रुप फेरिएको एउटा सामुदायिक विद्यालय

दिनेश थापा/सञ्चिता घिमिरे

वैशाख १२ को भूकम्पले जिल्लाका सम्पूर्ण शैक्षिक संस्था ध्वस्त भए, विद्यालयका सबै भौतिक र शैक्षिक सामग्री क्षति भयो । यसबाट महेन्द्रोदय उच्च मावि पनि अछुतो रहेन । धेरै विद्यालयहरू अहिले पनि अस्थाइ सिकाइ केन्द्रमा नै कष्टसँग सञ्चालनमा छन् । तर, महेन्द्रोदयमा यतिबेला जो पुग्छ, सायद लाग्छ यहाँचाहि“ भूकम्प आएन कि क्या हो ! यस्तै सोच्छन् त्यहाँ पुग्नेहरू । तर, यहाँ पनि भूकम्प आयो र सबै भवन ध्वस्त भए त केही भवनहरूमा क्षति पुग्यो । तर, इच्छाशक्ति र चाहना हुने हो भने जस्तोसुकै विपत्तिमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरण महेन्द्रोदयले देखाएको छ । विद्यालयको आफ्नै पहलमा भूकम्पले क्षति भएका विद्यालयहरू यतिबेला प्राय पुनर्निर्माण भइसकेका छन् भने शैक्षिक सामग्रीहरू दुरुस्त बनाइएका छन् ।

सबैको सहयोग अनि कुशल नेतृत्वकै कारण महेन्द्रोदयले यतिबेला सफलताको शिखर चुम्यो, यसको सबै जस विद्यालयबाट भर्खरै बिदा भएका पूर्वप्रधानाध्यापक चक्रबहादुर बस्नेत र विव्यस अध्यक्ष रामशरण कार्कीलाई नै जान्छ । परिर्वतनका लागि लामो समय चाहिँदो रहेनछ । यो मेहेन्द्रदोयबाट प्रमाणित भएको छ । छोटो समयमा नै बस्नेतको सक्रियता र विव्यस अध्यक्ष कार्कीको नेतृत्वमा विद्यालयले काँचुली फेरेको छ । बस्नेत बिदा हुँदै गर्दा विद्यालयमै साँच्चै एउटा परिर्वतन भएको छ र सामुदायिक विद्यालय पनि यस्तो पनि हुन सक्छ भन्ने एउटा गतिलो उदहारण यहाँ छोडिएको छ ।

दुई वर्षअघि निर्माण सम्पन्न भएको सुविधा सम्पन्न भवन भूकम्पले चिरचिरा परेको छ । जिल्ला शिक्षा कार्यालयको सहयोग अनि समुदायस्तरमा रकम संकलन गरी बनाइएको विद्यालय भवन चिरा परेपछि सेभ द चिल्ड्रेन र तुलनात्मक शिक्षा समाजले बनाइदिएको अस्थायी सिकाइ केन्द्रमा पठनपाठन हुँदै आएको छ । भूकम्पले विद्यालय लथालिंग बनाइदिएको छ पठनपाठन भने पहिलेजस्तै छ । शिक्षकहरूको लगनशीलता हराएको छैन, विद्यार्थीका मुहारमा चमकता अनि जाँगर उस्तै छ । महेन्द्रोदयलाई एउटा नमुना सामुदायिक विद्यालय बनाएर थुम्पाखरलाई ‘शैक्षिक हबका’ रूपमा स्थापित गराउने थुम्पाखरवासीको सपना मरेको छैन अझै ।

