहको नेपाल सरकारको पराराष्ट्र तथा स्थानीय विकासमन्त्रीको समेत कार्यभार सम्हालिरहेका उपप्रधानमन्त्री कमल थापाले औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटनपछि उपप्रधानमन्त्री थापाले ‘जतिसुकै राजनीतिक परिवर्तन भए पनि त्यहाँ आर्थिक परिवर्तन नभए राजनीति स्थायित्व हुन सक्दैन’ भन्दै

परिवर्तनको भावना र नेपाली जनताको चाहनाबमोजिम आर्थिक समृद्धिमा सबैको सकारात्मक साथ अपरिहार्य रहनुपर्नेमा जोड दिए । अब नेपालका राजनीतिक दलहरूको ध्यान आमजनताको जीवनस्तर माथि उठाउने कुरामा केन्द्रित हुनुपर्छ । थोरै आफ्नो दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आमजनताको स्वार्थमा सबै दल र नेता लागे सधैं विदेशीको मुख ताक्न जरुरी नहुने उपप्रधानमन्त्री थापाको भनाइ थियो ।

प्रकाशित मिति: २०१६-०४-०३ ०६:५० | ५७ पटक हेरिएको

Leave A Reply

Your email address will not be published.