भूकम्पले भत्किएका घरको काठबाट मूर्तिकला

राजधानी समाचारदाता
काठमाडौं, २२ चैत

गत वैशाखमा गएको विनाशकारी भूकम्पले भत्काएका काठमाडौं र आसपासका घर, मन्दिर, पाटी पौवाबाट अरूले विभिन्न सामान निकाले । यसरी भत्केर अलपत्र परेको घरबाट त्यतिबेला मूर्तिकार भुवन थापा ‘बहुबी’ले केही काठ निकाल्ने काम गरे ।

भूकम्पपछि परकम्पन आउने क्रम त्यतिबेला जारी रह्यो । पालमुनि बसेर त्यतिबेला अरूले तास खेलेर तथा सुतेर दिन कटाए । यी कलाकार भने भत्केका घरबाट जम्मा पारेका काठलाई परकम्पनको अनुभव गर्दै विभिन्न मूर्ति र आकृतिमा ढाल्न व्यस्त रहे ।

सोही समयमा तयार पारेका ५६ थान सानाठूला मूर्तिलाई कलाकार थापाले आइतबारबाट प्रदर्शनमा ल्याएका छन् । उनले तयार पारेका मूर्त र अमूर्त शैलीको मूर्ति यतिबेला राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरिमा राखिएको छ । ‘आत्मानुभूति’ शीर्षकमा गरिएको सो प्रदर्शनीमा राखिएका मूर्तिहरू नेपाली समसामयिक मूर्तिकलाका क्षेत्रमा प्रभाव पार्ने खालका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आइतबार एक समारोहबीच सो प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीमा रहेका मूर्तिको निरीक्षणपछि भुवनले तयार गरेका ती मूर्ति समसामयिक रहेका उपराष्ट्रपतिले बताए, ‘कला र संस्कृतिले मानव जीवनलाई सार्थक बनाउन महŒवपूर्ण भूमिका खेल्ने गर्छ । नेपाली कलाले विश्वमै परिचित हुने अवसर पाएकाले आजका कलाकारले पनि हिजोको विरासतलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्छ ।’

१२ वैशाखको भूकम्प त्रासदीले लामो समय मन विह्वल भएपछि सो अनुभूतिलाई आफूले मूर्तिकलामा उतारेको जानकारी गराउँदै कलाकार भुवन थापाले भने, ‘धरहराभन्दा काष्ठमण्डप मन्दिर भत्किएपछि मलाई झन् बढी दुःख लाग्यो । काठैकाठको त्यो मन्दिर कसरी भत्कियो भन्ने कौतुहलता पनि जाग्यो ।’ थापाले अगाडि थपे, ‘भूकम्पबाट ढलेका भवनका काठ बटुलेर ल्याएँ । भूकम्प गएको दुई दिनपछि पालमा बस्दाबस्दै काठमा आकृति बनाउन थाले ।’ लगातारको परकम्पनका बीच त्यसको अनुभूतिलाई आकारमा ढाल्दै गएकाले प्रदर्शनीमा राखिएका मूर्तिमा भूकम्पको झल्को आउने गरेको पनि

उनले प्रस्ट्याए ।

प्रदर्शनीमा मूर्तिहरूलाई ‘पेडेस्टल’माथि राख्ने गरिए पनि थापाले यस प्रदर्शनीमा सबै मूर्तिलाई झुन्ड्याएर राखेका छन् । भूकम्पले अस्थिरता ल्याएकाले सोही अस्थिरतालाई दर्शाउन उनले प्रदर्शनीमा मूर्ति झुन्ड्याएर राखेका रहेछन् ।

थापाको मूर्तिकलाको प्रशंसा गर्दै मूर्तिकार प्राडा लय मैनालीले भने, ‘भूकम्पपछि पालमा धनी, गरिब विभिन्न जातजाति, धर्म, सम्प्रदायका महिला, केटाकेटी, वृद्धवृद्धा सबै एकैठाउँमा एउटै परिवेश र एउटै मनोदशामा बसेको बोध हामीले ग¥यौं । एउटै आमाका सन्तान एउटै वृक्षका अनेक फल भन्ने मनमा त्यतिबेला छाएको आत्मबोधलाई थापाको मूर्तिकलाले प्रस्ट्याएको छ ।’ सोही बोधलाई थापाले कलात्मक रूपमा काठमा उतार्न सफल भएका मैनालीले बताए ।

सो मूर्तिकलाको प्रशंसा गर्दै युवा मूर्तिकार नरेन्द्रप्रसाद भण्डारीले भने, ‘नेपाली मूर्तिकलाको इतिहासमा नयाँ र भिन्न ढंगबाट थापा प्रस्तुत भएका छन् । समाज र परिस्थितिजन्य अवस्थालाई उनको मूर्तिमा निकै आकर्षक रूपमा

पस्किइएको देखिन्छ ।’

कलाकार तथा कलालेखक मदन चित्रकारलाई पनि थापाको मूर्तिकला मन परेको छ । उनले भने, ‘नेपाली समसामयिक मूर्तिमा उहाँको उपस्थिति निकै उच्च र विशिष्ठ प्रकारको रहेको छ । प्रदर्शित मूर्तिले नेपालमा मात्रै नभएर विश्वमा प्रभाव छाड्न सक्ने देखिन्छ ।’

सो मूर्तिकला प्रदर्शनी आयोजक संस्थाका अध्यक्ष ओम खत्रीले पनि कलाकार थापाले स्वतन्त्र ढंगले विचार र आफ्ना भावना मूर्तिमार्फत व्यक्त गर्न सफल भएको बताए । यस मूर्तिकला प्रदर्शनीको अवसर कलाकार थापालाई आरम्भ नेपाली समसामयिक मूर्तिकार समूह र डोर कन्टेम्पोरेरि आर्ट फाउन्डेसनले जुराइदिएको हो । चार दिनसम्म चल्ने सो प्रदर्शनीमा ५६ वटा काठमा मूर्ति राखिएका छन् ।

प्रकाशित मिति: २०१६-०४-०५ ०८:३२ | ३२ पटक हेरिएको

Leave A Reply

Your email address will not be published.