आइतबार महेन्द्रोदय उच्च माध्यमिक विद्यालयले आफ्नो जन्मोत्सव धुमधामका साथ मनाइरहँदा एउटा अनुभूति हुन्थ्यो थुम्पाखरवासीलाई बास बस्ने घरभन्दा विद्यालय बनाउने चिन्ता छ । भूकम्पले बास बस्ने घर ढाल्यो, विद्यालयका भवन संरचना चिरा परेका छन् तर, थुम्पाखरवासीको मन फाटेको छैन । विद्यालयप्रतिको माया अझै उस्तै छ उनीहरूमा । ‘अभिभावकको मायाले नै यो विद्यालय यहासम्म आइपुगेको हो,’ प्राचार्य सीताराम पराजुली भन्छन् ।

महेन्द्रोदय उच्च माध्यमिक विद्यालयले आफ्नो जन्मोत्सव भव्य रूपमा मनायो । ५४औं जन्मोत्सव अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन समारोहको सभामुख ओनसरी घर्तीले उद्घाटन गरिन् । विद्यालयप्रति समुदायको माया र चासो देखेर सभामुख घर्ती थुम्पाखरवासीसँग प्रभावित बनिन् । समुदायले चासो दिए शैक्षिक सुधारका लागि धेरै समय नलाग्ने उनले बताइन् । वार्षिकोत्सव पूर्वमन्त्री एवं सांसद अमृतकुमार बोहोरा, सांसद रमेश लामा र एमाओवादीका युवा नेता सरल सहयात्री पौडेलसँगै जिल्लाका प्रमुख सरकारी कार्यालयका प्रमुखहरू पनि महेन्द्रोदयको जन्मोत्सव समारोहमा पुगे । प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडी, स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, जिल्ला प्रहरी प्रमुख विश्व अधिकारी, सशस्त्र प्रहरी बलका एसपी अभि खत्री, जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख हरिचन्द्र श्रेष्ठ कार्यक्रममा उपस्थित भए । सम्भवतः थुम्पाखरमा आधा दर्जन सरकारी कार्यालयका प्रमुखहरू एकसाथ पुगेको यो पहिलोपटक नै हो ।

थुम्पाखर गाविसको केन्द्र भागमा रहेको यही विद्यालय यतिबेला सबैको आर्कषणको केन्द्र भएको छ । सिन्धुको शैक्षिक आकाशमा महेन्द्रोदयले लिएको गति साँच्चै नै उदाहरणीय बन्न पुगेको छ । समुदाय र शिक्षकले चाहे सामुदायिक विद्यालय नमुना विद्यालय बन्न सक्छ भन्ने एउटा दरिलो उदाहरण बनेको छ महेन्द्रोदय । इच्छाशक्ति भयो भने धेरै गर्न सकिन्छ र सरकारी विद्यालय पनि एउटा आर्कषणको केन्द्र बन्न सक्छ भन्ने सन्देश पनि दिएको छ महेन्द्रोदयले ।

सरकारी विद्यालय भए पनि धेरै नयाँ प्रविधिका साथ पढाइ भइरहेको छ महेन्द्रोदयमा । बालमैत्री पठनपाठन, विद्यार्थीमैत्री कक्षाको व्यवस्था, बालविकास र १ देखि ५ सम्मका विद्यार्थीहरूलाई कपी, पेन्सिल र इरेजर निःशुल्क रूपमा दिने गरिएको छ । शिक्षण क्रियाकलपका लागि इन्टरनेटको व्यवस्था, प्रयोगशाला यस्ता धेरैधेरै सुविधाका साथ अध्यापन हुने गरेको छ महेन्द्रोदयमा ।

जिल्लाका धेरै सरकारी कार्यालयमा मात्रै होइन, गैरसरकारी कार्यालयहरूमा समेत ई–हाजिरीको व्यवस्था छैन । तर, यो विद्यालयमा ई–हाजिरी छ, बिहान साढे ९ बजे नै शिक्षकहरू विद्यालयमा पुग्छन् अनि ई–हाजिरी दबाउँछन् । छुट्टी भएपछि पनि शिक्षकहरू ई–हाजिरी थिचेर घर फर्कन्छन् । यहाँका शिक्षकहरूमा पनि विद्यालय प्रतिको छुट्टै माया छ र मेहनत पनि उत्तिकै गर्छन् । भर्खरै विद्यालयमा नियुक्ति भएका शिक्षक प्रेम लामा भन्छन्, हामी शिक्षकले चाहेमा जे पनि गर्न सकिँदो रहेछ र परिवतन पनि गर्न धेरै समय कुर्नुनपर्ने रहेछ । ईसीडी कक्षामा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालयले पौडी पोखरीलगायतका अन्य धेरैधेरै उदाहरणीय कामहरूको सुरुवात गरेको छ ।

केही वर्षदेखि यस विद्यालयमा अक्षयकोष स्थापनाको क्रम सुरु भयो । यसबीचमा दश लाखभन्दा बढीको अक्षयकोष स्थापना भइसकेको छ । जन्मोत्सवका अवसरमा गायिका सुनीता दुलाल र नेपाली कांग्रेसका क्षेत्रीय सचिव देवेन्द्र खड्काले २५ हजारको अक्षयकोष स्थापना गरे । अक्षयकोषकको रकमबाट प्राप्त भएको ब्याजले गरिब जेहेन्दार विद्यार्थीहरूलाई छात्रावृत्ति प्रदान गर्ने, प्राथामिक तहमा निजी स्रोतबाट शिक्षकहरू राख्नेलगायतको योजना रहेको विद्यालयका प्रधानध्यापक नीलप्रसाद सुवेदीले जानकारी दिए ।

विद्यालयले सुरु गरेको अक्षयकोषमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कार्कीले मात्रै ५ लाख प्रदान गरेका छन् । त्यस्तै, विद्यालयका पूर्वविद्यार्थी एवं निर्माण व्यावसायी संघका अध्यक्ष नीलध्वज थापाले ५५ हजार ५ सय ५५, राप्रपा नेपालका नेता दमन बस्नेतले ६० हजार, पूर्वविद्यार्थी रेशम पाख्रिनले पनि अक्षयकोषमा ५० हजार दिएका छन् । त्यस्तै, यस वर्ष प्रेम लामाले १ लाख ७ हजार, रमेश गौतमले २ लाख, कृष्णबहादुर कार्कीले १ लाख १० हजार, विष्णुमाया भण्डारीले १ लाख १ हजार, रेशमबहादुर पाख्रिनले १ लाख ११ हजार र पूर्वप्रअ चक्र बस्नेतले ५२ हजार अक्षयकोषमा प्रदान गरेका छन् ।

अध्यक्ष कार्कीले पुनः यस वर्ष अक्षयकोषमा १ लाख ४ हजार थप गरेका छन् । हुनेले मात्रै होइन, नहुनेले पनि विद्यालयको यो अक्षयकोष स्थापनका अभियानमा मन खोलेर सहयोग गरेका छन् । विद्यालयका शिक्षकहरूले समेत विद्यालयको यो अभियानमा सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कार्की बताउँछन् । अभियान सुरु गरेपछि स्वतःस्फूर्त रूपमा सबैले सहयोग गरकोे विद्यालयले जानकारी दिएको छ ।

विद्यालयको ५१औं अभिभावक दिवस तथा भवन उद्घाटन कार्यक्रममा विद्यालयलाई सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो । सभामुख ओनसरी घर्ती, पूर्वमन्त्री एवं सांसद अमृतकुमार बोहोरा र सांसद रमेश लामाले १९ जना सहयोगदातालाई जनालाई सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडी, जिल्ला शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, प्रहरी प्रमुख विश्व अधिकारी, सहायक जिल्ला शिक्षा अधिकारी कृष्ण सुवेदी लगायतले विद्यालयले गरेको प्रगती राम्रो रहेको बताएका थिए ।

प्रकाशित मिति: २०१६-०४-०२ ०९:०१ | ३८९ पटक हेरिएको

Leave A Reply

Your email address will not be published.